भर्खरै :

इरानमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत

इरानमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत

बाँके, ९ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बारे शनिबार कोहलपुरमा नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको समीक्षा बैठक सम्पन्न भयो ।
बैठकमा नेमकिपा लुम्बिनी प्रदेश समितिका संयोजक हरिसुन्दर बासीले संसारका न्यायप्रेमी जनतालाई आतङ्कित पार्ने संरा अमेरिकी साम्राज्यवाद निभ्न लागेको बत्तीजस्तै चम्केको बताउनुभयो ।
सार्वभौम देश इरानमाथि अन्तर्राष्ट्रिय कानुनविपरीत आक्रमण गरिरहेको संरा अमेरिकी साम्राज्यवादले क्युवामा पनि चरम इन्धन अभाव गराएर धम्की दिइरहेको उल्लेख गर्दै उहाँले संरा अमेरिका आर्थिक रूपमा पतन भइसकेको र उसको जङ्गलीराज धरै दिन टिक्दैन भन्नुभयो ।
उहाँले संरा अमेरिकी सैनिक बेसक्याम्पका कारण मध्यपूर्वका जनता असुरक्षित भएको घटनाबाट नेपाली जनता सतर्क बनेको उल्लेख गर्दै संरा अमेरिकासँग एसपीपी सम्झौता गरेर शासकहरूले नेपाललाई युद्धको भुमरीमा जाक्ने हो कि भन्नेमा नेपाली जनता त्रसित छन् भन्नुभयो ।
निर्वाचनको परिणामले नेपाली कामदार जनता र राष्ट्रिय पुँजीपतिवर्ग वर्गीय रूपमा सचेत भइनसकेको देखाएको उल्लेख गर्दै उहाँले वर्गीय चेतनाबाट सुशिक्षित कामदार जनताले जनताको प्रजातन्त्र स्थापना गर्नेछ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समिति सदस्य नवीनकुमार शाहीले निर्वाचन पनि एक वर्गसङ्घर्ष भएको चर्चा गर्दै निर्वाचनलाई राजनीतिक कक्षाको रूपमा सञ्चालन गर्न शासक दलहरू चुकेको बताउनुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समिति सदस्य नारायणी चौधरीले राजनीतिक रूपमा सचेत नभएका जनता लहैलहैमा लाग्ने गरेको बताउनुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष शेरबहादुर बिकले मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनबाट कार्यकर्ताहरूले सिक्न अवसर पाउने र कार्यकर्ताहरूको पनि पहिचान हुने बताउनुभयो ।
बैठकमा गौरीकान्त आचार्य, धनबहादुर सिजापति, हीराबहादुर शाही, जयबहादुर बुढा, प्रकाश शाह, कोकिला शाही, धु्रवराज आचार्य, सुर्जा थापा, जमरकन्या रोकाया, शेरबहादुर शाही, रूपेश श्रेष्ठ, वीरबहादुर चौधरी, खड्गराज थापा र विश्वराज देवकोटाले निर्वाचन कार्यक्रमबारे आ–आफ्नो अनुभव सुनाउनुभयो ।
त्यस्तै, आइतबार वैदीमा नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको निर्वाचन समीक्षा बैठक सम्पन्न भयो ।
बैठकमा नेमकिपा लुम्बिनी प्रदेश समिति संयोजक हरिसुन्दर बासीले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने चर्चा गर्दै देशको सार्वभौमसत्ता र जनताको हितको लागि सङ्घर्षलाई थप उचाइमा लानुपर्छ भन्नुभयो ।
साम्राज्यवादी संरा अमेरिकाले इरानका केही नेताहरूलाई मारेर इरानको पेट्रोललगायत सारा खनिज पदार्थ कब्जा गर्न खोजेको तर साम्राज्यवादविरोधी इरानी जनताको प्रतिरोधको कारण संरा अमेरिका भियतनाममा जस्तै उम्कन नसक्ने गरी फस्दै गएको उल्लेख गर्दै उहाँले आजका साम्राज्यवादीहरू हतियार (बुलेट) बाट मात्र होइन, जनमतको आधारमा (ब्यालेटबाट) पनि आइरहेको हुँदा नेपाली जनता अझै बढी सचेत हुनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य मन्जु थारुले निर्वाचनमा शासक दलहरूले जनतालाई राजनीतिक रूपमा सूचित पार्नुभदा जसरी पनि जित्ने नियतले जनतालाई दिग्भ्रमित पार्ने गरेको स्पष्ट पार्नुभयो ।
नेमकिपा बर्दिया जिल्ला समितिका अध्यक्ष हरिलाल न्यौपानेले हाहा र हुहु गरी हावाको भरमा आएको राजनीतिक शक्ति स्थिर नहुने दाबी गर्दै आफ्नो सिद्धान्तमा अडिग हुने जनताले मात्र देश जोगाउन सक्छ भन्नुभयो ।
बैठकमा धर्मराज जैसी आचार्य, सावित्री थापा, थिरबहादुर ओली, पार्वती विष्ट, दिल्ली खड्का, मनबहादुर केसीलगायतले नेमकिपाको नीति र नेतृत्वबारे जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *