राजनीतिक पार्टीहरूको आर्थिक र विदेश मामिला मौलिक हुनु आवश्यक
- चैत्र २९, २०८२
भक्तपुर, १२ चैत । गणेश माध्यमिक विद्यालय भार्वाचोको आयोजनामा नेपाल मजदुर किसान पार्टीका पूर्वसल्लाहकार किसान नेता, भक्तपुर नपाका पूर्वप्रधानपञ्च, पूर्ववडाध्यक्ष एवम् समाजसेवी ज्ञानबहादुर न्याइच्याईँको १५ औँ स्मृतिसभा बिहीबार सम्पन्न भयो ।
उक्त सभामा पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारअनुसार निःस्वार्थपूर्वक टोल, समाज र देशको सेवामा लाग्नु नै पार्टीका अग्रज व्यक्तित्व ज्ञानबहादुर न्याइच्याईप्रति कदर एवम् उहाँप्रति हाम्रो सम्झना हुने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “उहाँका राम्रा कामहरूबारे नयाँ पुस्तासम्म पु¥याउन यो स्मृतिसभा महत्वपूर्ण हुनेछ ।”
नेमकिपाले सडक सङ्घर्ष र निर्वाचित संस्थामार्फत देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “चुनावमा धेरै स्थान लिएर सरकारमा गएका दलहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको हुँदा जनतालाई दुःख भएको हो ।”
सचिव सुवालले भन्नुभयो, “दुईतिहाइको सरकार २०१५ र २०७४ सालमा पनि गठन भएको थियो । तर, ती सरकारबाट जनताको सेवा भएन । अब बन्ने झन्डै दुईतिहाइको सरकारबाट पनि देश र जनताको सेवा हुने अपेक्षा गर्ने अवस्था छैन । निर्वाचन अगाडि नै भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरी फौजदारी आरोपीहरूलाई उम्मेदवारी हुन नपाउने व्यवस्था गर्नुपर्ने थियो । भारतको संसद्मा ५३ प्रतिशत सांसदहरू फौजदारी अपराधको आरोपी भएको सार्वजनिक भएको थियो । नेपालमा पनि यही अवस्थाको खतरा बढ्यो । गर्मी सुरूसँगै लामखुट्टेबाट बच्न सफाइ र झुल राख्नुपरेजस्तै साम्राज्यवाद र विस्तारवादको कठपुतली सरकारविरूद्ध नेपाली जनता सङ्घर्षको तयारीमा लाग्नुपर्ने हुन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामसङ्घ जिल्ला समितिका अध्यक्ष सृजना सैँजुले व्यक्तिगत स्वार्थलाई ज्ञानबहादुर न्याइच्याईले कहिल्यै प्राथमिकता नदिएको उल्लेख गर्दै समाज र देशप्रतिको भावना उहाँबाट नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “देश विचार र सिद्धान्तले अगाडि बढेको हुन्छ । आज संरा अमेरिकाको कारण इजरायल र इरानबिच युद्ध भएकोले हाम्रो भान्सामा समेत प्रभाव परिसकेको छ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले ज्ञानबहादुर न्याइच्याईको समीपमा रहेर सङ्घर्षमा जाँदाको अनुभव व्यक्त गर्दै नेमकिपाले पञ्चायती व्यवस्थाको अन्त्य मात्र नगरी समाज परिवर्तनको निम्ति समाजवादी व्यवस्था ल्याउन सङ्घर्ष गरिरहेको बताउनुभयो ।
ज्ञानबहादुर दाइले मोही किसानहरूको मोहियानी हक प्राप्त गर्न सङ्घर्षको नेतृत्व गर्नुभएको पनि उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् समाजसेवी कृष्णबहादुर दुगुजुले ज्ञानबहादुर न्याइच्याईले नगर पिता भएर गरिब, किसान र निम्नवर्गको उत्थानको निम्ति शिक्षा, स्वास्थ्यमा जोड दिनुभएको बताउनुभयो ।
ज्ञानबहादुर दाइले वडामा विद्यालय स्थापनाअघि प्रौढ कक्षा, साक्षरता कक्षा स्थापना गर्नुभएको थियो, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न स्मृति सभामा विद्यालयका प्रअ गणेशराम थुसा र सहायक प्रअले ज्ञानबहादुर न्याइच्याईको योगदान र जीवनीबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत १२ जना विभिन्न कक्षाका विद्यार्थीलाई ज्ञानबहादुर न्याइच्याई स्मृतिकोषको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।
Leave a Reply