म भैल खः हुँ
- बैशाख ४, २०८३
हास्यव्यङ्ग्य
नेपाली वाङ्मयमा जीवनका तीन मार्ग—ज्ञान, कर्म र भक्तिको कथा केवल ग्रन्थका गफ होइनन्, घाम–पानीझैँ गहिरा गाथा हुन् । शास्त्रले शानका साथ सुनाउँछ—‘ज्ञान’ ले जागरण दिन्छ, ‘कर्म’ ले कर्तव्य पूरा गराउँछ र ‘भक्ति’ ले मोक्षको मोती सजाउँछ । तर, आजको उत्तर–आधुनिक, उथलपुथल र उछृङ्खल युगको उकाली–ओरालीमा उभिएर हेर्दा लाग्छ—यी तीनै मार्गले मानौँ मुख फेरिसकेका छन्, मानौँ अर्थले आफ्नो अनुहारै बदलिसकेको छ । अहिले ‘ज्ञान’ जति जताततै छरिएको छ, त्यति नै छिटो छरपस्ट पनि भएको छ । ‘कर्म’ जति कठोर छ, त्यति नै कटु पनि भएको छ† ‘भक्ति’ जति सरल देखिन्छ त्यति नै सरासर सफलताको सिँढी बनेको छ । आजको बजारमा ‘ज्ञान’ गफगाफका लागि गहना बनेको छ,‘कर्म’ पसिनाको परेली बनेको छ र ‘भक्ति’ प्रगतिको प्रमुख पासपोर्ट बनेको छ । त्यसैले त आजको तात्तातो तर्क यही भन्छ—जीवनको नदी तर्न ‘ज्ञानको भार’ भन्दा ‘भक्तिको बहार’ नै बढी भरोसायोग्य छ ।
ज्ञानको गाथा अहिले गुगलका गल्लीमा गुम्सिएको छ, फेसबुकका फोटोमा फिँजएको छ र टिकटकका तुक्कामा तैरिएको छ । पुस्तकालयका पानामा पालेका पौराणिक पाण्डित्त्न्दा स्टाटसमा साटिएका सस्ता शब्दहरू सर्लक्क बिक्री हुन्छन् । ज्ञान अब गहिराइको गहना होइन, देखावटीको डोको बनेको छ—बोक्दा भारी, खोल्दा खाली । महापण्डितले जीवनभर जुटेर जोगाएको ‘प्रतिष्ठा’ अहिले पाँच मिनेटको चाकरी–चातुर्यले चटक्कै चप्काइदिन्छ । यदि ज्ञानकै जोरले आरामदायी जीवन जुराउन सकिने भए, विश्वविद्यालयका विद्वान्हरू महलमा मस्ती गरिरहेका हुन्थे र नीति–निर्माणका नक्सा उनीहरूको नोटबुकमै कोरिएका हुन्थे । तर, यहाँ त ज्ञानले प्रश्न जन्माउँछ अनि त्यो प्रश्न विभेदकारी ज्ञानीको ‘ज्ञान’मा प¥यो भने प्रगति रोकिन्छ । प्रश्न गर्नेहरूमध्ये धेरैलाई प्रणालीले पाखा पार्छ, प्रशंसा गर्नेहरूलाई पुरस्कार पार्छ । त्यसैले, ज्ञान अहिले थोत्रो टोपीजस्तै भएको छ—टाउको त छोप्छ, तर घाम–पानीबाट जोगाउन सक्दैन ।
कर्मको कथा झन् कष्टकर, कठोर र कटु छ । यो बाटोमा हिँड्नेहरू बिहानदेखि बेलुकासम्म पसिनाको पोखरीमा पौडी खेल्छन्, तर प्रगतिको पोखरीमा पसेको पाइँदैन । किसानको कोदालोले खेत जोत्छ, तर फलको फाँटबारी अरूको भकारीमा पुग्छ । श्रमिकको श्रमले सहर सजिन्छ, तर उसको आफ्नै घर भने उज्यालो हुँदैन । कर्मले हातमा घाउ, निधारमा नक्सा र जीवनमा निस्सारता मात्र थप्छ । ‘दुःख गर्नेको दिन फिर्छ’ भन्ने उक्ति अहिले दन्त्यकथाको दन्तरहित दाबीजस्तो भएको छ । कर्मठहरू कछुवाको चालमा छन्—धीमा, धैर्यवान् ¤ तर दुर्भाग्यवश, गन्तव्य नपुग्दै समयको चक्रले चपेटामा पारिदिन्छ । यहाँ कर्म र फलबिचको दूरी यति दुरूह भएको छ कि पसिनाको सुगन्धभन्दा चाप्लुसीको दुर्गन्धले छिटो सफलता सुगन्धित बनाइदिन्छ ।
तर, भक्ति—यो त भोलिको बहार होइन, आजकै आधार बनेको छ । यो त शर्टकटको शान, सजिलोको सम्मान र सफलताको सुनौलो सुरुङ हो । यसको कथा केवल पुराणको पानामा सीमित छैन, यो त व्यवहारको बजारमा बिकिरहेको ब्रान्ड हो । विघ्नहर्ता गणेशको कथा यसैको कथा हो । जब सुमेरु पर्वतको परिक्रमा गर्ने प्रतिस्पर्धा चल्यो, कुमार आफ्नो मयुरमा मस्तसँग मडारिए, मेहनतमा मग्न भए, गति र गन्तव्यमा गर्व गरे । तर गणेशजी—स्मार्ट सोचका सम्राट—सीधा ‘पावर सेन्टर’ तिर लागे । बाआमाको वरिपरि परिक्रमा गरे, वाक्यमा सभक्ति वन्दना भरे र भावमा भक्ति भरे । “मेरो सुमेरु त हजुरहरू नै हुनुहुन्छ” भन्ने एक वाक्यले नै उनलाई बसीबसी विजय प्राप्त भयो । परिणाम—कुमारको परिश्रम पराजित, गणेशको चातुर्य चमत्कृत । आज पनि समाजमा ‘गणेश–मार्ग’ का यात्रीहरू गद्दीमा गद्गद् छन् र ‘कुमार–मार्ग’ का कर्मवीरहरू खाडीको खरो गर्मी खपिरहेका छन् ।
गणेशको त्यो गौरवशाली गुप्त–गुरुमन्त्र आज ‘चाप्लुसी’ को चकाचौधमा चमचम चम्किरहेको छ । गुलियो गफ, मधुर मुस्कान र मख्ख पार्ने मन्तव्य— यी नै आधुनिक भक्तिमन्त्र हुन् । “यदि भक्ति बलियो छ भने कमजोरी पनि कौशल बन्छ”— यो सूत्र अहिले कार्यालयदेखि कलेजसम्म, क्याफेदेखि क्याबिनसम्म सर्वत्र सञ्चालित छ । शक्ति–केन्द्रका सिँढीमा सुँड हल्लाउँदै, शब्द सल्काउँदै, स्वभाव सजाउँदै घुम्नेहरूको भीड यही सूत्रको प्रमाण हो ।
राजनीतिमा त भक्तिमार्ग झन् बगैँचाझैँ फस्टाएको सारालाई थाहै छ । यहाँ योग्यताको जरा सुकेको छ, जी–हजुरीको जराले जमिन जकडेको छ । सिद्धान्त सुक्यो, स्तुति फुल्यो । नीति हरायो, नारा बढ्यो । जो जति झुक्छ, ऊ उति चाँडो उठ्छ । जो जति चाप्लुसी गर्छ, ऊ उति छिटो चढ्छ । नेताको घरको कुकुरलाई ‘टाइ’ लगाउने कार्यकर्ता भोलि नीति–निर्माता बन्ने नाटक यही मञ्चमा मञ्चन हुन्छ । यहाँ चरित्र चिन्नु पर्दैन, चरित्र गाउनु पर्छ † यहाँ क्षमता चाहिँदैन, चाकरी सजाउनु पर्छ । यही नै आधुनिक ‘भक्ति–रत्नावली’ हो—जहाँ ‘चाकरी शिरोमणि’ ले शासन गर्छ र ‘सत्य शिरोमणि’ले शरण खोज्छ ।
हाम्रा अनेक धार्मिक ग्रन्थहरूले पनि भक्ति–बलकै बखान बेसरी गरेका छन् । जसलाई पनि खुसी पार्नुपर्छ । जसको पनि प्रशस्ति गाउनुपर्छ । त्यसैका लागि अनेक स्तोत्र रचिएका छन् । “जसले स्तोत्र पढ्छ, उसले चिताएको पाउँछ”– यो त हाम्रो धार्मिक सनातन सूत्र हुँदै हो । तर त्यो सूत्र अब मन्दिर तथा देवालयबाट कार्यालयमा सरेको छ र त्यो शक्तिपात्र ईश्वरबाट नेता हाकिममा रूपान्तरित भएको छ । यहाँ निराकार ईश्वरलाई त स्तुति मन पर्छ भने, साकार सत्ताधारी र सुखी मालिक–हाकिमलाई स्तोत्र किन मन पर्दैनथ्यो ¤ त्यसैले आज सर्वत्र, ‘हाकिम–स्तोत्र’ र ‘नेता–कवच’ का पाठकहरू प्रगतिका पाइलामा पखेटा लगाएर उडिरहेका छन् ।
अन्ततः, भक्ति एउटा बहुमूल्य ‘बुस्टर’ हो—जसले निर्बललाई निर्भिक, निस्सारलाई नायक र नालायकलाई नेता बनाउँछ । त्यसैले, अब ज्ञानको झन्झटमा झुन्डिनु किन ? कर्मको दलदलमा डुब्नु किन ? बरु खुरुक्क ‘गणेश–शैली’ अपनाऔँ । कसैको जुत्तामा ज्योति देखाऔँ, कसैको टोपीमा ताज टाँसौँ, कसैको भुँडीलाई भव्यता भनिदिऊँ । उपमाको उर्वर उखान उमारौँ, अनुप्रासको आकर्षक आभूषण अर्पण गरौँ । चाकरीको चास्नी चढाऔँ, सर्वत्र प्रशंसाको तेल पोखाऔँ । बस्, यति भएपछि जुनसुकै काम पनि तमाम !
कामको कसरतले यो खाइमोटाएको जीउ कङ्काल किन बनाउने ? दामी देखिनका लागि दामको दबाबले दम किन घटाउने ? हाम्रो जादुमय जिब्रो—नरम, नम्र र निपुण हुँदाहुँदै केको पीर ¤ यसैलाई नचाऔँ, यसैलाई सजाऔँ, यसैलाई सजिलै सफलताको सिँढी बनाऔँ न, सक्किगयो नि ¤ अझै याद राखौँ—यो युग ‘बुद्धि’ र ‘शुद्धि’ को होइन, ‘जुक्ति’ को जुग हो । सबैभन्दा ठुलो जुक्ति भनेकै ‘भक्ति’ को शक्ति हो । जसले यो शक्ति समात्छ, उसले सुख समेट्छ, सफलता सजाउँछ र संसारको वैतरणी सहजै तर्छ । त्यसैले—अशक्त भए पनि भक्त बनौँ र यो जीवनको प्रहसनलाई प्रशंसाको पखेटा लगाएर सफल नाटकमा रूपान्तरण गरौँ ।
Leave a Reply