भर्खरै :

मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–५

  • चैत्र २३, २०८२
  • हरिबहादुर श्रेष्ठ
  • विचार
मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–५

अन्ना लुइस स्ट्रङ्ग
अन्ना लुइस स्ट्रङ्ग महिला पत्रकार हुन् । उनी पनि अमेरिकी नागरिक थिइन् । उनीले सोभियत सङ्घ र त्यसका विभिन्न गणराज्यहरूमा काम गरिन् । दोस्रो विश्वयुद्धताका अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा अणु बम खसालेर लाखौँ निर्दोष नागरिकको हत्या गरी पुस्तौँ–पुस्ता मानवीय क्षति हुने अपराध गरेपछि संसारमा परमाणु युद्धको सन्त्रास फैलियो ।
त्यस्तो सङ्कटको समयमा अन्ना लुइस स्ट्रङ्ग चीनको विकट क्षेत्र येनानको गुफामा पुगी चिनियाँ जनताका महान् नेता अध्यक्ष माओ त्से–तुङसँग आणविक अस्त्रले सुसज्जित अमेरिकाले चीनको क्रान्तिलाई पराजित गर्न सक्नेबारे जिज्ञासा राखिन् ।
माओ त्से–तुङले त्यसबेला भन्नुभयो, “आणविक हतियार अवश्य पनि विनाशकारी हतियार हो तर त्यस्ता एक–दुई हतियारले युद्धको निर्णय गर्न सक्दैनन् । अणु बम साम्राज्यवादजस्तै कागजी बाघ हो, हेर्दा डरलाग्दो छ तर त्यसमाथि विजय पाउन नसकिने होइन ।” अमेरिकी साम्राज्यवाद र अणु बमबारे माओ त्से–तुङको त्यस व्याख्याबाट संसारले आशाको नयाँ प्रकाश प्राप्त ग¥यो । समयले त्यो कुरा साबित ग¥यो र चिनियाँ क्रान्ति सफल पनि भयो । अन्ना लुइस स्ट्रङ्गले धेरै वर्ष चीनमा बसेर काम गरिन् । तिनले ‘पेकिङको चिठी’ भन्ने रचना लेखिन् । त्यस्तै ‘तिब्बतमा भू–दास उठ्दा’ र ‘चिनियाँ जनकम्युनको उत्थान’ जस्ता कृति पनि लेखिन् । त्यसमध्ये ‘लावसमा पैसा र हिंसा’ भन्ने उनको रचना महत्वपूर्ण कृति हो ।
यसरी आतङ्कित संसारलाई आशाको नयाँ उज्यालो किरण तथा सन्देश दिएर आश्वस्त पार्ने क्षमता एकजना पत्रकारले राख्दछ । साँच्चै भनूँ भने एउटा ठूलो आधुनिक हात–हतियारको पल्टनलाई पत्रकारको एउटा समाचारले पराजित गर्छ । के त्यसले पत्रकारिताको महत्वलाई दर्साउँदैन र ?
त्यति मात्र कहाँ हो र ? हिन्द–चीन अर्थात् भियतनाम, लावस र कम्बोडिया तथा त्यहाँका जनता एवम् ती देशमा फ्रान्सेली उपनिवेशवादी थिचोमिचो, जापानी सैन्यवादको आक्रमण तथा पछिल्लो समयमा अमेरिकाको हस्तक्षेप र हमलाबारे संसारलाई साह्रै कम जानकारी थियो । तर, उल्ब्रिच भन्ने एक पत्रकारको ‘मेकोङ्ग विद्रोह’ नामक पुुुस्तकले संसारलाई ती देशहरूको आँधी–बेहरीको जानकारी दियो । पुस्तकको पछिल्लो भागमा उनले अमेरिकी आक्रमण, थिचोमिचो र हस्तक्षेपको बारेमा विस्तृत रिपोर्ट दिए । कम्बोडियाका राजा सिंहानुकसँगको कुराकानीबाट ‘अमेरिकी केन्द्रीय गुप्तचर विभागसँग मेरो युद्ध’ जस्ता पुस्तक तथा लावसका राजकुमारहरूले देशको स्वतन्त्रताबारे खेलेको भूमिका र भियतनामी क्रान्तिसम्बन्धी पुस्तकहरूले संसारभरिका पाठकहरूलाई नयाँ–नयाँ जानकारी दिए ।
वर्षौँसम्मको महाविद्यालय र विश्वविद्यालयको अध्ययनमा नसमेटिएका अनेक विषयबारे एकजना पत्रकारको एउटा रिपोर्ट वा पुस्तकले ठूलो जानकारी दिन्छ । यसरी एकजना पत्रकार एउटा ठूलो पल्टन र अत्याधुनिक हतियारभन्दा शक्तिशाली देखिन्छन् । दुईवटा विशाल देशहरूको सम्बन्ध जोड्न एकजना पत्रकारले ठूलो योगदान र प्राज्ञिक सहयोग पनि पु¥याउन सक्छ ।

कानुन
प्यारा भाइबहिनीहरू,
तिमीहरूले आफ्नो पत्रमा ऐन–कानुनको अध्ययन र त्यसको महत्वबारे पनि जानकारी चाहेका थियौ । तिमीहरूको यो जिज्ञासा स्वाभाविक हो । डाक्टरहरूले रोगीको रगत, दिसा, पिसाब र अन्य परीक्षणका रिपोर्ट हेरेर रोगको निदान गरेजस्तै देशको संविधान र ऐन–कानुन हेरेर त्यसका विज्ञहरूले देशको सामाजिक, आर्थिक, राजनीतिक र वर्गीय स्थिति बताउँछन् ।
देशको ऐन–कानुन त्यस देशको धर्म र परम्परामा आधारित हुन्छ । देशको धर्म र परम्परा, रीति–रिवाज र संस्कृति उत्पादनका साधन एवम् उत्पादन सम्बन्धले निर्धारित गर्छ । संसारका हरेक धर्म सुरुमा समाजमा देखापरेका अन्याय–अत्याचार र विसङ्गतिको विरोधमा सुधारको निम्ति विकास भएको एक प्रगतिशील आन्दोलनको रूपमा प्रादुर्भाव भएका हुन् । हिन्दु धर्ममा सबैको कल्याण र परोपकार, दीन–दुःखीको सेवाको कुरा उल्लेख छ भने दास युगमा देखापरेका अनेक विकृतिको विरोधमा हिंसा नगर्नू, चोरी नगर्नू, अर्काकी स्वास्नीमाथि आँखा नगाड्नू र कसैको चित्त नदुखाउनू भनी महावीर वर्धमानको जैन र बुद्ध धर्मको विकास भएको थियो । त्यस्तै, इस्लाम धर्ममा ब्याज लिनुलाई समेत पाप भनिएको छ र इसाइ धर्ममा पनि दया, माया र परोपकारको कुरा उल्लेख छ । तर, पछि सत्तामा बस्ने वर्ग वा शासकहरूले धर्मको नाममा अन्याय, अत्याचार र शोषण गर्न लागे ।
निजी सम्पत्तिको विकास हुँदै गएपछि दास, पशु र भूमिमा स्वामित्वजस्ता थरीथरीका सम्पत्ति र विविध प्रकारका ऐन–कानुन बन्दै गए । व्यापार र उद्योगधन्दाको विकास हुँदै गएपछि सोअनुसारको ऐन–कानुन पनि बन्दै गयो । पुँजीवादको विकास हुँदै गएपछि घर र जग्गाको मात्रै होइन व्यापार, उद्योग, ऋण, ब्याज, ठेक्कापट्टा, सेवा–उद्योग, मिसावट, तस्करी, कर छली, मूर्ति चोरी, जिउ मास्ने कसुर, ठगी, नाप–तौलको समेत ऐन–कानुन र मुद्दा–मामिला देखिन थाले ।
त्यस्तै, संविधानमा राजाको अधिकार बढ्ता हुनुले समाजमा सामन्त वर्ग शक्तिशाली भएको देखाउँछ भने संवैधानिक राजतन्त्रको बन्दोवस्तले सामन्त वर्ग र पुँजीपति वर्गको मेल भयो भन्ने देखाउँछ । गणतन्त्रको बन्दोवस्तले समाजमा सामन्त, राजा–महाराजा र जमिनदारहरूको भन्दा उद्योगपति, व्यापारी, बैङ्कपति, साहु–महाजन तथा कालीगढहरूको शक्ति बढ्दै गएको देखाउँछ । यसरी ऐन–कानुन र संविधानले देशको सामाजिक, आर्थिक र राजनीतिक स्थिति प्रस्ट पार्छ । नयाँ प्रजातन्त्रको संविधानले देशमा मजदुर, किसान र राष्ट्रिय पुँजीपति वर्गको मेलमा राज्य व्यवस्था टिकेको बताउँछ । संविधान र ऐन–कानुनमा निजी उद्योग–धन्दाको अभाव, सामूहिक स्वामित्व र राजकीय स्वामित्वको प्राथमिकता एवम् प्रभुत्व, काम–मामको प्रत्याभूति, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शोषणको विरोधको अधिकारजस्ता कुरा उल्लेख छ भने त्यसले त्यो समाज समाजवादी व्यवस्थाको हो र त्यहाँको शासनमा कामदार वर्गको हुकुम रहेको हुन्छ भन्ने प्रस्ट बताउँछ ।
यस व्याख्याले ऐन–कानुन र संविधान भनेको समाज र राज्य व्यवस्थाकै ढुकढुकी नाप्ने यन्त्र भनेमा फरक पर्दैन । साथै, देश कुन दिशातिर गइरहेको छ वा देशलाई पुँजीवाद वा समाजवाद कतातिर लैजाने हो भन्ने कुरा संविधान र ऐन–कानुनको बन्दोवस्तले नै थाहा दिन्छ । यस्तो महत्वपूर्ण विषयमा ज्ञान हुनु वा अध्ययन गर्नु आवश्यक छ भन्ने कुरामा कसैको दुईमत नहोला !
भाइबहिनीहरूले सोधौला, “व्यावहारिकरूपले ऐन–कानुनको जानकारीले वा वकिल वा कानुन व्यवसायी भएर साधारण जनताको कसरी सेवा गर्न सकिन्छ ?”
देशमा बहुमत जनता निरक्षर भएको हुँदा तथा अत्यन्त बहुमत जनता कानुनी शिक्षाबाट वञ्चित भएको हुँदा सोझा–सिधा जनता जाली–फटाहाहरूबाट कानुनी ढङ्गले सताइएका र ठगिएका हुन्छन् । कारागारका साधारण बन्दीहरूको सूक्ष्म ढङ्गको अध्ययनबाट पनि बहुमत बन्दीहरू कानुनको पटक्कै ज्ञान नभएर फसेका र फसाइएका देखिन्छन् वा मुद्दाअनुसार हुनुपर्ने सजात्न्दा बढी सजाय भोगिरहेका हुन्छन् वा निर्दोष व्यक्तिहरूले सजाय भोगिरहेका हुन्छन् ।
रिसइबी र जालीफटाहाहरूको जालझेलले लास बेपत्ता पारेको नाममा कारागारमा सजाय भोगिरहेका व्यक्तिलाई लास बेपत्ता भएका भनिएका व्यक्ति स्वयम् भेट्न गएको देखिनुले मुद्दा र फैसला दुवै व्यावहारिक नभएको देखाउँछ । अर्काको धन–सम्पत्ति वा जहान–परिवारमाथि आँखा लगाउनेले झूटो ज्यान मुद्दामा फसाउँदा निर्दोष व्यक्तिले सजाय भोगिरहेको हुन्छ तर त्यसरी झूटो मुद्दा हाल्ने लोभी र अपराधी भने समाजमा ठालु भइटोपलेको हुन्छ ।
यस्तो अवस्थामा एक कानुन व्यवसायीले के–कसरी जनताको सेवा गर्न सक्छ भन्ने प्रश्न पनि तिमीहरूले गर्नेछौँ । एक–दुईवटा थप उदाहरण दिएमा तिमीहरूलाई बढी प्रस्ट हुनेछ ।
साहित्य समाजकै ऐना हुन्छ भन्ने तिमीहरूलाई थाहै छ । ‘भेनिसको महाजन’ भन्ने शेक्सपियरको एउटा नाटक छ । त्यसमा साइलक भन्ने एकजना निर्दयी महाजन थियो । सामानको नयाँ खेप र नाफाको निम्ति व्यापारी एन्टोनियोले ऊसँग ऋण माग्छ । म्यादभित्र साँवा–ब्याज तिर्न नसकेमा शरीरबाट एक पाउ मासु काट्न सक्ने सर्त त्यस साइलकले राख्छ । ऋणी एन्टोनियोले सर्त मान्छ र संयोगले उसको जहाज दुर्घटना भई भाकाभित्र ऋण तिर्न नसक्दा उसको शरीरबाट एक पाउन्ड मासु काट्ने स्थिति तयार हुन्छ । त्यस्तो अप्ठेरो स्थितिमा ऋणीको कानुनको जानकार साथीले उसको पक्षमा अदालतमा बोल्छ – ठीक छ, साइलकले एक पाउन्ड मासु काट्न सक्छ । तर, कागजमा एक पाउन्डभन्दा बढी–घटी र रगतको उल्लेख नभएको हुँदा एक थोपा रगत आउन नहुने र मासु काट्दा एक पाउन्डभन्दा अलिकति पनि घटी–बढी हुन नहुने जिकिर गर्छु । सर्तअनुसार मासु काट्ने हो भने तौलमा तलमाथि हुने र रगत आउने हुँदा साइलक जिल्लिन्छ र ऋण लिनेको जित हुन्छ । यसरी ऋणीको ज्यान जोगिन्छ ।
अर्को उदाहरण, भोलि दिउँसो १२ बजे आफ्नो छोरालाई फाँसी दिने अदालतको निर्णय सुनेर ब्याकुल आमा–बाबु एक कानुन व्यवसायीकहाँ पुग्छन् । फैसला हेरेर वकिलले सहयोग गर्ने र छोराको ज्यान बचाउने कोसिस गर्ने आश्वासन दिन्छ । भोलिपल्ट बिहान १० बजिसक्दा पनि वकिलमा मुद्दाबारे कुनै चासो, चिन्ता र हतार नदेख्दा आमा–बाबुमा रुवाबासी चल्छ । तर, वकिलले फाँसी दिने ठाउँमा फाँसीमा लट्काउनुभन्दा ५ मिनेट अगाडि फैसला हेरेर आपत्ति जनाउँदै फैसलामा ‘झुन्ड्याउनू’ भन्ने मात्र छ तर ज्यान गयो भने को जिम्मेवार हुने भनी चेतावनी दिन्छ ।
त्यहाँ खैलाबैला मच्चिन्छ अलमल हुन्छ, १०–१५ मिनेट दौडधूप चल्छ । त्यसैबेला वकिलले फेरि आपत्ति जनाउँदै भन्छ – फैसलामा ‘ठीक १२ बजे झुन्ड्याउने’ निर्णय छ तर अहिले १२ बजेर १५ मिनेट गयो, अब झुन्ड्याउन पाइँदैन ।
यसरी युवकको ज्यान बच्छ । त्यसैबेलादेखि फैसलामा ‘झुन्ड्याएर मार्नू’ भन्ने निर्णय सुनाउन थालियो वा ‘गोली हानेर मार्नू’ भन्ने निर्णय हुन थाल्यो ।
त्यस्तै, एउटा उजुरीमा अभियुक्तले उनको दायाँ हातले मारिने व्यक्तिको बायाँ हात समात्यो, उनको बायाँ हातले मर्नेको दायाँ हात समात्यो र अर्को हातले छुरा हानेर मा¥यो भन्ने झूटा मुद्दाको आधारमा कारागारमा ज्यान मुद्दा खेप्दै थिए । राजनीतिक आन्दोलनको सिलसिलामा एकजना कानुन व्यवसायी जेल प¥यो, निर्दोष अभियुक्तको कागजात हे¥यो र राजनीतिक आन्दोलन टुङ्ग्याई जेलमुक्त भएपछि वकिलले अदालतमा जिकिर ग¥यो, “श्रीमान्, मानिसको दुइटा हात हुन्छ र ‘भगवान् विष्णु’ को चार हात हुन्छ, सबैलाई थाहा छ । मेरो पक्षमाथि आरोप छ, उनको दायाँ हातले मृतकको बायाँ हात समात्यो, उनको बायाँ हातले मृतकको दायाँ हात समात्यो र अर्को हातले छुरा हानेर मा¥यो । तर श्रीमान्, मेरो पक्ष विष्णु भगवान् होइनन्, उनी निर्दोष व्यक्ति हुन् । उनको २ वटा मात्रै हात छ ।”
सम्पत्ति खाने उद्देश्यले लगाइएको उक्त भूmटो मुद्दामा निर्दोष व्यक्तिले मुक्ति पाए । यसरी ऐन–कानुन थाहा नपाएका साधारण वा निर्दोष व्यक्तिहरूलाई कानुन व्यवसायीले सेवा पु¥याउन सक्छन्, जसरी चिकित्सकले रोगीको ज्यान जोगाउन सक्छ ।
तिमीहरूले फेरि प्रश्न गरौला, “के संसारमा कानुन अध्ययन गरेका ठूल्ठूला र असल व्यक्तिहरू पनि छन् ? २–४ जनाको नाम थाहा पाउन सके हुन्थ्यो ।”
त्यसो त तिमीहरूलाई थाहै होला – संरा अमेरिकी राष्ट्रपतिहरूमध्ये झन्डै आधा कानुनका विद्यार्थी थिए भने आधा सेनाबाट आएका थिए । त्यस्तै, भारतका महात्मा गान्धी, सुभाषचन्द्र बोस, जवाहरलाल नेहरू र झन्डै २० वर्षसम्म पश्चिम बङ्गालको वामपन्थी सरकारका मुख्यमन्त्री भएका ज्योति बसु कानुनका विद्यार्थी थिए । कानुनका विद्यार्थीहरू राजनीतिमा गए वा व्यवस्थापिकामा पुगे दोहोरो अर्थ नलाग्ने, छिद्रहरू नभएका, प्रस्ट र समस्या समाधान हुने खालका विधेयक तथा ऐन–कानुन बन्नेछन्† देशको निम्ति उपयुक्त र राम्रो संविधान निर्माणमा महात्मा गान्धी, सुभाषचन्द्र बोस र जवाहरलाल नेहरू सहयोग पुग्नेछ । कानुनका राम्रा–राम्रा प्राध्यापकहरू भएमा कानुनका प्रतिभाशाली विद्यार्थीहरू उत्पादन हुनेछन् । प्रशासनमा कानुनका विद्यार्थी भए जनतामाथि कानुनविपरीतका काम कम हुने आशा गरिन्छ ।
भाइबहिनीहरूले सुनेकै हौला – संरा अमेरिकाको संविधान २०० वर्षपछि पनि साह्रै कम संशोधन भएको र संसारको एक नमुना संविधान मानिन्छ । त्यस संविधानका निर्माताहरूमा आधाभन्दा बढी कानुन–व्यवसायी र ज्ञाताहरू थिए । समाज छिटोछिटो परिवर्तन भइरहेकोले निर्माण कार्य, व्यापार, उद्योग, खाद्यान्न, खाद्यवस्तु, स्वास्थ्य वा चिकित्सा आदि क्षेत्रमा पनि अनेक मुद्दा–मामिलाको सम्भावना बढ्दै जाने हुँदा हरेक विषयमा ऐन–कानुनका ज्ञाताहरूको खाँचो बढ्दै जानेछ । त्यतिमात्रै होइन डाक्टर, इन्जिनियर र अन्य विषयका विशेषज्ञसमेत कानुनको कक्षामा सामेल हुनुपर्ने परिस्थिति बढ्दै जानेछ ।
विदेशसँगको सम्बन्ध विकास गर्न तथा आफ्नो देश र जनताको हितलाई सुनिश्चित गर्न आफ्नो एवम् सम्बन्धित मित्र देशहरूका संविधान र ऐन–कानुन तथा अन्तर्राष्ट्रिय ऐन–नियम, सन्धि–सम्झौताहरूका समेत जानकार हुनु आवश्यक छ । त्यसो त पहिले राजदूतलाई समेत ‘वकिल’ भनिन्थ्यो । सीमा विवाद, नदी–नालाको पानीको उपयोग, सीमामा बन्ने बाँधहरू तथा साझा नदीहरूबाट उत्पादन हुने विद्युत्, सिँचाइको पानी वा पानीका अन्य उपयोगबारे सीमा जोडिएका र एक देशबाट अर्को देशमा बग्ने नदी–नालाबारे बरोबर विवादहरू भइरहन्छन् ।
सोभियत सङ्घ र समाजवादी चीनकै बिचमा उत्तर–पूर्वको उसुरी नदी र चेन्पाओ टापुको निम्ति सशस्त्र सङ्घर्षसमेत भयो । त्यस्तै, भारत र बङ्गलादेशबिच गङ्गा नदीको पानीको उपयोगबारे मात्र होइन† भारतकै नर्मदा, कृष्णा र काभेरी नदीको पानीको उपयोगमा भारतकै प्रान्तहरूबिच विवाद हुने गर्छ । भारतसँग कोशी र गण्डक नदीको सम्झौतामा नेपाल ठगिएको छ वा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूसँग दाँज्दा असमान सन्धिहरू भएका छन् ।
टनकपुर सन्धिमा पनि नेपालको पानी र भूमिको हक मिचिएको छ । देशका ‘राष्ट्रिय’ पुँजीवादी पार्टीहरूले आँखा चिम्लेर भारतसँग महाकाली सन्धि गरेर नेपालको लिम्पियाधुरा र कालापानीको हजारौँ हेक्टर जग्गा अनिर्णयको स्थितिमा पु¥याए । भारतले नेपालसँग सहमति नलिई लक्ष्मणपुर, रसियावाल–खुर्दलोटन, कोइलाबास लगायतका बाँधहरू बनाउन हुने थिएन । भारतले अनेक अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र ऐन–कानुन मिचेर काम ग¥यो, गर्दै छ । तर, सरकारमा बस्ने मन्त्रीहरू खास गरेर सीमा, जलस्रोत र परराष्ट्र मन्त्रालयका जिम्मेवार व्यक्तिहरू कानुनका विद्यार्थी नहुनाले वा देशभक्त नहुँदा नेपालले आफ्नो भूमि र अधिकार गुमाउँदै छ ।
जीवनको हरेक क्षेत्रमा ऐन–कानुनको महत्व बढ्दै गएको हुँदा कानुनका विद्यार्थी र ज्ञाताहरूको आवश्यकता पनि बढ्दै जानेबारे कुनै शङ्का छैन ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *