भर्खरै :

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति प्रजग कोरियाको कडा चेतावनी

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति प्रजग कोरियाको कडा चेतावनी

सियोल, १० मार्च (एएफपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी एवम् प्रभावशाली नेतृ किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उहाँले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायःद्वीपमा थप तनाव निम्त्याउने बताउनुभयो ।
दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्नो वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् । यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ । दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।
सन् १९५०–५३ को कोरियाली युद्धपछि युद्धकै अवस्थामा रहेको कोरियाली प्रायःद्वीपमा प्रजग कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई लामो समयदेखि आफ्नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ ।
किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले उद्धृत गरेको हो । उहाँले यस्तो अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम निम्त्याउन सक्ने’ चेतावनी दिँदै क्षेत्रीय सुरक्षामा थप अस्थिरता आउन सक्ने सङ्केत गर्नुभयो ।
उहाँ हालै प्रजग कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति हुनुभएको छ ।
उहाँको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उहाँका दाजु सर्वाेच्च नेता किम जोङ उनले हालै सियोलले अघि सारेका शान्ति पहलहरूलाई ‘असङ्गत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गर्नुभएको थियो । उहाँले प्रजग कोरियाको दक्षिण कोरियासँग ‘कुनै व्यापारिक लेनदेन छैन’ भन्ने धारणा पनि व्यक्त गर्नुभएको थियो ।
किम यो जोङले संयुक्त सैन्य अभ्यासलाई विश्वव्यापी अस्थिरताको संवेदनशील समयमा भइरहेको कदमका रूपमा चित्रण गर्नुभएको छ ।
उहाँले अहिलेको अवस्था ‘अन्तर्राष्ट्रिय बदमाहहरूको लापरवाह कार्य’ का कारण सिर्जना भएको आरोप लगाउनुभयो ।
प्योङयाङले हालै इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमणलाई पनि ‘अवैध आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ । प्रजग कोरियाले त्यस घटनाले अमेरिकाको ‘दुष्ट प्रकृति’ उजागर गरेको दाबी गरेको छ ।
प्रजग कोरिया र संयुक्त राज्य अमेरिका दशकौँदेखि राजनीतिक र सैन्य रूपमा विरोधी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *