भर्खरै :

सैद्धान्तिक मात्रै नभई व्यावहारिक शिक्षा दिनुपर्ने

सैद्धान्तिक मात्रै नभई व्यावहारिक शिक्षा दिनुपर्ने

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाका उपप्रमुख तथा ख्वप बहु–प्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा–स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्दै नागरिकले आफ्नो भाषा, संस्कृति, सम्पदालाई माया गरी सोको संरक्षण तथा संवद्र्धन गनुपर्नेमा जोड दिनुभयो ।
समाज सुधार माध्यमिक विद्यालयमा बिहीबार आयोजित स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त तथ्याङ्कको प्रस्तुतीकरण तथा जनचेतनामूलक नाटक प्रदर्शनीमा उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा मात्रै नभई व्यावहारिक शिक्षा दिन सके दिगो विकासको आधार तयार हुने र सभ्य समाज तथा नागरिक तयार हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिकाले गर्दै आएको सेवा सुविधाबारे नगरवासीलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गर्दै आएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्लले नयाँ पुस्ताले आफ्नो ज्ञानको परिधि सीमित नगरी अथाह ज्ञानको सागरबाट सकारात्मक सोच तथा संस्कारलाई आत्मसात गर्नुपर्ने बताउनुभयो । उहाँले सैद्धान्तिक शिक्षाको साथै समुदायमै रही त्यहाँको अध्ययन अनुसन्धानबाट समाजको वास्तविक चित्रको बारेमा जानकारी पाउन सकिने बताउनुभयो ।
अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूले भक्तपुर नगरपालिका वडा नं. ८ मा गरेको एक महिने सामुदायिक अध्ययनको दौरानमा सङ्कलन गरेका तथ्याङ्कले वडाको समस्या तथा सुधार गर्नुपर्ने क्षेत्रका बारेमा जानकारी दिएको बताउनुभयो ।
कार्यक्रममा नर्सिङ विभागीय प्रमुख ईश्वरी डंगोलले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नर्सिङ विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी विविध तथ्याङ्कहरू प्रस्तुत गर्नुका साथै जनचेतनामूलक नाटक र विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए ।
ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा नर्सिङ प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले सामुदायिक अध्ययनको सिलसिलामा भक्तपुर नगरपालिका वडा नं. ८ का ४०० परिवारमा स्वास्थ्यसम्बन्धी अध्ययन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *