भर्खरै :

भजन गायन प्रदर्शनी

भजन गायन प्रदर्शनी

लघु कथा

‘आफूले आफैलाई चिन्न नसक्दा दुःख पायो रे’
“आहा ! कस्तो मर्मस्पर्शी अनि गहन र अति महत्वपूर्ण भाव छ, सन्देश छ । भजन गायन भनेको यस्तो पो हुनुपर्छ । नेताहरू, शासकहरू, नेपाली जनताले यस्तै भाव, विचार समयमा बुझ्न नसक्दा, त्यसअनुसारको आचरण गर्न नसक्दा आज देश परनिर्भर भयो । विदेशीले सहयोगको नाममा आदेश र धम्की दिन आए । देश र जनताले दुःख पाए । यी भजनमा के छैन सबै छ । यसमा अत्मिनिर्भरता, कला, संस्कृति, जीवन, समाज र देश छ । यसले लोभ नगर्ने त्याग गर्ने, निःस्वार्थ सेवा गर्ने संस्कार सिकाएको छ । यो भजनको मर्मस्पर्शी भाव, विचार, नयाँ पुस्तामाझ पु¥याउन सकिएन । नवदुर्गाको नाचमा पनि जीवन छ, दर्शन छ तर नयाँ पुस्तामा पु¥याउन सकेन । यस्तै हाम्रा मौलिक मूर्त, अमूर्त सम्पदाहरू धेरै पैसा खर्च गरेरै यहाँ आइरहेका छन् ।” यसैलाई मनन गरी भक्तपुर नगरपालिकाले पुर्खाले सिर्जेको हामीलाई सुम्पेर गएको ‘नासो’ कला र संस्कृति जोगाउन आयोजना गरेको भक्तपुर नगरव्यापी भजन गायन प्रदर्शनीको रसपान, गरिरहेका ज्येष्ठ नागरिक कृष्णकुमारले सँगै त्यस्तै रसपान गरिरहेका साथी आसकुमारलाई आफ्नो विचार र अनुभव बाँडे ।
उनले फेरि थपे, “यसरी नयाँ पुस्तालाई बताउने, सुनाउने काम नहुँदा नयाँ परिवार, समाज, देशलाई होइन आफ्नो पढाइ र स्वार्थलाई मात्र हेरे । उनीहरू खालि पढेर हाम्रो देश कसरी बन्छ ? हामीसँग नभएको पढ्न, सिक्न विदेश जानुपर्छ । त्यो पढाइ, सिकाइ अनुभव देश फर्केर देश बनाउनमा लगाउनुपर्छ । हाम्रा पुर्खाहरूले अग्रजहरूले यस्तै गरे । हेर्नुस् त सधैँ हेरिरहुँ जस्तो लाग्ने हाम्रो पाँचतले र भैरवको मन्दिर, अनि स्वर्णद्वार र पचपन्न झ्याले दरबार कति सुन्दर, कति गौरव होइन आसकुमार ?”
त्यो त सो¥है आना हो कृष्णकुमार ! आसकुमारले पनि साथी कृष्णकुमारको विचारलाई समर्थन गर्दै भने, “मलाई पनि भजन र तिम्रो विचारले आनन्द र गौरवको अनुभूति भयो । मलाई त रोग शोक केही नभएको पूरै स्वस्थ युवा भएको जस्तो अनुभव भयो । त्यसो भनेर हामी भजन मात्र गाएर बस्ने होइन । आफूले सकेको परिवार, समाज अनि देशको लागि पनि काम गर्नुपर्छ । यो अर्को धर्म हो । देवतालाई पुजेर लाख बती बाल्दैमा, बोका काट्दैमा आफूले गरेको पापबाट कहाँ जोगिन्छ र ? आफू बलियो, धनी भएको बेला अरुलाई स्वार्थपूर्ति गर्न दिएको दुःखकष्ट, देउताको जग्गा जमिन, देशको सम्पति हडपेको परिवार, समाजलाई हुनसम्म दुःख दिई गरेको पाप कर्मको फल हरिनारायण र रामको नाम जपेर मुक्त हुँदैन । उनीहरू छिँडीमा सुताउने बेला, आर्यघाटमा राख्ने बेलामा पापले पोलेर शान्त र आरामसँग मर्न सक्दैनन् ।
उनले पुनः थपे, “कृष्णकुमार यस्तो भजनकीर्तनले मर्दा, पर्दा सङ्कटको बेला निःस्वार्थ सेवा र सहयोग गर्ने, अन्यायको विरुद्ध आवाज उठाउने, देश, समाजलाई, सङ्कट आइपरेको बेला लड्न उत्प्रेरित गर्ने खालका देशभक्ति भावना, विचार दिने खालको भजन गाउनु आवश्यक छ । अन्य स्थानीय सरकार वा पालिकाहरूले पनि भक्तपुर नगरपालिकाले जस्तै आफ्नो ठाउँ, संस्कृति विशेषको हामी देशको श्रृङ्गार, सम्पत्ति विभिन्न जातजातिको यस्तै भजन, नाचगान प्रदर्शन, प्रतियोगिता गर्नु जरुरी छ । आखिर हाम्रो देश भनेको यहीँ त हो नि । होइन कृष्णकुमार ? ल भोक पनि लाग्यो । हिजै घरमा आउँदा छोरी र नातिनीले भजन हेर्न आउनुस् । मिठो खाजा पकाइराख्छु आउनुस् है बुबा भनेकी थिइन् । जाऔँ, त्यो नेपाली शैलीको छोरीको घरमा भन्दै दुबै गए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *