भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
भन्न त सुगारटान गरेझैँ सबैले भन्छन्, ‘काम ठुलो हो, नाम त पहिचान मात्र !’ तर, हाम्रो समाजको विद्रूप यथार्थको ऐनामा हेर्ने हो भने कामको कद सधैँ होचो र नामको टाउको हिमालजत्रो देखिन्छ । काम जतिसुकै हिलो, दुर्गन्धित र अनैतिक किन नहोस्, यदि त्यसमा नामको सुगन्धित अत्तर छर्कन सकियो भने त्यो बजारमा लोकप्रिय भएर बिक्छ । त्यसैले त, अब पुराना र मक्किएका उखानहरूलाई एकाउन्न सुकाको ढोग चढाएर बिदाइ गर्नुपर्ने बेला आएको छ । “कामले मान्छे चिनिन्छ” भन्ने आदर्शवादी भनाइलाई च्यातेर अब नयाँ समाजशास्त्रीय भाष्य स्थापना गर्नुपर्छ, “नाम राम्रो भएपछि, नराम्रो काम पनि सुनको भाउमा किनिन्छ र पुजिन्छ !”
तपाईं ओठ लेप्राएर, नाक खुम्च्याउँदै ‘घुस’ भन्नुस् त ! भद्र समाजले तत्कालै आफ्नो कान थुन्छ, आँखिभौँ तन्काउँछ र छिःछिः दुरदुरको सामूहिक भजन गाउन थाल्छ । तर, यसलाई आधुनिक बजारको ‘ब्युटी पार्लर’ मा हुलेर, अलिकति लिपस्टिक–पाउडर घसिदिनुस् र कण्ठ सफा गर्दै ‘सेवा शुल्क’ भनिदिनुस्— आहा, कति शालीन, कति सुसंस्कृत र कति न्यायसङ्गत सुनिन्छ ¤ टेबलमुनिको अन्धकारबाट सुटुक्क अर्काको गोजीमा छिर्ने त्यो गुलाबी नोटको बिटो जब ‘सेवा शुल्क’को रेशमी पहिरनमा प्रकट हुन्छ, तब लिनेको अनुहारमा ग्लानिको छाया होइन, बरु भर्खरै जगत् कल्याण गरेर फर्किएको ‘गर्व’ को अलौकिक चमक देखिन्छ ।
त्यस्तै, ‘भ्रष्टाचार’ भन्यो भने कानुनका सुतेका आँखाहरू बिउँझेलान्, समाजमा अलिकति खैलाबैला मच्चिएला भन्ने डर पनि हुन्छ । तर, यसलाई ‘अधिकारको प्रयोग’ को लेबल टाँसिदिएपछि सारा कोलाहल मसानघाटजस्तै शान्त भइदिन्छ । देशका ठुला–ठुला ठेक्कापट्टा, नीतिगत भ्रष्टाचार र अरबौँको घोटालामा हुने कुरूप ‘सेटिङ’ सुन्दा कानुन जुरुक्क उठ्न सक्छ । तर, चतुर खेलाडीहरू त्यसलाई ‘कार्यगत एकता’ वा ‘रणनीतिक साझेदारी’ भनिदिन्छन् । अनि त त्यो राष्ट्रिय सहमतिको एउटा सुन्दर र अनुकरणीय नमुना बन्न पुग्छ ! ‘कमिसन’ शब्द पनि अलिक बजारिया, सस्तो र नाङ्गो सुनियो, त्यसैले यसलाई पनि हाम्रो सम्भ्रान्त व्याकरणले ‘नजराना’ वा ‘उपहार’ को चोखो जल छर्केर पवित्र बनाइसकेको छ । आखिर सामन्ती युगदेखि मालिकलाई नजराना टक््रयाउनु त हाम्रो रगतमा बगेको महान् सांस्कृतिक परम्परा नै त हो, होइन र ?
नामको यो जादुमयी प्रपञ्च जब सरकारी अड्डा र राजनीतिक मञ्चमा पुग्छ, तब यसले एउटा रोचक र विभेदकारी ‘भाषिक सामन्तवाद’ को रूप धारण गर्छ । यहाँ कुर्सीको न्यानोमा मच्चिने ‘हाकिम’ र जनताको रगत–पसिनाको करबाट घ्याम्पा जत्रो भुँडी पाल्ने ‘नेता’का लागि शब्दकोश नै बेग्लै छापिएको हुन्छ । निहुरिएर न्याय र सेवाको भीख माग्ने रैती ‘जनता’ र ठडिएर समयको बर्बादी गर्ने ‘शासक’ ले प्रयोग गर्ने शब्दको व्याकरण नै अलग छ ।
उदाहरणका लागि, जब कुनै ठुला हाकिम वा उच्च ओहोदाका नेता दिनभरि कार्यकक्षमा घुर्नुहुन्छ वा सामाजिक सञ्जाल स्क्रोल गर्दै घाम वा शीतल तापेर राष्ट्रिय समयको हत्या गर्नुहुन्छ, तब चाकडीबाजहरूको फौजले त्यसलाई ‘अत्यधिक कार्यव्यस्तता’, ‘गम्भीर गृहकार्य’ वा ‘आन्तरिक विचार–विमर्श’ को पगरी गुथाइदिन्छ । तर, तिनैका अघिल्तिर एउटा निमुखा, कम वेतनभोगी कारिन्दा वा सर्वसाधारण जनताले थकाइका कारण दुई मिनेटमात्रै आँखा चिम्लियो भने, उसलाई तुरुन्तै ‘कामचोरी’, ‘लापरबाही’ र ‘अनुशासनहीनता’ को डाम लगाइन्छ ।
नेताले चुनावी वैतरणी तर्न र आफ्ना कार्यकर्ताहरूलाई खुसी पार्न सरकारी ढुकुटीबाट करोडौँ रुपियाँ खैराँत बाँड्दा त्यो ‘आर्थिक सहायता’ वा ‘राहत वितरण’को लोककल्याणकारी कर्म बन्छ; तर तिनै कारिन्दाले आफ्नो पसिनाको जायज भत्ता माग्दा वा सर्वसाधारणले आफ्नो अधिकार खोज्दा त्यो ‘राज्यकोषमाथिको दोहन’ वा ‘लोभी प्रवृत्ति’ ठहरिन्छ । हाकिम वा नेताले आफ्ना अयोग्य साला–साली, भतिज–भतिजीलाई नियमको धज्जी उडाएर जागिरको भिडमा घुसारे भने त्यो ‘योग्य जनशक्तिको पहिचान र व्यवस्थापन’ को आधुनिक मोडल बन्छ । तर, तल्लो तहको एउटा कारिन्दाले आफ्नो रोजीरोटीका लागि सामान्य भनसुनको कोसिस मात्र गर्दा पनि त्यो ‘नातावाद’ र ‘घोर सामाजिक अपराध’ को श्रेणीमा पर्छ । शक्तिमा बस्नेहरूले गर्ने नीतिगत र नियतवश गल्तीहरू ‘कार्यविधिगत त्रुटि’ वा ‘प्राविधिक असमझदारी’ का नाममा गङ्गाजलले पखालेझैँ सफा हुन्छन् तर सर्वसाधारण जनताले एउटा फारम भर्दा झुक्किएर अक्षर बिगारे पनि त्यो ‘नियतवश गरिएको जालसाजी र कीर्ते’ बन्न पुग्छ ।
नामको यो जादु मानिसको व्यक्तित्व र चरित्र लुकाउने मखमली पर्दा पनि हो । हाम्रो समाजमा कतिपय यस्ता ‘पूजनीय महाशयहरू’ भेटिन्छन्, जसको कर्म कसाहीको भन्दा क्रूर हुन्छ, तर नाम भने ‘धर्मप्रसाद’ वा ‘गुनबहादुर’ राखिएको हुन्छ । दिनभरि सत्यको हत्या गर्ने, गरिबको श्रम चुस्ने, अनि नाम चाहिँ ‘धर्मप्रसाद’ ! जीवनभर कसैलाई एक चिम्टी गुन नलगाउने, समाजमा अपगुन र विकृतिको विष मात्र ओकल्ने, तर नाम चाहिँ ‘गुनबहादुर’ ! नाम र कामको यो द्वन्द्व देख्दा लाग्छ, नाम बदमासी र पाखण्ड लुकाउने एउटा बुट्टेदार ढाल मात्र हो । कर्म जतिसुकै ‘चण्डाल’ र राक्षसी होस्, नाम चाहिँ ‘कञ्चन’ वा ‘निर्मल’ भए पुग्छ किनभने समाजले नामकै आरती गर्छ ।
नामको स्वाद खानेकुराको बजारमा पनि उत्तिकै मज्जाले चाख्न पाइन्छ । महिनौँसम्म फोहोरको भाँडोमा कुहाएर, झिँगा र साङ्ला भन्काएर बेस्वाद र विषाक्त बनेको अखाद्य वस्तुलाई लिनुस् । त्यसमा अलिकति क्यान्सर निम्त्याउने रासायनिक रङ हाल्नुस्, सेतो विष मानिने चिनी टन्न मिसाएर गुलियो बनाउनुस् र त्यसलाई आकर्षक प्याकेटमा बन्द गरेर ‘पुष्टकारी’ वा ‘अर्गानिक भिटामिन’ नामकरण गरिदिनुस् । अब त्यो आधुनिक बजारको सबैभन्दा प्यारो, सम्भ्रान्त र महँगो विशिष्ट परिकार बन्यो । मानिसहरू तँछाडमछाड गर्दै, आफ्नो कमाइको ठुलो हिस्सा तिरेर त्यो कुहिएको वस्तु आफ्नो र आफ्ना छोराछोरीको पेटमा कोच्छन् । किनकि, उनीहरूले वस्तु खाएका होइनन्, उनीहरूले त ‘पुष्टकारी’ भन्ने ‘नाम’को भ्रम खाएका हुन् । नामको यो स्वादिष्ट भ्रमले मानिसको सामूहिक विवेकलाई कसरी कुहाएको छ भन्ने कुराको योभन्दा जीवन्त र दारुण उदाहरण अरू के हुन सक्छ र ?
हाम्रो शिक्षा क्षेत्र त झन् नाम बदल्ने कलाको विश्वविद्यालय नै हो । अचेल शिक्षा व्यापार होइन, ‘पवित्र सेवा’ भनिन्छ, तर विद्यालयको बिल र शुल्क सुन्दा अभिभावकको सातो जान्छ, मुटुको धड्कन बन्द हुन खोज्छ । देशको संविधानले सगर्व भन्छ– “माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुनेछ ।” त्यसैलाई आधार मानेर नियम बनाइन्छ, “विद्यार्थीसँग ‘परीक्षा शुल्क’ लिन पाइँदैन ।” तर, शिक्षाका व्यापारीहरूले टाउको कन्याए, बुद्धि लगाए र अद्भुत उपाय निकाले— “ह्या, परीक्षा शुल्क पो लिन पाइँदैन त, ‘परीक्षा खर्च’ तोकेर लिन त कानुनले रोकेको छैन नि !” अनि त के चाहियो र ? ‘शुल्क’ को ठाउँमा ‘खर्च’ शब्दको जलप लगाइदिएपछि जत्ति पनि रकम असुल्न पाइने भयो ! कानुनको कागज पनि खुसी, सञ्चालकको गोजी पनि खुसी ¤ त्यस्तै, ‘महिनावारी शुल्क’ त लिन पाइँदै पाइँदैन, लिएमा गैरकानुनी ठहर्छ । तर, त्यसको सट्टामा ‘विद्यालय सहयोग कोष’ जस्ता पवित्र र धार्मिक नामहरू राखिदिएपछि अभिभावकको खल्ती रित्याउन कुनै साइत हेर्नु पर्दैन । ‘सहयोग’ भनेपछि कुन चाहिँ इज्जतदार अभिभावकले नाइँ भन्न सक्छ र ? ‘भर्ना शुल्क’ को त झन् कुरै नगरौँ, त्यो त पुरानो र बदनाम शब्द भइसक्यो । त्यसको ठाउँमा ‘प्रवेश सहयोग’, ‘पूर्वाधार विकास कोष’ वा ‘सद्भावना सहयोग’ जस्ता कर्णप्रिय र साहित्यिक नामहरू राखेपछि ब्रह्मलुट मच्चाउन बाटो खुल्ला ! शब्दकोशका शब्दहरूलाई यसरी बङ्ग्याएर आफ्नो स्वार्थको दुहुनो गाई बनाउन सक्ने मानव मतिलाई सलाम नगरेर कसलाई गर्ने ?
राजनीतिक रङ्गमञ्चमा त नामको यो प्रहसन सीमापार नै छ । यहाँ त केवल नामकै खेती गरेर कतिले सत्ताको स्वर्णिम महल बनाए, कतिले इतिहासको पानामा आफ्नो नाम जबरजस्ती राखे । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर निर्दलीय व्यवस्था लादे । तर, त्यो निरङ्कुश र तानाशाही शासनलाई पनि ‘नेपाली माटो सुहाउँदो प्रजातन्त्र’ भनेर कति सुन्दर नामको जलप लगाइयो ! पछि त्यो पनि अलोकप्रिय र कुरूप भएपछि ‘बहुदल’ नामको नयाँ पसल खोलियो । मानिसहरूले सोचे— अब नयाँ युग आयो, राष्ट्रको मुहार फेरियो । तर, त्यो ‘बहुदल’ नामले पनि गरिबको चाहना पूरा गर्न बहाना मात्र ग¥यो ।
आज देशमा न पञ्चायत छ, न बहुदल । अहिले त हामी ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को उज्यालो र अत्याधुनिक छानामुनि छौँ । नाम कति गर्विलो, कति लामो, कति दार्शनिक र कति वजनदार ¤ तर, यति ठुलो र ठालु नाम भएर के गर्नु ? कामको हविगत, शासकीय आचरण र व्यवस्थापकीय परिणाम हेर्दा उही ‘जुन जोगी आए पनि कानै चिरेको’ उखान चरितार्थ हुन्छ । नाम परिवर्तन भयो, व्यवस्थाको साइनबोर्ड फेरियो, शासकका अनुहार र शैली फेरिए, तर सोझा र सर्वसाधारण जनताको नियति, पीडा र अवस्था जहाँको तहीँ रह्यो । भनेपछि, नामको कमाल र यसको विडम्बना कति विस्मयकारी हुँदोरहेछ है !
यसरी समग्रतामा हेर्दा, हाम्रो समाज, प्रशासन र राजनीति शब्दहरूको भ्रामक जालझेल र भाषिक कूटनीतिमा मात्रै रुमल्लिएको देखिन्छ । हामी कामको गुणस्तर सुधार्न, आचरण बदल्न र इमानदार बन्नतिर कहिल्यै लाग्दैनौँ† बरु त्यो नराम्रो र कुरूप कामलाई कुन चाहिँ राम्रो र आकर्षक नामले ढाकछोप गर्ने भन्ने कुरामा मात्र निरन्तर विद्यावारिधि गरिरहन्छौँ । सत्यलाई असत्यको र असत्यलाई सत्यको मुखौटा पहिराउन नाम नै सबैभन्दा ठुलो र अचुक हतियार बनेको छ ।
ठुलालाई चयन र सानालाई ऐन लाग्ने यो भाषिक प्रपञ्च र नामको यो मोहनी रूपबाट बाहिर निस्केर अब कामको वास्तविक र नाङ्गो धरातललाई हेर्नुपर्ने बेला आइसकेको छ । जबसम्म हामी ‘सेवा शुल्क’ भित्र लुकेको ‘घुस’को कुरूप अनुहारलाई चिन्न सक्दैनौँ, जबसम्म ‘पुष्टकारी’ भित्रको ‘कुहिएको वस्तु’ पहिचान गर्ने चेत खुला गर्दैनौँ र जबसम्म ठुलाका ‘कार्यव्यस्तता’ र सानाका ‘कामचोरी’ बिचको भाषिक सामन्तवाद बुझ्न सक्दैनौँ, तबसम्म नाम जतिसुकै अनुप्रासमय, साहित्यिक र कर्णप्रिय भए पनि हाम्रो राष्ट्रिय नियति भने सधैँ कङ्गाल र दास नै रहिरहनेछ । त्यसैले, अब नामको झुटो महात्म्य गाएर ताली पड्काउन छोडौँ र कामको नाङ्गो सत्यलाई नाङ्गो आँखाले मूल्याङ्कन गर्न सिकौँ । किनकि, भ्रमको आयु जतिसुकै लामो भए पनि त्यसले सत्यको तिर्खा मेटाउन सक्दैन
Leave a Reply