भर्खरै :

बलियो शैक्षिक जग नै विद्यार्थीको सुनिश्चित भविष्य तय गर्ने आधार

बलियो शैक्षिक जग नै विद्यार्थीको सुनिश्चित भविष्य तय गर्ने आधार

भक्तपुर, ३ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेहनत, अभ्यास र अवसरले मात्र विद्यार्थीहरूलाई सफलता हासिल हुने बताउँदै अवसर पाएको खण्डमा हरेक विद्यार्थीले उत्कृष्टता हासिल गर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ गःपलीस्थित सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा उहाँले विद्यार्थीको क्षमताअनुसारको शिक्षा प्रदान गर्नसक्नु नै शिक्षकको कर्तव्य हो भन्नुभयो ।
एसईई परीक्षा २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामालगायतका सम्पूर्ण विद्यार्थीलाई बधाई एवम् शुभकामना दिँदै नगर प्रमुख प्रजापतिले बलियो शैक्षिक जग नै विद्यार्थीको सुनिश्चित भविष्य तय गर्ने आधार भएको बताउनुभयो ।
भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा समानता ल्याउने प्रयत्न नगरपालिकाले गर्दै आएको उल्लेख गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले विद्यार्थीहरूलाई शैक्षिक ऋण, छात्रवृत्तिलगायतको व्यवस्था गर्दै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई आत्मनिर्भर र स्वाभिमानी बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल श्रीराम सुवालले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामाको मनोबल बढाउन र थप हौसला प्रदान गर्न विद्यालयले रु. ५० हजारको प्रोत्साहन रकम व्यवस्था गरेको बताउनुभयो । हाल सेकरिड हार्टमा ६०० को हाराहारीमा विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगै असल संस्कारको आवश्यकता औँल्याउनुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, शिक्षिका शान्ति घिसिङ, विद्यार्थी प्रतिनिधि आइसा पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले एसईई २०८१ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । विशेष अतिथिहरूले अतिरिक्त क्रियाकलापका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *