भर्खरै :

विश्व क्षयरोग दिवसको अवसरमा फोक्सो परीक्षण शिविर सम्पन्न

विश्व क्षयरोग दिवसको अवसरमा फोक्सो परीक्षण शिविर सम्पन्न

भक्तपुर, २ चैत । भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र ख्वप अस्पतालको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा आइतबार श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न भयो ।
विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा क्षयरोगमुक्त समाज निर्माण गर्ने अभियानअन्तर्गत उक्त शिविर भएको आयोजकले बताएको छ । एआई प्रविधिको अत्याधुनिक एक्स रे मेसिन र विशेषज्ञ डाक्टरको उपस्थितिमा सम्पन्न उक्त शिविरमा ३२२ जना नागरिकहरूको परीक्षण गरिएको जानकारी दिइएको छ ।
शिविर सुरु हुनुपूर्व भएको औपचारिक कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले वायु प्रदूषण तथा धूमपानको कारण फोक्सोसम्बन्धी विभिन्न रोगबाट पीडितहरूको सङ्ख्या बढिरहेको चर्चा गर्दै समयमै फोक्सो जाँच गराउन सबैमा अनुरोध गर्नुभयो । स्वस्थ नागरिकले परिवार र समाजको प्रगतिका लागि योगदान गर्न सक्ने उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले नागरिकहरूको स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेको प्रस्ट पार्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेकैले नगरवासीहरूमा रोगको सुरुवाती चरणमा नै उपचार गर्न सम्भव भएको बताउनुभयो । उहाँले बिरामीलाई हेला होइन, माया गर्दै निरन्तर उपचार सेवामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप अस्पतालका चिकित्सक डा. रत्नसुन्दर लासिवाले धुवाँ धुलोसँगै चिसोपना र ब्याक्टेरिया, भाइरसका कारण फोक्सोसम्बन्धी विभिन्न रोगहरू लाग्न सक्ने चर्चा गर्दै क्षयरोगका लक्षण र उपचार विधिबारे जानकारी दिनुभयो ।
शिविरमा २१९ जना महिला र १०३ जना पुरुषको एक्स रे परीक्षण गरिएकोमा २६ जना महिला र ९ जना पुरुषको खकार परीक्षण पनि गराइएको थियो । ८ जनामा क्षयरोगका जीवाणुहरू देखिएको जानकारी दिँदै वडाध्यक्ष ज्याख्वले उहाँहरूको निःशुल्क औषधि उपचार भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *