भर्खरै :

चाँगुनारायणमा माटो ओसारपसारविरुद्ध स्थानीयको ‘एक्सन’ : टिपर–डोजर नियन्त्रणमा

  • चैत्र ४, २०८२
  • हरिसुन्दर छुकां
  • समाचार
चाँगुनारायणमा माटो ओसारपसारविरुद्ध स्थानीयको ‘एक्सन’ : टिपर–डोजर नियन्त्रणमा

भक्तपुर, ४ चैत । ताथली क्षेत्रमा लामो समयदेखि जारी अवैध माटो उत्खनन तथा ओसारपसारले वातावरण, पूर्वाधार र स्थानीय जीवनमा गम्भीर असर पारेपछि स्थानीयवासी अन्ततः प्रत्यक्ष ‘एक्सन’ मा उत्रिएका छन् । पटक–पटकको गुनासो र चेतावनीलाई बेवास्ता गरिएपछि उनीहरूले फिल्डमै पुगेर सवारीसाधन नियन्त्रणमा लिँदै राज्य संयन्त्रलाई काम गर्न बाध्य बनाएका हुन् ।
स्थानीयका अनुसार रातिको समयमा डोजर प्रयोग गरी अनियन्त्रित उत्खनन र टिपरमार्फत माटो ओसारपसार नियमितजस्तै भइरहेको थियो । यसका कारण धुलोधुँवा बढ्नुका साथै सडक जीर्ण बन्नु, आवतजावत जोखिमपूर्ण हुनु र दुर्घटनाको सम्भावना उच्च भएको थियो ।
विशेषगरी केही महिनाअघि मात्र निर्माण सम्पन्न भएको फैढोका–सौडोल–खड्का–बुढाथोकी टोल हुँदै जाने तधचाः सडक खण्ड अवैध माटो ओसारपसारकै कारण छोटो समयमै बिग्रिन थालेको छ । धुलाम्य सडक, खाल्डाखुल्डी र बिग्रिएको संरचनाले स्थानीयलाई दैनिक सास्ती दिइरहेको छ ।
यस विषयमा स्थानीयले पटक–पटक चाँगुनारायण नगरपालिका, प्रहरी र नगर प्रहरीलाई जानकारी गराउँदै अवैध उत्खनन रोक्न माग गरेका थिए ।
गत फागुन २६ गते पीडित तथा सरोकारवालाहरूले नगर प्रमुख जीवन खत्रीलाई लिखित ध्यानाकर्षण गराउँदै तत्काल नियन्त्रणको माग गरेका थिए । सो क्रममा प्रमुख खत्रीले फागुन २८ गतेभित्रै संयन्त्र बनाएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, समयसीमा नाघिसक्दा पनि कार्यान्वयन नभएपछि स्थानीयले आफ्नै पहलमा कदम चालेका हुन् ।
स्थानीयले स्थलगत अनुगमन गर्दा उत्खनन र ओसारपसार दुवै नरोकिएको पुष्टि भएपछि वडा अध्यक्ष गणेश त्यातमार्फत नगर प्रहरीलाई खबर गरिएको थियो । खबर गरेको करिब ३५ मिनेटपछि नगर प्रहरी घटनास्थल पुगेको थियो ।
त्यसअघि नै स्थानीयले अवैध रूपमा प्रयोग भइरहेका टिपर र डोजर नियन्त्रणमा लिइसकेका थिए । पछि ती सवारीसाधन चाँगुनारायण नगरपालिकालाई बुझाइएको छ ।
नगरपालिकाले सवारीसाधनमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने जनाएको छ ।
तर स्थानीयको माग अब प्रतिबद्धतामा सीमित छैन । उनीहरूले अवैध उत्खननमा संलग्न समूहको पहिचान, कानुनी कारबाही, क्षतिपूर्ति र दीर्घकालीन अनुगमन संयन्त्रको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *