विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक ‘When Serfs Stood Up in Tibet’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
ल्हासाको केही माइल पश्चिममा सिगात्से राजमार्गमा तिब्बतको सबैभन्दा धेरै भूदास मालिकहरू र धेरै विद्रोहीहरू भएको सबभन्दा ठुलो मठ ड्रीपुङ (Drepung) छ । विद्रोहीहरूलाई दबाइएपछि, ड्रीपुङमा ‘सुधार कार्य’ भइरहेको थियो ।
ड्रीपुङ सामन्त राज्यको पनि सामन्ती राज्य थियो । ड्रीपुङ, सीरा (Sera) तथा गान्डेन ‘तीन ठुला मठहरू’ तिब्बतीहरूलाई दमन गर्ने प्रतिक्रियावादी राजनैतिक संयन्त्रको शताब्दीयौँ पुरानो गढ थियो । तिब्बती सरकारका माथिल्ला अधिकारीहरूको नियुक्तिमा ड्रीपुङको सबभन्दा ठुलो हात रहन्थ्यो । नयाँ वर्षमा तीन हप्तासम्म चल्ने ठुलो चाडपर्वमा ड्रीपुङका ‘प्रमुख लामाहरू’ (Iron Bar Lamas) ले ल्हासा नगरपालिकाको सम्पूर्ण प्रशासन हेर्ने, करहरू लगाउने तथा मनलागी जरिवाना तिराउने गर्थे र आफूहरू तथा मठलाई समृद्ध बनाउँथे । पहिलेका चिनियाँ सम्राटहरूले ड्रीपुङको राजनैतिक शक्तिबाट डराएर ९–१० हजार भिक्षुहरू रहेको यस मठलाई ७,७०० भिक्षुहरूमा सीमित राखेका थिए । तर पछि पछि ९ देखि १० हजार भिक्षुहरू हुन्थे । हालका वर्षहरूमा यहाँका भिक्षुहरूको सङ्ख्यामा ठुलो ¥हास आएको छ । केन्द्रीय मठका रूपमा रहेको ड्रीपुङका तिब्बतभरि तथा तिब्बती भूभागसँग जोडिएका प्रान्तहरूमा सह–मठहरू सातसय भन्दा बढी थिए । भूदास मालिकका रूपमा ड्रीपुङसँग १८५ वटा जमिनदारी, २५,००० भूदासहरू, १६,००० गोठालाहरूसहित ३०० चरनहरू थिए ।
हालैको विद्रोहमा ड्रीपुङले चीनको केन्द्रीय सरकारसँग लडाइँ गर्न ३,०५० भिक्षुहरू पठाएको थियो । १९५० मा ल्हासाका सबै बाटाहरूमा जनमुक्तिसेनासँग लडाइँ गर्न ५० टोली चाम्दो पठाएको थियो । मार्चको विद्रोहमा ड्रीपुङका २००० भिक्षुहरूले ल्हासामा लडेका थिए । मार्च विद्रोहमा ड्रीपुङ एक प्रमुख शक्ति थियो । आश्चर्यको कुरा के छ भने ड्रीपुङ सैनिक नियन्त्रणसँगै सुधारमा अघि लम्किरहेको थियो र ड्रीपुङलाई कानुनी तानाशाहबाट ‘कानुन पालक’ (Law abiding) मठझैँ धार्मिक गतिविधिहरूमा सीमित राखिएको थियो ।
हामीलाई ‘धानको थुप्रो’ भनिने ड्रीपुङमा एक दर्जनभन्दा कम प्रमुखहरूले लाइन बसेर स्वागत गरे । लाइनमा अगाडि बसेका तीनजना पहेँलो वस्त्र लगाएका भिक्षु थिए । दुई जना विभिन्न कलेजहरूका प्रमुख काम्पो (Kampo) अर्थात् मठका प्रमुख र तेस्रो मानिस भूतपूर्व काम्पो कान्सु (Kansu) थिए । तीमध्ये उच्च स्थानका एक गेसी (Gesi), (बुद्धधर्ममा विधावारिधी गरेका) थिए । मिओ (Miwo) नामक ती मानिस जन्मले हान जातिका (Han), शिक्षा दीक्षा पेचिङमा लिएका र २० वर्षदेखि ल्हासामा बस्दै आएका तथा त्यसबेला अखिल चीन बौद्ध सङ्घका उपाध्यक्ष थिए ।
ती चारैजना प्रमुखहरू, महत्वपूर्ण तथा प्रतिष्ठित र पहिलेदेखि माथिल्लो दर्जामा बस्दै आएका थिए । तिनीहरूको पछाडि बसेका अर्को चोमेइ रेनजिन (Chomei Renzin) तल्ला दर्जाका लामा थिए । तिनले राज्यका विरुद्धमा भएको विद्रोहमा भाग लिन अस्वीकार गरेको हुँदा यातना पाएका थिए । हाल तिनी ड्रीपुङको ‘विद्रोहीहरूलाई दबाउने समिति’ का अध्यक्षका रूपमा शक्तिमा छन् । धार्मिक कार्यहरूलाई काम्पोहरू तथा गेसिले अगाडि बढाइरहेका थिए तर दैनिक प्रशासनिक कार्यलाई ‘प्रजातान्त्रिक ढङ्गले’ शताब्दीयौँदेखि आवाजविहीन भएका तल्लो दर्जाका लामाहरूले प्रतिनिधित्व गरेको समितिबाट निरन्तरता दिइएको थियो ।
ती दुईजना मठ प्रमुखहरूले हाम्रो प्रतिनिधिहरूको दुई अध्यक्षबिच खादा साटासाट गरे तथा हामीले फेरि एकपटक तिनीहरूलाई किन चुन्यौ भन्ने देख्यौँ । त्यसपछि हामी बिस्तारै साँघुरो बाटो हुँदै पहाड चढ्न थाल्यौँ । पहाडको टुप्पोमा ठुलो सुनको गजुर भएको मुख्य मठमा पुग्यौँ । हामीले साधारण भेटवार्तापछि प्रमुख पूजाकोठा (Main Chapel) मा प्रमुखहरूसित बसेर खाना खायाँै । त्यसपछि हामीले युवक लामाहरूको नृत्य, लामाहरूको नाट्य क्लवले रचना तथा निर्माण गरेको नयाँ नाटक तथा भिक्षुहरूले पहिलेका दुईजना प्रमुख लामाहरू तथा जीवित बुद्धलाई आरोप प्रत्यारोप गरेको आलोचना बैठक हे¥यौँ । हामीले चाहेअनुसार मानिसहरूलाई अन्तवार्तालिन स–साना समूहहरू बनायौँ ।
१४१६ मा निर्मित यस ठुलो मुख्य पूजाकोठामा पाँच हजार लामाहरू धर्मशास्त्र पाठ गर्दथे । यहाँबाट उपत्यकाभरिका तह–तह छानाहरू र अग्ला छानाहरू, राम्रा आकारका ठामहरू पागोडाहरू तथा चारैतिरको पहाडका दृश्यहरू हेर्नलायकको मनमोहक थियो । यस उपत्यकामा सन् १९०४ मा बेलायती सेनाको योङहज्बायन्ड अभियान (Young husband Expedition) ले अखडा बनाएको थियो र मठले तिनीहरूलाई अन्न नदिएमा पृथ्वीबाट ड्रीपुङलाई उठाउने धम्की बेलायतीहरूले दिएका थिए । त्यसैले लामाहरू ढुङ्गाको बाटोमा लामो बाटा तलमाथि हिँडेर बेलायती सिपाहीहरूलाई जौको पिठो दिन गएका थिए ।
खाना खाने बखत हामीलाई काम्पोहरू र चोमेइ रेन्जिनले शुभकामना मन्तव्य दिए । त्यसलाई ‘कार्य दल’ का सचिवले पठाएका, सेनाजस्तै देखिने अग्लो मानिसले अनुवाद गरिदिए । ड्रीपुङमा बुद्धका मूर्तिहरूको तल लुकाइएका ठुलो मात्राको हातहतियारहरू जफत गरिएका थिए तथा त्यहाँ सेनाको नियन्त्रण थियो । सैनिक नियन्त्रण दुईवटा ‘कार्य दल’ मार्फत काम गर्दै थियो । तिनीहरूको पछाडि सैनिक शक्ति छ भन्ने कुरामा शङ्का थिएन तर तिनीहरूमा सर्वसाधारण नागरिकहरू तथा ठुलो सङ्ख्यामा चीनभित्र शिक्षा हासिल गरेका भूतपूर्व भागेका दासहरू र तिब्बतीहरू नै छन् ।
मन्तव्यबाट हामीले ड्रीपुङले सन् १४१६ देखि तिब्बतको सरकारको माथिल्लो ओहोदाहरूमा नियुक्त गर्न पाउने अधिकारलगायतका विशेष अधिकारहरू प्राप्त गरेको कुरा थाहा पायौँ । शताब्दीयौँदेखि विशेष अधिकार पाएको यस मठ ‘प्रतिक्रियावादी मठहरूको केन्द्र’ को रूपमा रहँदै आएको, यसको आफ्नै अदालत, कारागार तथा यातना प्रणाली भएको, ती अदालत, कारागार तथा यातना गृहहरू आफ्ना लामाहरूका लागि मात्र नभई लामाहरूसित झगडा गर्ने जो कोही सर्वसाधारणका विरुद्ध पनि प्रयोग हुने कुरा थाहा भयो । हामीले मठको झ्यालबाट ठुलो सङ्ख्याका गिद्धहरू लुछाचुँडी गरिरहेको देख्यौँ । तिव्बतमा लाशहरूको बन्दोबस्त गर्न लगाउने एउटा उपाय त्यो पनि थियो अर्थात् लासहरू गिद्धहरूलाई खुवाउने ।
हामीलाई ड्रीपुङको सङ्गठनका बारेमा प्रकाश पारियो । मठमा धेरैवटा कलेजहरू (Tsatsangs) र यी प्रत्येकको पनि धेरै बसोबास क्षेत्रहरू–काङचुङहरू (Kangchungs) थिए । यसको सञ्चालन लाचि (Lhachi) सभाबाट हुन्थ्यो त्यसका तीनवटा तहहरू थिए ।
मठको त्यस समितिलाई सैनिक मुख्यालय नियन्त्रणले परिवर्तन गरेन तर विद्रोहमा सक्रिय भाग नलिएका केही माथिल्ला लामाहरू र तल्लो तहका लामाहरूलाई बढी संलग्न गरी ‘विद्रोहीहरूलाई दबाउने समितिको’ गठन गरियो । अस्थायी प्रकारका त्यस समितिले चीनको केन्द्रीय सरकारका नीतिहरू तथा तिब्बतको दासप्रथा साथै ड्रीपुङका विशेष गतिविधिहरूको बारेमा छलफलको आयोजना गर्दथ्यो । यो सामान्य सान फान (San fan) आन्दोलनकै एउटा भाग हो । त्यसले विद्रोहलाई दबाउने, अनिवार्य श्रमलाई हटाउने तथा लामाहरूको वास्तविक दुःख कष्टको वेदना पोख्न अभियोग बैठकहरू आयोजना गर्छ ।
चोमेइ रेञ्जिनले विद्रोहमा ड्रीपुङले खेलेको भूमिका बारेमा पनि स्पष्ट पारे । सन् १९५० मा ड्रीपुङले जनमुक्ति सेनासित लड्न चाम्दोमा ५० सैन्य भिक्षुहरू पठाएका थिए । १९५२ मा तिब्बतबाट हानहरूलाई लखेट्न ड्रीपुङले लोकोङवा (Lokongwa) लाई मद्दत गर्यो । १९५६ मा सेरा र गान्डेन (Ganden) सँगै ड्रीपुङले पनि आफ्नो ‘धार्मिक व्यवस्था’ कायमै राख्न तिब्बत स्वायत्त प्रदेशको तदर्थ समिति गठनको विरोध गर्यो । सन् १९५८ मा लोकामा ‘कम्युनिस्ट विरोधी सेना’, ‘धर्मको समर्थन’ को सेना गठन गर्दा ड्रीपुङले तीनवटा सशस्त्र सैन्य दस्ताहरू पठायो । हालसालैको १९५९ मा भएको रत्न बगैँचा बैठकमा ड्रीपुङले दलाइ लामालाई हानहरूसित सम्पर्क गर्न रोकेको थियो ।
‘ती विद्रोही गतिविधिहरू ड्रीपुङको माथिल्लो सङ्गठन लाचि (Lachi) सभाको निर्देशनमा भएका थिए । केन्द्रीय सरकारी कार्यालयहरूमा सैन्य आक्रमण गर्दा ड्रीपुङका लामाहरूलाई हानहरूमाथि धावा बोल्न आदेश दिइएको थियो । मार्च १६ का दिन प्रमुख लामा डोर्जे पाइडा (Dorje Paida) ले एउटा हानलाई मार्नु बुद्धको एउटा मूर्ति निर्माण गरेको भन्दा पनि बढी लाभदायी हुने बताएर तिब्बतको स्वतन्त्रताको घोषणा गर्दै सबै लामाहरूलाई विद्रोहमा भाग लिन आदेश दिए ।’
‘लडाइँमा जान आनाकानी गर्ने लामाहरूलाई सजाय दिइयो । धेरैजसो तल्लो तहका लामाहरू लडाइँ गर्न चाहँदैनथे, तिनीहरू यसलाई बुद्ध धर्मको विपरीत ठान्थे । साम्य भएपछि र सानफान (San fan) आन्दोलनमा छलफलहरू पछिमात्रै हामीले के बुझ्यौँ भने हामीलाई लडाइँ गरेर रक्षा गर भनिएका ‘पवित्र प्रणाली’ त धर्म नभई दासप्रथा रहेछ जसबाट हामी स्वयम् दबिएका थियौँ ।
‘अहिले पहिलोपल्ट हामीले धार्मिक स्वतन्त्रता पाएका छौँ । हामी लामा बन्न र नबन्न स्वतन्त्र छौँ । हामी काम गर्न र नगर्न स्वतन्त्र छौँ । हामी नाचगान र नाटक क्लव जान र उत्पादनशील कार्य गरी पैसा कमाउन सक्छौँ । विगतमा हाम्रो जीवन प्रमुख लामाहरूको सेवास्याहारमै बित्थ्यो । स–साना गल्तीहरूमा पनि यातना दिने र मार्नेसमेत गर्थे । अहिले हामी हाम्रो आफ्नो जीवनको मालिक भएका छौँ । हामी स्वतन्त्रमात्र भएनौँ, हामीसँग खानाको लागि प्रशस्त अन्न पनि छ ।’
‘विद्रोहअघि ५,६७८ जना लामाहरू थिए । ड्रीपुङमा अहिले २,८०० मात्र छन् । यसको एउटा कारण जाडोयाममा ड्रीपुङमा ठुलो चाड पर्वको लागि जम्मा हुने र गर्मीयाममा अन्न बाली काट्न घर जाने हो भने अर्को मुख्य कारण ल्हासाको ‘रत्न बगैँचा’ मा लडाइँ गर्न पठाएका दुई हजारभन्दा बढी भिक्षुहरूमध्ये केहीमात्रै फर्के । नगन्य मात्र विद्रोहमा मारिए तर धेरै पक्राउ परे र धेरैजना घर फर्के । विद्रोहका कारणले गर्दा हुनसक्ने राजनैतिक दबाबबाट बच्नका लागि केही भिक्षुहरू पन्चेन एर्डेनिको क्षेत्रमा पर्ने मठमा गए’ चोमेई रेन्जिनले बताए ।
बिहानको खानापछि हामीले भ्रमण गरेको प्रदर्शनीस्थलमा धेरै कोठाहरू भएको एउटा ठुलो भवन थियो । पहिलो कोठा ड्रीपुङले विद्रोहमा भाग लिँदा प्रयोग गरेको थियो । त्यहाँ हामीले ठुलो सङ्ख्यामा बेलायती र अमेरिकी लडाकु हातहतियार राइफल मेसिनगन, दमदम गोलीहरू (Smith and Wesson 38s, Colt 45s), अमेरिकी बन्दुक (Sten–gun), अमेरिकी बन्दुक (US Thompson Machine–gun), बेलायती (British Enfields) र जननीको (German Mausers) हतियारहरू देख्यौँ । यस कोठाले हीरा–जुहारातहरूको लुटपाट, हत्यामा राज्यले खेलेको भूमिकाको स्पष्ट चित्रण गर्नुको साथै विद्रोहीहरूले ‘तिब्बतको स्वाधीनताको पक्ष’ मा दिएका निर्देशनहरूको चित्रण गर्दछ ।
‘आर्थिक शोषण’ को कोठामा ड्रीपुङको सम्पत्ति र दासहरूको तथ्याङ्क दिनुका साथै २५,००० भू–दासहरू तथा १६,००० घरेलु दासहरू कसरी शोषित हुन्छन् भन्ने कुराको राम्रो व्याख्या दिइएको थियो । जग्गा गरेबापत श्रम अथवा अन्नको सामान्य भुक्तानीका साथै असीमित करहरू – कुकुरको कर, बिरालोको कर, गधाको कर, कुखुराको कर, पशुहरूलाई झुण्ड्याइएको घण्टीको कर, गमला कर, अनिवार्य कर, जन्मकर तथा मृत्युकर आदि करहरू लगाइन्थे । ड्रीपुङले प्रयोग गर्ने मापहरू, दासहरूलाई बीउ दिँदा सानो मापको माना – पाथी वा के (Ke) र अन्न लिँदा प्रयोग गर्ने ठुला माना–पाथी ‘के’ प्रदर्शनमा राखिएका थिए ।
ड्रीपुङको एकचौथाइ आम्दानी ब्याजबाट आउँथ्यो । सामान्यतः ऋणमा २० प्रतिशत ब्याज लाग्ने गरे पनि व्यवहारमा यो भन्दा धेरै बढी लिइन्थ्यो । सामन्ती संस्कारका असामान्य ऋणहरूमध्ये ‘चिमेइ–जिमेई’ (Chimei–Jimei) पनि एक हो । मठहरूले गोठालेहरूलाई पशुहरू बहालमा दिन्थे र त्यसबापत निश्चित मात्रामा घ्यू अथवा ऊन हरेक वर्ष प्राप्त गर्दथे । बुढो वा मर्न लागेका पशुहरू बहालमा दिने र पशु मरेमा गोठालाले पुस्तौँ पुस्तासम्म त्यसको भुक्तानी तिर्नुपथ्र्यो । यस्तो ऋण तिर्न असमर्थ भएमा गोठालो ‘मानिस जमानि’ राख्नुपथ्र्यो । त्यस मानिसले भूदासका रूपमा २५ वर्ष काम गर्नुपथ्र्यो ।
ड्रीपुङले अफिमलगायतका वस्तुहरू आयात गथ्र्यो । ड्रीपुङको धेरैजसो व्यापार मठका भूदासहरूसित हुन्थ्यो । माथिल्ला लामाहरूले चरणहरूमा भ्रमण गर्दा व्यापारिक वस्तुहरू गोठालाहरूलाई बेच्ने गर्दथ्यो । एउटा चाँदीको डलर पर्ने चियापतीका लागि तिनीहरूले २० गुणा बढी मूल्य १८ पाउन्ड याकको घ्यू तिर्नुपर्दथ्यो । तिनीहरूले निरीक्षण भ्रमण वा दौडाहामा थुप्रै नजराना कमाउँथे । तिनीहरू भ्रमण गरेको मौजा, जमिनदारी वा कामतमा माथिल्ला निरीक्षक लामालाई मात्र होइन तिनका लठैतहरू (Retinue) लाई पनि आइमाईहरू दिनुपर्दथ्र्यो । यसलाई ‘साथ दिने झारा’ भनिन्थ्यो । ‘साथ दिने झारा’ (Accompanying corvee) का नाममा उपल्लो लामा र उसको दलले एउटा बसाइँमा ६० घरका सबै आइमाईहरूलाई बलात्कार गरेको उदाहरण थियो ।
ठुलो प्रार्थना पर्वका तीन हप्तामा ल्हासा सहरलाई ड्रीपुङका प्रमुख लामाहरूले शासन गर्दा त्यसप्रकारका बाध्यताहरू त्यहाँका बासिन्दाहरूमा लादिन्थे । गधा, कुकुर, बिराला, कुखुरा, गमला, चुरोट, नस, कुवा, पोखरी र महिलाहरूको कपालको दुई धागो (साचिका) मा समेत कर लाग्थ्यो । त्यस्तै साहुमहाजनले धेरै भेटी चढाएर जीउनु पर्दथ्यो र साधारण जनताले ‘ठुला लामाहरूले’ हिउँ वर्षा गराएका हुँदा हिउँ करसमेत तिर्नुपर्दथ्यो ।
अर्को कोठामा ‘धर्मको स्वतन्त्रता’ प्रदर्शन गरिएको थियो । त्यहाँ मठमा लामाहरूले के कस्ता बाध्यताहरू भोग्छन् भन्ने तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
गरिब लामाहरूलाई मठका नियमहरूले हतोत्साहित बनाउँथ्यो । तिनीहरूलाई कहिल्यै पवित्र किताब राखिएको कोठामा छिराउँदैनथे र धर्मशास्त्र पढ्नुअघि तिनीहरूले अनुमति लिनुपथ्र्यो र जिब्रो निकालेर आफू भित्रैबाट शुद्ध भएको प्रमाण दिनुपथ्र्यो ।
लोसेलिङ कलेज (Loseling College) को एउटा विभागमा २८७ जना लामाहरू बस्थे, १४ वर्षमुनिका १२४ जना लामाहरू आमा बाबुले भर्ना गर्न ल्याएका थिए, १०६ जना बेठ–बेगारी तथा ऋण चुक्ता गर्न ल्याइएका थिए, १८ जना काम गर्न नसक्ने अपाङ्गहरू थिए र ६ जना मात्रै धर्ममा विश्वास भएर पुगेका थिए । सा¥है कमले मात्रै धर्मबारे बताउँथे ।
‘मठका अपराधहरू’ प्रदर्शन गरिएको कोठामा कम्तीमा १०० वटा मानव खप्परहरू, खुट्टाका हड्डीहरू आदि प्रदर्शनमा राखिएका थिए । गान्डेनका प्रमुख लामाले हड्डीकै लागि बा¥ह जना भूदासहरूलाई मारेको भन्ने आरोप छ ।
मठको नियमअनुसार स्वर निकाली फुक्न कुमारीको खुट्टाको हाड चाहिने बताइन्थ्यो । अन्धविश्वासको कारण होस् वा धर्मान्धताले मानिसहरूको हत्या हुन्थ्यो । दलाइ लामाकै निजी सचिव श्रिजोङ (Tsrijong) सँग खप्परहरूको चाँदीले मोडेका दुइटा कचौरा थिए ।
ड्रीपुङसँग आबद्ध हरेक जमिनदारीमा आफ्नै कारागार र यातना प्रणाली थियो । कारागारहरूमा माकुराहरू र विषालु कीराहरू फैलिएका थिए । बिच्छी वा विषालु घाँस (Scorpian Grass) (सिस्नु) को कोर्रा वा काँडा भएको कोर्राको प्रयोग गरिन्थ्यो । यसबाट पूरै शरीर दुखाइले रातो हुन्थ्यो र सुन्निन्थ्यो । हातखुट्टा काट्ने र भाँचिदिने त सामान्य सजाय हुन्थ्यो । उम्लेको नुनपानीमा पाखुरा वा खुट्टालाई बाँधेर चोप्नु सजायको अर्को तरिका थियो ।
यी सबै भयावहलाई छोडेर हामी मठका सिँढीहरू ओर्लियौँ । तल चौरमा झण्डै तीनसय जति स–साना केटा लामाहरू रातो लुगामा लाममा उभिएर गीत गाउँदै थिए, ‘समाजवाद असल छ’ ।
रमाइलो मान्दै मैले सोधेँ । ‘के यो नयाँ बनेको प्रार्थना गीत हो ?’
‘हो, पहिला यहाँ प्रार्थना गीत थिएन ।’ गीत सकिएपछि केटाहरू ढुङ्गा बिछ्याएको भुइँमा बसे । हाम्रो टोली पनि ड्रीपुङमा वास्तविक जीवनमा घटेको कथामा आधारित भएर बनाइएको नाटक हेर्नका लागि त्यहाँ बस्यौँ ।
ऋण तिर्न बसेको किसानकी छोरीलाई ड्रीपुङको अर्थ र व्यापारका हाकिम वा किसु (Kisu) भनिने माथिल्ला लामाले गरेको घृणित कर्तुतको कथा थियो । ‘घृणित बाघ’ (Foul mouthed Tiger) लामाले ऋणको बदला किसानकी छोरीलाई बलात्कार गरेको, केटीले बिलौना गर्दा प्रमुख लामाले माथिल्लो लामालाई फसाउने केटी ‘बोक्सी’ हुन् भन्ने दोष लगाएको – यो नाटकमा तिब्बतका भ्रष्ट लामाहरूको जीवनको चित्रण गरिएको थियो । त्यसपछि हामी तल झर्यौँ ।
Leave a Reply