भर्खरै :

अमेरिकाबाट विश्व आतङ्कित र असुरक्षित

अमेरिकाबाट विश्व आतङ्कित र असुरक्षित

संसद्को निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गरेर या दुईतिहाइ मत प्राप्त गरेर सरकारको नेतृत्व गर्नु महत्वपूर्ण कुरा होइन । निर्वाचनमा दुईतिहाइ प्राप्त गर्दैमा कुनै दल कम्युनिस्ट पार्टी, प्रजातान्त्रिक या देशभक्त दल हुन्छ भन्ने होइन । विगतमा पञ्चायत र भारतको भारतीय जनता पार्टी न प्रजातन्त्रवादी भयो न त कम्युनिस्ट नै भयो । बहुमत प्राप्त गरेर देशमा विदेशी थिचोमिचो, अतिक्रमण र दबाब सहिरहन्छ भने दल बलियो हुनुको अर्थ के रह्यो र ! कुनै निश्चित मार्गनिर्देश नभएको, कुनै दर्शन र सिद्धान्तले नभिजेको दलको सरकारले देशलाई कुन मोडमा कहाँ पु¥याउने हो ? यकिन छैन ।
प्रतिनिधिसभाको निर्वाचनमा कम्युनिस्ट पार्टीको सीट सङ्ख्या घटेकोमा पुँजीवादी लेखक र बुद्धिजीवीहरूले दक्षिण एसियाबाट कम्युनिस्टहरू खिइँदै गएको टिप्पणी गरे । विगतमा पनि सोभियत संशोधनवादी र विश्वासघातीहरूको कारण पूर्वी युरोपमा भएको समाजवादको अस्थायी हारलाई सबै समाजवादी देश समाप्त भए भनी साम्राज्यवादी र पुँजीवादीहरूले प्रचार गरे । कम्युनिस्ट पार्टीको इतिहास अन्त भयो भन्नेहरू या त पुँजीवादीहरू हुन् या त विश्वासघाती र नक्कली कम्युनिस्टहरू हुन् । पुँजीवादी र साम्राज्यवादी देशहरूले कम्युनिस्ट पार्टीको देश प्रजग कोरिया र क्युवामा नाकाबन्दी गरे । संयुक्त राज्य अमेरिकाले इरानमा आक्रमण गरेलगत्तै क्युवामा पनि आक्रमण गर्ने चेतावनी दियो ।
नेपाल मजदुर किसान पार्टीले सुरूदेखि नै साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्ने प्रजग कोरिया, भियतनामी जनता, लावस र कम्बोडियाको सङ्घर्षको समर्थन गर्दै आएको हो । नेमकिपा साम्राज्यवाद र विस्तारवादको विरोधमा सङ्घर्षरत छ । अमेरिकाले देशका स्वाधीन र सार्वभौम देशमाथि आक्रमणमा सहयोग गर्दै छ; आफै आक्रमणमा उत्रेको छ । साम्राज्यवादको विरोध गर्ने, विदेशी हस्तक्षेप र आक्रमणको विरोध गर्ने देशहरूलाई अमेरिकाले एक एक पाइला गर्दै आक्रमण गरेर कमजोर बनाउने काम गर्दै छ । कम्युनिस्टहरूको देशमा नाकाबन्दी र आक्रमण गरेर हाहाकार बनाउने नियत राखी अमेरिका आक्रमणमा लागेको छ । यो स्वाधीन र सार्वभौम देशमाथिको हस्तक्षेप हो । विश्वका जनता यसको विरोध गर्दै छन् ।
ल्याटिन अमेरिकामा तुलनात्मकरूपले क्रान्तिकारी र देशभक्तहरू खुम्चिँदै छन् र दक्षिण एसियामा कम्युनिस्टहरू खिइँदै छन् भन्ने विश्लेषण सत्य होइन । तर, संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गतिविधिले तेस्रो विश्व युद्धको सम्भावना बढ्दै छ । अमेरिकाले चीनलाई युद्धमा सामेल गराउने जाल बुन्दै छ । कहिले तिब्बतीहरूलाई उचालेर तिब्बतमा उत्पात् मच्चाउने त कहिले हङकङमा आन्तरिक द्वन्द्व चर्काएर चीनलाई फसाउने काममा अमेरिका लागिपरेको छ । अमेरिकाले नेपाली भूमिलाई उपयोग गरेर अमेरिकी सेना भित्याउन एसपीपीको चर्चा ल्याउँदै छ । देशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू बढ्नु पनि विदेशी चलखेलका दृष्टान्तहरू हुन् । अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू खुलमखुला भित्रिन थालेकै कारण यहाँ विदेशी चलखेल बढेको हो; गुप्तचरहरू छिरेर उत्पात् हुन थालेको हो । विदेशी चलखेल र घुसपैठले नै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत आदि जलेको हो ।
सिद्धान्त र विचारबाट नभिजेका देशका अशिक्षित र सांस्कृतिकस्तर नभएका जनताको मत लहलहैमा जानसक्छ† लोभलालचमा फसेर मतमा हेरफेर हुनसक्छ । पुँजीवादी निर्वाचनमा मतको हेरफेर हुनु स्वाभाविक हो । यसैलाई आधार मानेर कुनै दलको सिद्धान्त खिइयो भन्नु दृष्टिदोषबाहेक अरू के हुनसक्छ ? बरू विश्वका जनता साम्राज्यवादी हैकमको विरोधमा उठ्दै छन् । विश्वका जनतामा आएको यो जागरण र साम्राज्यवादविरोधी स्वर फैलिँदै जानु सकारात्मक पक्ष हो ।
संसारमा मजदुर र किसान रहेसम्म या श्रमजीवी जनता रहेसम्म कम्युनिस्टहरू खिइँदैनन् । बरू, सचेत र सङ्गठित भएर अगाडि बढ्नेछन्; बढिरहेका छन् । यो एसिया, अफ्रिका, ल्याटिन अमेरिका हुँदै युरोपका विभिन्न मुलुकमा पुग्नेछन् । अमेरिकी जनता पनि अमेरिकी प्रशासनको विरोध गर्दै छन् । त्यहाँ पनि वामपन्थी शक्ति बढ्दै छ । साम्राज्यवादको विरोधमा विश्वका जनशक्ति एक हुँदै छ । अमेरिका विश्वबाट एक्लिँदै छ । अतः शक्तिको उन्मादमा चढेको अमेरिका अरू देशमा आक्रमण गर्दै विश्वलाई आतङ्कित र असुरक्षित बनाउँदै छ । ढिलो चाँडो अमेरिकी साम्राज्यवाद पतन हुनेछ र विश्वका जनता सुरक्षितका साथ जोहो गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *