भर्खरै :

ब्रह्मचारिणी आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास

ब्रह्मचारिणी आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा–१० भुतिपाखामा ब्रह्मचारिणी आधारभूत विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास गर्नुभयो । शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्तालाई सभ्य र संस्कारयुक्त बनाउन आवश्यक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणलगायत शिक्षक तालिममा विशेष ध्यान दिइरहेको बताउनुभयो ।
विगतमा अग्रजहरूले शैक्षिक विकासको लागि स्थानीय क्षेत्रमा उपलब्ध द्योछेँ, सत्तल, पाटी पौवामा विद्यालय स्थापना गरी सञ्चालन गरेको भए पनि आजको जमानामा आधुनिक सुविधा सम्पन्न आप्mनै विद्यालय निर्माण भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो “निर्माणका साथै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्छ ।”
अग्रजहरूको योगदानले आज भक्तपुर देशकै राम्रो शैक्षिक गन्तव्य बनिरहेको चर्चा गर्दै उहाँले भक्तपुर ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास हुँदै छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वउपप्रमुख चैत्यराज शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले वाग्मती प्रदेश सरकारको रु. ३५ लाखको आर्थिक सहयोगमा उक्त भवनको पहिलो चरणको काम हुन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपा–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले उच्च शिक्षाको जग आधारभूत तहको शिक्षा राम्रो पार्न त्यसको भौतिक अवस्था पनि राम्रो हुनुपर्ने बताउनुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले विद्यार्थी न्यून हुनासाथ नजिकका ठुलो विद्यालयमा विद्यालय मर्ज गर्ने सरकारी नीति गलत भएको चर्चा गर्दै प्रयास ग¥यो भने न्यून सङ्ख्याको विद्यार्थी बढाउन सकिन्छ भन्ने उदाहरण ब्रह्मचारिणी स्कूल नै हो भन्नुभयो । उहाँका अनुसार २०७६ सालमा २ जना मात्र विद्यार्थी भएको यो विद्यालयमा अहिले कक्षा ३ सम्म ७५ जना विद्यार्थीहरू अध्ययनरत छन् ।
कार्यक्रममा प्रधानाध्यापक राधिका कोजु र पूर्वशिक्षक चन्द्रबहादुर उलकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *