भर्खरै :

आर्थिक विकासमा टेवा पु¥याउने काम सहकारीको पनि हो

  • चैत्र १९, २०८२
  • कृष्णगोविन्द लाखाजु
  • समाचार
आर्थिक विकासमा टेवा पु¥याउने काम सहकारीको पनि हो

सन्दर्भः राष्ट्रिय सहकारी दिवस–२०८२
२०८२ सालले बिदा लिँदै छ । यस अवधिमा सहकारी क्षेत्रमा धेरै उतारचढाव भएका छन् । यही सेरोफेरोमा नेपालमा सहकारी सङ्घ संस्था र सरकारी निकायहरूले ६९ औँ राष्ट्रिय सहकारी दिवस चैत २० गते विभिन्न कार्यक्रमसहित मनाउँदै छन् । नेपालको पहिलो सहकारी संस्था चितवन जिल्ला बखानपुर हुलाक सेरवासमा ‘बखानपुर सहकारी ऋण समिति’ को नाममा सहकारी विभागमा २०१३ साल चैत २० गते दर्ता भएको प्रमाणलाई आधार मानी सहकारी दिवस मनाउँदै आएको हो । राष्ट्रिय सहकारी महासङ्घले पहिलोपटक त्यस सहकारी संस्था दर्ता भएकोे पचास वर्ष पुगेको अवसरमा २०६३ सालमा काठमाडौँमा राष्ट्रिय सहकारी स्वर्ण जयन्ती मनाएपछि निरन्तर मनाउँदै आएको छ । यसको सिलसिला अहिले जिल्ला र स्थानीय तहसम्म पुगेको छ ।
नेपालमा सहकारी ऐन २०४८ लागु भएपछि जनस्तरबाट स्वस्फुर्तरूपमा सहकारी संस्था र त्यसमा सदस्यताको आबद्धता बढेको पाइन्छ । हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले प्रकाशित गरेको ‘सहकारी क्षेत्रको स्थिति पत्र’ अनुसार नेपालमा २०८२ सालसम्ममा ३२ हजार ९६५ सहकारी संस्था र १ करोड ०९ लाख ७५ हजार सदस्य आबद्ध भएको जनाएको छ । सहकारी संस्थाहरूले ११ खर्ब २५ अर्ब २८ करोड रूपैयाँ निक्षेप सङ्कलन गरी ९ खर्ब २३ अर्ब ७४ करोड रूपैयाँ ऋण लगानी गरिएको र ९० हजार २६५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथ्याङ्कले देखाएको छ । यस तथ्याङ्कबाट नेपालको वित्तीय क्षेत्रमा सहकारीको योगदान १६ प्रतिशतभन्दा बढी रहेको प्रस्ट छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँच नपुगेको गाउँ, बस्तीहरूमा सहकारी संस्थाहरूले वित्तीय सेवा पु¥याएका छन् । सदस्यहरूसँगको सामीप्यमा रही वित्तीय कारोबार गर्ने भएकोले सदस्यहरूको लागि बचत तथा ऋण सहकारी संस्था नजिकको छिमेकीसरह भएको छ  । समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरूले थोरै थोरै तर नियमित र दीर्घकालीन बचतका कुरा सदस्यहरूलाई सिकाउँछ । ‘थोपा थोपा मिली समुद्र बन्छ’ भनेजस्तै थोरै थोरै बचतबाट पनि ठुलो रकम जोहो गर्न सकिन्छ भन्ने कुरा सहकारीले बुझाउँछ । वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूले बचत गराउने मात्र होइन, सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्ने काम पनि गर्छ । सानो तिनो कार्यदेखि लिएर क्षमताअनुसारको ऋण पनि सहज रूपमा प्रदान गर्ने काम गर्छ । यति मात्र होइन सहकारी सिद्धान्तअनुसार सहकारी संस्थाहरूले आफ्नो गक्षअनुसारको सामाजिक हितका कार्यहरू पनि गरेको हुन्छ । तर, सहकारी क्षेत्रका यस्ता सवल र असल अभ्यास भइकन पनि त्यसको नाजायज फाइदा लुट्ने केही व्यक्तिहरूका कारणले सहकारी क्षेत्रलाई निन्दा गरिएको अवस्था पनि छ ।
सरकारी निकायको कमजोर नियमन, आम मानिसमा सहकारी शिक्षा तथा वित्तीय साक्षरताको कमी र अभियन्ताहरूमा सुशासनमा आएको ¥हासको कारणले पवित्र सहकारी क्षेत्रलाई केही व्यक्तिहरूले दुरूपयोग गर्ने अवसरको रूपमा लियो । सहकारी भावना र मूल्य मान्यतालाई तिरस्कार गर्दै सर्वसाधारणलाई लोभलालच देखाएर रकम बटुले र आफुखुसी रकम दुरूपयोग गर्ने सहकारी संस्थाहरूले बचत फिर्ता गर्न नसकी सङ्कटमा परेका हुन् । वित्तीय कारोबार गर्ने सहकारी संस्थाले वित्तीय अनुशासन तथा वित्तीय विश्लेषणका मापदण्ड तथा नियमहरू पालना गर्नु आवश्यक छ । जसरी मानव शरीरलार्ई तन्दुरुस्त राख्न रक्तचाप (ब्लड प्रेसर), चिनीरोग (सुगर), बाथ (युरिक एसिड) जस्ता सङ्केतहरू सन्तुलनमा राख्नुपर्छ भनेजस्तै नै वित्तीय मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले पनि त्यसका वित्तीय विश्लेषण मापनका सुचाङ्कहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ । सञ्चालकहरूको खराब नियतका अलावा त्यस्ता वित्तीय सूचकहरूलाई बेवास्ता गरेको कारणले पनि वित्तीय रूपमा मुख्य कारोवार गर्ने सहकारी संस्थाहरू सङ्कटमा परेको हो भन्न गा¥हो छैन ।
तर, केही बदमासी गर्ने सहकारीहरू धराशायी हुँदैमा समग्र सहकारी क्षेत्रलाई धमिल्याउन खोज्नु गलत हुन्छ । सहकारीका आफ्नै मूल्य र मान्यताहरू छन् । सहकारीको विश्वव्यापी सञ्जाल छ । विश्वभरि नै यसको लोकप्रियता छ । नेपालमा पनि यसको प्रभाव कम छैन । तर, नेपालमा केही गलत प्रवृत्ति र वित्तीय अपराध गर्ने खालका सहकारीको उपस्थितिले गर्दा सहकारीप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाव परेकोे हो । सहकारी भनेको स्वनियम र स्वअनुशासनमा चल्ने संस्था हो । समुदायमा आधारित रही वित्तीय अनुशासनलाई पालना गरी सञ्चालनमा रहेका वित्तीय सहकारी संस्थाहरू अहिले पनि जनतामाझ लोकप्रिय छन् ।
आर्थिक विकासमा टेवा पु¥याउने काम बैङ्क तथा वित्तीय संस्थाहरूको मात्र होइन, सहकारी संस्थाहरूको पनि हो । हाल नेपालमा १०७ वटा बैङ्क वित्तीय संस्थाहरू छन् । त्यसमध्ये अधिकांशको मुख्य कार्यालय काठमाडौँ उपत्यकामा छन् । त्यसका शाखाहरू पनि प्रायः सहरमुखी नै छन् । सहरमुखी बैङ्क तथा वित्तीय संस्थाहरूले ग्रामीण भेग तथा न्यून आय भएका जनतासमक्ष पर्याप्त बैङ्किङ सुविधा तथा आर्थिक क्रियाकलाप पु¥याउन नसकेको स्वयम् बैङ्क सञ्चालकहरू स्वीकार्छन् । बैङ्क तथा वित्तीय संस्था सञ्चालनका लागि ठुलो धनराशिको आवश्यकता हुन्छ । ठुला पुँजीमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले यथार्थमा न्यून आय भएका ग्राहक खोज्दैनन् । ठुला व्यवसायी, ठुला निक्षेपकर्ता र ठुलो रकम ऋण लिने ग्राहक मन पराउँछन् । वास्तवमा सानोतिनो कारोबारीलाई बेवास्ता गर्छन् । बैङ्कमा मालिक र ग्राहक अलग्ग अलग्ग हुन्छ । मालिकले पुँजी लगानी गर्छ ग्राहकसँग कारोबार गर्छ । ग्राहकलाई खुसी पारी नाफा कमाउनु लगानीकर्ताको मुख्य उद्देश्य हुन्छ । त्यसैले भन्ने गरिन्छ, बैङ्क भनेको ‘पुँजीवादको स्नायु’ हो ।
सहकारीका सदस्यहरू मालिक आफै हुन्छ, ग्राहक पनि आफै हुन्छ । ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मान्यताका साथ सहकारी संस्थाहरू चलेको हुन्छ । कारोबारी र लगानीकर्ता पनि सदस्यहरू नै हुने भएकाले लगानीको आधारमा मुनाफा र कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोष वितरणको बन्दोबस्त सहकारी संस्थामा हुन्छ । मुनाफा भएको रकमबाट सहकारी शिक्षा कोष, संस्थागत विकास कोष र सामुदायिक विकास कोष जस्ता कोषहरूको बन्दोबस्त पनि सहकारी संस्थामा हुन्छ । सहकारीले नाफा कमाउने मात्र मुख्य उद्देश्य राख्दैनन् । सहकारी ऐनले नै पन्ध्र प्रतिशतभन्दा बढी लाभांस वितरण गर्नबाट रोक लगाएको छ । यसको मनसाय भनेकै सदस्यहरूलाई नाफा मात्रै वितरण गर्ने होइन† सेवा प्रदान गर्ने पनि हो । सहकारीका आफ्नै मूल्य मान्यताहरू छन् । आत्म सहयोग (आफ्नो सहयोग आफै गर्ने), स्वउत्तरदायित्व (आफै जिम्मेवार, जवाफदेही), प्रजातन्त्र (सदस्यहरूले सदस्यहरूका लागि सदस्यहरूद्वारा व्यवस्थापन गरिने), समानता (सदस्यहरूबिच धर्म, जात, पेसा आदिका आधारमा भेदभाव नगरिने), समन्याय (लगानीको आधारमा बराबर प्रतिफल प्राप्ति), ऐक्यबद्धता (एकताबाट बलियो हुने विश्वास) सहकारीका आधार मूल्यहरू हुन् । जो संस्था र सदस्यबिच सम्बन्धित छ भने इमानदारिता (नीतिअनुरूपको आचरण गर्ने) खुलापन (स्वेच्छाले सदस्य बन्न र छोड्न पाउने पारदर्शी), सामाजिक उत्तरदायित्व (समाजको लागि पनि काम गर्नुपर्ने जिम्मेवारी), अरुको हेरचाह (सदस्यको हितको लागि काम गर्दा गैरसदस्यलाई आघात नपु¥याउने बरु सहयोग पु¥याउने) जस्ता नैतिक मूल्यहरू संस्था र समाजबिचको सम्बन्धसँग सम्बन्धित छ ।
यसरी सामाजिक भावना विकास गर्ने, सदस्यहरूको सांस्कृतिकस्तर तथा जीवनस्तर उकास्नेजस्ता पवित्र कामलाई प्राथमिकता दिनुपर्ने सहकारी संस्थाहरूमा केही बदमासी गर्नेहरूको प्रवेशको कारणले आजको सहकारी क्षेत्र केही बदनाम हुन पुगेको हो । त्यसलाई निराकरण गर्नको लागि आगामी दिनमा पक्षपातरहित ढङ्गले एकद्वार प्रणालीमा नियमन, अभियन्ताहरूमा सुशासनको बलियो पालना र सदस्यहरूका समाजमा रहेका व्यक्तिहरूका लागि वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिनु आजको आवश्यकता हो । साथै बचत अपचलन गर्ने सञ्चालक वा सम्बन्धित व्यक्तिहरू चाहे त्यो राजनैतिक वा सरकारी उच्चपदस्थ व्यक्ति किन नहोस् त्यस्ता व्यक्तिहरूको सम्पत्तिबाट असुलउपर गरी बचतकर्ता सदस्यहरूलाई बचत फिर्ता गर्न सकेमा सहकारीको साख आउँदा दिनमा अझ उच्च हुन्छ र राष्ट्रिय सहकारी दिवस मनाउनुको सार्थकता पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *