भर्खरै :

बाजा प्रतियोगिताको लागि सांस्कृतिक गुरुहरूको भेला

बाजा प्रतियोगिताको लागि सांस्कृतिक गुरुहरूको भेला

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाले बिहीबार सांस्कृतिक गुरूहरूको भेला ग¥यो ।
नगरपालिकाको सभाकक्षमा भएको उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले जनताको सल्लाह, सुझावअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता आयोजना गरिरहेको बताउँदै जुनसुकै विधामा प्रतियोगिता गरे तापनि सोसँग सम्बन्धित विषयमा गुरुहरूसँग राय, सल्लाह र सुझाव लिने गरेको बताउनुभयो ।
भक्तपुर नगरलाई सफा र सुन्दर बनाउन सरसफाइमा विशेष ध्यान दिँंदै संस्कृति जगेर्नाको कार्य गरिरहेको उल्लेख गर्दै उहाँले संस्कृतिकर्मीहरू समाजका सम्मानित व्यक्तित्व भएको बताउनुभयो । नगरको महत्वपूर्ण मौलिक अमूर्त सम्पदा सूचीकरणका लागि निरन्तर प्रयास भइरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुर नपाभित्रका अभौतिक सम्पदाहरू कसिमला पाँय्, कवांचा प्याखं, जुजु धौ, भादगाउँले कालो टोपी, रणजीत मल्लको पुरानो दुई वटा गीतहरूको अमूर्त सांस्कृतिक सम्पदामा सूचिकृत गर्न नगरपालिका प्रयासरत छ भन्नुभयो ।
कार्यक्रममा वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, राजकृष्ण गोराले पनि बोल्नुभएको थियो । वडाका सांस्कृतिक गुरुहरू विश्वनाथ प्रजापति, कृष्णकुमार सुवाल, विष्णुप्रसाद प्रजापति, ज्ञानेन्द्र सुवाल, कृष्णगोपाल त्वायना, लक्ष्मीभक्त सिजख्व, विष्णुबहादुर मानन्धरलगायतले दाफा भजन, लालाखिं, नायखिं बाजा, मालती बाजा, पोङा बाजा प्रतियोगिता नभएकोले तीमध्ये एक वटाको प्रतियोगिता गर्न उपयुक्त हुने सुझाव दिनुभएको थियो ।
यसअघि भनपाको आयोजनामा बाँसुरी बाजा, धिमेय् बाजा, धाँ बाजा, पछिमाय् बाजा, प्रगतिशील भजनलगायतका बाजाहरूको प्रतियोगिता सम्पन्न भइसकेका छन् । आ.व. २०८२/८३ को लागि कुन बाजाको प्रतियोगिता गर्दा उचित हुने भन्ने उद्देश्यले बाजा गुरुहरूको भेला गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *