नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
बन्द भए हर्मुजको त्यो साँघुरो मुहार,
विश्व थर्कन्छ एक्कासि, मच्चिन्छ हाहाकार ।
ठप्प हुन्छन् पाङ्ग्राहरू, सुक्छन् तेलका धारा,
बदलिनेछन् यहाँ विश्व–शक्तिका सारा तारा ।
साउदी र कतारका ती सुकिला महल,
थर्कनेछन् बेसरी, सुरु हुन्छ हलचल ।
शक्तिशालीको कुर्ची अनि इजरायलको सान,
सङ्कटमा पर्नेछन्, गुम्नेछ पहिचान ।
रुसको ढुकुटीमा तेलको वर्षा हुनेछ,
चीनले आफ्नै नयाँ बाटो रोज्नेछ ।
एकध्रुवीय दम्भ तोडी नयाँ शक्ति जन्मनेछ,
इरानको त्यो हैसियत उच्च शिखर पुग्नेछ ।
तर, हेरौँ आफ्नै आँगन, आफ्नै यो देश,
परनिर्भरताको कस्तो छ यो भेष ?
चार गुणा महँगीले ढाड यहाँ सेक्नेछ,
रित्तो पेट र नाङ्गो आङ धर्तीले देख्नेछ ।
खाडीको श्रमले धानिएको यो घर,
ढल्नेछ जगैदेखि पराइको भर ।
ग्यासको त्यो सिलिन्डर रित्तो भई थन्किन्छ,
फेरि त्यही गुइँठो र दाउरा नै ब्युँझिन्छ ।
सन्देश यो छ आज— ब्युँझौँ है नेपाली,
नराखौँ यो देश सधैँ रित्तो र खाली ।
परचक्रीको तेलमा कतिन्जेल चल्ने ?
आफ्नै सेतो ढुकुटी (बिजुली) कहिले बाल्ने ?
माटो र पसिनाको नाता अब जोडौँ
अर्काको भर पर्ने त्यो बाटो अब छोडौँ ।
जसले आफ्नै पौरखमा टेक्छ यो धर्ती,
उही मात्र जोगिन्छ, जब आउँछ महाविपत्ति ।
Leave a Reply