भर्खरै :

संसारका सबभन्दा बढी जनता अमेरिकाको विरोध गर्छन्

संसारका सबभन्दा बढी जनता अमेरिकाको विरोध गर्छन्

देशमा अमेरिकी सेनाको चलखेल भइरहेको कुरामा शङ्का छैन । अमेरिकी राष्ट्रपति ट्रम्पको नेपाली सेनासँग सहकार्य गर्न तत्पर भएको विचारमै हस्तक्षेपको गन्ध छ । नेपाली सेनासँग सहकार्य गर्न तयार रहेको उनको व्यक्त विचार गठन हुने सरकारसित कुनै सन्दर्भ मिलेको छैन । नयाँ सरकार गठनसित अमेरिकी सेनाको सहकार्यको कुरा कहाँबाट आयो ? नेपालमा अमेरिकी सेनाको चलखेल भइरहेको छैन भने सेनासँग सहकार्यको प्रश्न त्यसै आउँदैन ।
अमेरिकी सेना बिनाकारण नेपालमा किन पटक पटक भित्रिन्छन् ? कहिले तालिमको नाउँमा, कहिले आर्थिक सहयोगको नाउँमा अमेरिकी सेना पसेर अमेरिकाले नेपाली भूमिलाई परेड खेल्ने मैदान बनाइरहेको छ । कहिले अरु देशमा सीधा आक्रमण गरेर त कहिले अरु देशका असन्तुष्ट पक्षलाई उचालेर अन्तरकलह बढाउने, विरोधको स्वर सल्काउने र अरुलाई उपयोग गरेर झगडा गराउने काममा अमेरिका संलग्न हुँदै आएको छ । एमसीसी सम्झौता भएपछि अमेरिकी सेनाको चलखेल झन् बढेको छ । भोलि सरकारले एसपीपी पास गर्यो भने नेपाल अमेरिकी सेनाको परेड खेल्ने भूमि हुनेमा शङ्का छैन ।
यहाँ विकासको नाउँमा जसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू खोलेसँग विदेशी चलखेल बढेको हो त्यसरी नै धर्म प्रचारको नाउँमा धार्मिक संस्थानहरू खोलेर विदेशी गतिविधि बढिरहेको छ । पाँचखालमा अमेरिकी सेना बरोबर पसेको खबर प्रकाशमा आएको छ । बौद्ध धार्मिक स्थलहरूमा दलाई लामा पक्षका तिब्बतीहरू पसेर चीनको विरोधमा गतिविधि भइरहेको पनि सुन्नमा आएकै हो । ती स्थानहरूमा बेलाबखत चीनको विरोधमा प्रदर्शन भएकै हो । डाँडा डाँडा या उचाइमा रहेका पहाडमा धार्मिक केन्द्र खोलेर एकातिर गुप्तचरको कार्य भइरहेको छ भने अर्कोतिर साम्प्रदायिक भावना फैलाएर द्वन्द्व चर्काउने काम भइरहेको छ ।
पहिले पञ्चायतकालमा राजनीतिक हिसाबले नै डाँडा र पहाडको चुच्चोमा सैनिक क्याम्प बनाएको हुन्थ्यो । पञ्चायतको विरोधमा कसैले आन्दोलन गरे, आन्दोलन गरेर पञ्चायत फाल्ने प्रयास गरे आन्दोलनकारीलाई घेरा हाल्न या गतिविधिको एक एक सूचना थाहा पाउन नै पहाडको उच्च समस्थलीमा सेनाको क्याम्प राखेको हुन्थ्यो । विदेशी चलखेल बढाएर आन्तरिक द्वन्द्व बढाउन, चीनको विरोधमा तिब्बतका तिब्बतीहरूलाई उचाल्न, हङकङमा चीनको विरोध गराउन अमेरिका लागिरहेको छ । अमेरिकाले नेपाललाई प्रयोग गरेर तिब्बतमा उत्पात् मच्चाउन खोज्यो, विद्रोह गराउन साथ दियो भने के चीन चुप लागेर बस्छ ? त्यसबेला नेपालको स्थिति के होला ?
साम्राज्यवादीहरू अनेक लोभलालच देखाएर अरु देशमा छिर्छन्; छिरिरहेका छन् । विकास र आर्थिक सहयोगको प्रलोभनमा नेपालका शासकहरू फस्दै गएमा नेपाल र नेपालीलाई प्रयोग गरेर अमेरिका चीनविरुद्ध लाग्दैन भन्न सकिँदैन । राजनीतिक विश्लेषक र कूटनीतिज्ञहरू यो कुरा बुझ्छन् । अदूरदर्शी, अवसरवादी, कूटनीतिबारे जानकार नभएका नेताहरू यस्ता कुरा बुझ्दैनन् र विदेशी जालमा फस्छन् । यस्तै जालझेल र चक्करमा फसेरै नेपालमा अनेक असमान सन्धि सम्झौता भएको हो । यसबारे शासकहरू गम्भीर हुनुपर्ने हो; चनाखो हुनुपर्ने हो ।
देश र जनताबारे चिन्ता नलिने, विदेशी चँगुलमा फस्ने, देश बनाउन कुनै पूर्वाधार तयार नगर्ने, विदेशीको भरमा बस्ने शासकहरूको गैरजिम्मेवारी र अदूरदर्शिताले नै देश विकासमा पछि परेको हो; देश विदेशी चलखेलमा फसेको हो । संयुक्त राज्य अमेरिकाले संसारका विभिन्न मुलुकमा आतङ्क मच्चाइरहेको यथार्थ हो; देश देश जुधाएर हतियार बेचिरहेको अर्को यथार्थ हो । अरु देशलाई ध्वस्त पारेर कमजोर बनाउने र आफू जहिल्यै ‘अमेरिकी प्रथम’ या शक्तिशाली देश भइरहने अमेरिकी प्रशासनको नियतमा कालो धब्बा भएको प्रस्ट छ । अमेरिकाको दादागिरीकै कारण विश्वका जनता आतङ्कित र असुरक्षित छन् । यही कारण संसारमा सबभन्दा बढी विरोध अमेरिकाको हुन्छ; संसारका करोडौँ होइन अरबौँ जनताको विरोध अमेरिकाको हुन्छ । यस अर्थमा अमेरिकी राष्ट्रपति ट्रम्प विश्वबाट एक्लिँदै छन् । जर्मनी, युरोपेली देश, बेलायत, इटाली आदि देश र देशका राष्ट्रप्रमुखहरू इरानको विरोधमा नलाग्ने बताउँछन् । यसबाट थाहा हुन्छ, अमेरिका र अमेरिकी राष्ट्रपति ट्रम्प विश्वबाट नाङ्गिँदै छन्; एक्लिँदै छन्; बदनाम हुँदै छन् । यो साम्राज्यवादी देशको पतनको सङ्केत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *