नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
एउटा गाउँमा एक पाको र निष्ठावान अभिभावक थिए । उनी सधैँ आफ्ना छोराछोरीलाई भन्थे, “हामीले आफ्नै खुट्टामा उभिनुपर्छ, अरूको आश गर्नु हुँदैन । मेहनत गर, इमानदार बन र आफ्नो गाउँ (समाज) लाई आफैँ बनाऊ ।” उनले छोराछोरीलाई स्वदेशी उत्पादनको महत्व, वैचारिक स्पष्टता र नैतिकताको पाठ कण्ठ गराएका थिए ।
बाबुको पढाइ त उच्च थियो, तर छोराछोरीका लागि त्यो केवल ‘घोकन्ते विद्या’ जस्तै भयो । उनीहरूले त्यो आदर्शको मर्मलाई मनैदेखि ‘बुझ्न’ पाएनन् ।
त्यही बेला, गाउँमा केही नयाँ र चल्तापुर्जा ‘व्यापारी शैली’ का मान्छेहरू (जसलाई हामी वर्तमानका सस्तो लोकप्रियतावादी र ठुला भनिने दल मान्न सक्छौँ) भित्रिए । उनीहरूले किसानका छोराछोरीलाई यस्तो कुरा बुझाए, जुन बाबुको आदर्शभन्दा निकै सजिलो र रमाइलो थियो ।
ती बाहिरी मान्छेहरूले भने, “हेर, तिम्रो बाबुले तिमीलाई सधैँ दुःख गर्न र पसिना बगाउन मात्र सिकाउनुभयो । तर, संसार त कति आधुनिक भइसक्यो ! यो ‘पुरानो विचार’ को भारी बोकेर तिमीहरू कहिलेसम्म बस्छौ ? हामीसँग आऊ, हामी तिमीलाई बिनाझन्झट सुख–सुविधा, पद र पैसाको बाटो देखाइदिन्छौँ ।”
बाबु काममा व्यस्त भएको मौका छोपेर उनीहरूले ती अबोध छोराछोरीलाई ‘विकास र स्वतन्त्रता’ को यस्तो चस्मा लगाइदिए, जसबाट उनीहरूलाई आफ्नो बाबुको वर्षौँदेखिको मेहनत र त्याग ‘व्यर्थ’ लाग्न थाल्यो । उनीहरूले सोच्न थाले, “बुबाले हामीलाई पढाउन त पढायो, तर हाम्रो रहर बुझेन । बरु, यी बाहिरका मान्छेहरू कति आधुनिक र हाम्रो उन्नति चाहने रहेछन् !”
आफ्ना कार्यकर्ता र जनतालाई ‘पढाउन’ त धेरै पढायो (समाजवाद, उत्तर कोरिया, चीन, विश्व राजनीति), तर नयाँ पुस्तालाई उनीहरूकै ‘बुझ्ने भाषा’ मा त्यो किन आवश्यक छ भनेर बुझाउन कतै कमी भयो कि ? यदि शिक्षाले मान्छेको मन छुँदैन र उसलाई आफ्नो परिवेशसँग जोड्दैन भने, त्यो पढाइ जतिसुकै राम्रो भए पनि ‘काम नलाग्ने’ हुन्छ ।
यहाँ नेमकिपाको ‘स्वच्छ छवि’ लाई बिगार्न खोजिरहेकाहरू पनि छन् । उनीहरूले ‘पुरानो विचार’ भन्दै कार्यकर्ताहरूलाई भ्रममा पारेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्दै छन् । नयाँ पुस्तालाई अहिले लागेको ’स्वतन्त्रता’ वास्तवमा एउटा ठुलो भ्रम हो । उनीहरूले बाबुको अनुशासनलाई ‘बन्धन’ ठाने, तर बाहिरी शक्तिको ‘प्रलोभन’ लाई ‘प्रेम’ सम्झिए । जबसम्म उनीहरूले यो कुरा बुझ्नेछन्, तबसम्म उनीहरूले आफ्नो पुख्र्यौली जग र नैतिकता गुमाइसकेका हुनेछन् ।
हो, सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्छ । यदि नयाँ पुस्ताले पार्टीको नीतिलाई आफ्नो भविष्य र दैनिक जीवनको हितसँग जोडेर बुझ्न सकेन भने, बाहिरका ‘मिठा कुरा’ गर्ने शक्तिहरूले उनीहरूलाई सजिलै बहकाउनेछन् ।
Leave a Reply