भर्खरै :

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ता मारमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ता मारमा

अमेरिकी र इजरायली सरकारले इरानमा सैन्य आक्रमणपश्चात् अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल औसत ६० देखि ८० डलर रहेको कच्चा तेलको मूल्य २०० डलर पुग्ने अनुमान गरिँदै छ । विश्वको २० प्रतिशत तेल ढुवानी गर्ने ‘हर्मुज जलडमरु’ को समुद्री मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ भारी मात्रामा मूल्यवृद्धि भइरहेको हो । इन्डियन आयल कर्पोरेशनले गत शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि ग¥यो ।
दशकअघिसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा सडकमा विरोध हुन्थ्यो । अहिले सरकारले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेल र मट्टीतेलमा १० रुपैयाँ मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँ बढाएको जनायो ।
नेपालको कूल आयातमध्ये पेट्रोलियम पदार्थको आयात २५ प्रतिशत छ । यति धेरै आयात हुने वस्तुको अचाक्ली मूल्य बढेपछि त्यसको असर सबैतिर पर्ने स्वाभाविक हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाडा बढ्ने र आम उपभोक्ता मूल्यवृद्धिको मारमा पर्नेछन् । आज नेपाली जनताले खाना पकाउने ग्यास सहजरूपमा पाउन सकेको छैन । आपूर्ति सहज गर्न बजारमा आधार सिलिन्डरको ग्यास पठाए पनि आम उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । उद्योगीले बिनाकारण सिमेन्ट र दण्डीमा ४० प्रतिशतसम्म मूल्यवृद्धि गर्दासमेत सरकार चुप बस्नु लाचारी हो ।
नेपाल बिजुलीमा आत्मनिर्भर हुनुपर्ने आवाज उठेको धेरै भयो । शासक दलहरूले आफ्नो कुर्सी जोगाउनकै लागि कोसी, गण्डकी, महाकाली, कर्णालीलगायतका ठुला नदी भारतीय विस्तारवादलाई दिएको हुँदा जनतालाई थप दुःख भयो । नेपालीकै लगानीमा नेपालको जलस्रोतको विकास गरेको भए नेपालीले सस्तोमा खाना पकाउन पाउन र विद्युतीय यातायात सञ्चालन गर्ने थिए ।
दक्षिण एसियामा बिजुलीको एउटै ग्रिड बनाउने र दिल्लीबाट त्यसको सञ्चालन गराउने सम्झौता गर्ने शासक दलले आज नेपाली जनतालाई जवाफ दिनुपर्छ । भारतीय विस्तारवादले २०७२ सालमा नाकाबन्दी गर्दा पनि नेपाली जनता भोकै सुत्नु परेको थियो ।
विगतमा नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घमा रुसको विरोध गर्दै युक्रेनको पक्षमा मतदान ग¥यो । आजको जटिल परिस्थितिमा नेपाल सरकारले विश्वका स्वतन्त्र र सार्वभौम देशहरूमाथि हमला गर्ने अमेरिकी साम्राज्यवादको विरोध गर्नु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *