भर्खरै :

माविस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

माविस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

भक्तपुर, १ चैत । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक क्यालेन्डरअनुसार पञ्चकन्या माध्यमिक विद्यालय, सुडालको आयोजनामा निबन्धलेखन प्रतियोगिता आइतबार सम्पन्न भयो ।
कार्यक्रममा सार्वजनिक मा.वि., संयुक्त परीक्षा समिति, भक्तपुरका अध्यक्ष एवम् शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोशनराज तुईंतुईंले वार्षिक क्यालेन्डरअनुसार निर्धारित सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको र यसका लागि आवश्यक संयोजन तथा सफल आयोजना गर्ने सबै विद्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
संयुक्त परीक्षा समितिबाट आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन भइसकेको तथ्य पनि उहाँले सगर्व सुनाउनुभयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले समितिका कार्यक्रमहरू प्रतिस्पर्धा गर्ने थलो मात्र नभई मित्रता, अनुशासन र पहिचान साटासाट गर्ने मञ्च पनि भएको तर्क राख्नुभयो ।
बासु मा.वि.का प्रधानाध्यापक रविलाल प्रधानले सहकार्य, सद्भाव र समझदारीमा कार्यक्रमहरू हुँदै आएको कुरा राख्नुभयो ।
सभापतिको आसनबाट आयोजक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलालले प्रतियोगिता हारजितभन्दा पनि त्यसमा सहभागी हुनु नै महत्वपूर्ण हुने कुरा राख्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तजलेले स्वागत गर्नुभएको कार्यक्रममा प्राविधिक रूपले शिक्षक सुनिल कोजुले साथ दिनुभएको थियो । शिक्षकद्वय सुशीला बानियाँ र सुनिता कार्कीले अतिथि सत्कार तथा पुरस्कार व्यवस्थापनमा सहयोग गर्नुभयो ।
आत्मपरक र वस्तुपरक विषय दिइएको निबन्ध लेखन प्रतियोगितामा गोलाप्रथाद्वारा छात्रलाई आत्मपरक निबन्ध र छात्रालाई वस्तुपरक निबन्ध परेको थियो । आत्मपरक निबन्ध अन्तर्गत “मैले सोचेको पुग्ने भए…” शीर्षक र वस्तुपरक निबन्धअन्तर्गत “प्राविधिक शिक्षा आजको आवश्यकता” शीर्षक रहेको प्रतियोगितामा मूल्याङ्कनका लागि दुईवटा छुट्टाछुट्टै निर्णायक समिति बनेको थियो । जसमा छात्र निबन्ध मूल्याङ्कनमा चन्द्रशोभा खर्बुजा, लक्ष्मी सुवेदी र रामलक्ष्मी अवालको मूल्याङ्कन समिति र छात्रा निबन्ध मूल्याङ्कनमा कपिल के.सी., रञ्जना गिरी र तुलसी कठायतको मूल्याङ्कन समिति रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ देवी मा.वि.का ईसब खड्का प्रथम, शाारदा मा.वि.का हरि थापा मगर द्वितीय, गणेश मा.वि. छालिङका देवप्रकाश जैसी तृतीय र भुवनेश्वरी मा.वि.का सुमन मानन्धर सान्त्वना हुन सफल भए भने छात्रातर्फ विद्यार्थी निकेतन मा.वि.का मनिषा तामाङ प्रथम, वागीश्वरी मा.वि.का सुबिना श्रेष्ठ द्वितीय, गणेश मा.वि. छालिङका दिव्या सिन्केमनी तृतीय र सरस्वती विद्यागृह मा.वि. का निलम शाही सान्त्वना हुन सफल भए ।
विजयी हुने सबैलाई अतिथिहरू रोशनराज तुईंतुईं, रविलाल प्रधान, कृष्णप्रसाद कर्माचार्य र सभापति एवम् नारायणप्रसाद दुलालले पुरस्कार, प्रमाण–पत्र, मेडल र टीकाले सम्मान गर्दै विजयी सम्पूर्णमा समाज, राष्ट्र र जनहितमा सकारात्मक सन्देशसहितको लेखमा निरन्तरता दिइरहन सकोस् भन्ने शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *