भर्खरै :

ग्यास पसलमा अनुगमन

ग्यास पसलमा अनुगमन

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्यासीदेखि कमलविनायक हुँदै लान्चाफल्चासम्म रहेका ग्यास पसलहरूमा बिहीबार बजार अनुगमन भयो ।
अनुगमनमा अधिकांश पसलहरू नगरपालिकामा दर्ता नवीकरण नगरी सञ्चालन गरेको, किराना र भाँडाकुँडा पसलमा दर्ता गरी ग्यास बेचिरहेको देखियो । म्याद सकेको ग्यास सिलिन्डर नराख्न, ग्यास भरेको सिलिन्डर लुकाएर अभाव सृजना गरी महँगोमा नबेच्न र ग्राहकहरूको सूची राखी वितरण गर्न, अति आवश्यक ग्राहकलाई कम्पनी फरक भए पनि ग्यास वितरण गर्न र पेटीमा ग्यास सिलिन्डर नराख्न टोलीले सुझाव दिएको बुझिएको छ ।
महाकाली ग्यास सप्लायर्स, श्री महालक्ष्मी ग्यास पसल, नगाँचा ग्यास पसल नवीकरण गर्न आग्रह गरिएको छ । न्यू प्रजापति इन्टरप्राइजेज भाँडाकुँडा पसलझैँ ग्यास पसल पनि दर्ता गर्न, साखकर्मी किराना पसलमा ग्यास पसल दर्ता गर्न र जय श्री महालक्ष्मी ग्यास सप्लायर्स नवीकरण गर्न आग्रह गरिएको छ ।
अनुगमन समितिमा वडा सदस्य रोशनमैयाँ सुवाल, भनपा श्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवाल, वडानिरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका प्रभाषकुमार चालिसे, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक तेजप्रसाद खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर उद्योग वाणिज्य सङ्घका राजेश त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, वाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुलाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *