म भैल खः हुँ
- बैशाख ४, २०८३
भक्तपुर, जहाँ भक्ति मात्र होइन रहेछ,
माटो, इँट अनि पसिनाबाट बनेको जीवन !
ख्वपको वसन्त, ख्वप्रिङको उर्वर भूमि,
आज पनि डिजिटल युगमा त्यसरी नै उर्लिरहेछ ।
साँझ–बिहान गल्लीहरूमा गुञ्जने दाफा भजनको त्यो गम्भीर स्वर,
खिं, ताः र झ्यालीको तालमा बाँधिएको एउटा अटुट अनुशासन !
हरेक टोलका दाफा खलः, जहाँ पुस्ताहरू सँगै बसेर राग अलाप्छन्,
त्यो केवल गायन होइन, संस्कार र सामूहिकताको एउटा पाठशाला हो ।
भजनको प्रत्येक लयले सिकाउँछ— शान्त मन र एकाग्र कर्मको मर्म ।
बिस्का जात्राको त्यो भव्यता र रथहरूको भीषण वेग,
यहाँ हरेक टोलको आफ्नै देवता, आफ्नै रथ र छुट्टै जात्रा
छ !
अष्टमातृकादेखि स्थानीय देवी–देउतासम्म जब खः (रथ) मा सवार हुन्छन्,
तब प्रत्येक गल्ली र चोकले एउटा नयाँ जिम्मेवारी पाउँछ ।
यो देवताहरूको भ्रमण मात्र होइन, समाजलाई जोड्ने एउटा कडी हो,
जहाँ ‘आफ्नो देवता’ प्रतिको अपनत्वले ‘हाम्रो सहर’ को भावना जगाउँछ ।
लिङ्गो उठ्दाको शक्ति होस् या टोलका जात्रामा काँध फेर्ने उत्साह,
जनताको एकतामा पो देखिन्छ, यो सहरको असली विवेक ।
यो केवल उत्सव होइन, होइन खाली रमाहट,
अनुशासन, प्रतीक अनि सामूहिक चेतनाको सन्देश ।
हातमा रङ्ग, मनमा ध्वनि, तर मुटुमा
जिम्मेवारीको बीउ, सधैँ कति स्पष्ट !
मन्दिरका ढुङ्गा, गल्लीका ती साँघुरा बाटा,
कथा मात्रै होइनन्, कर्मको जीवन्त सङ्गीत ।
देवता पनि यहाँ निष्क्रिय कहाँ छन् र ?
मान्छेजस्तै जिम्मेवारीमा, समाजसँगै, काममा व्यस्त ।
हरेक टोल, हरेक घर, आफ्नै भूमिकामा अडिग,
यो सहरले सिकाउँछ, सहकार्यको मर्म ।
आजका सर्जकहरू, क्यामेरा बोकेर हिँड्ने युवा,
फरक दृष्टिले हेर्छन्,
तर केवल क्लिक होइन, गहिरो अर्थ खोजिरहेछन् ।
भक्तपुर ‘City of Devotees’ मात्रै कहाँ हो र,
यो त ‘City of Doers’ हो, कर्मशीलहरूको सहर,
जहाँ भक्ति कर्ममा पो प्रकट हुन्छ ।
डिजिटल पृष्ठभूमिमा, शब्द र चित्रहरूले
यो सहरको गहिरो आत्मालाई बोलिरहन्छन् ।
हामी, सामग्री निर्माता मात्रै कहाँ ?
सन्दर्भकर्मी हौँ, अर्थका सच्चा प्रहरी ।
पुरानो ज्ञान र नयाँ प्रविधिको सङ्गममा,
असल शिक्षा दिनु नै हाम्रो हो कर्तव्य ।
सतहको चमकले मात्र पुग्दैन,
स्रोतको उज्यालो देखाउने बेला आएको छ ।
भक्तपुरको कथा –
समय, श्रम र सामूहिक चेतनाले बनेको –
आज पनि कति जीवन्त छ !
हरेक कर्मले फलको मीठो गन्ध फैलाइरहेछ ।
Leave a Reply