भर्खरै :

ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको वार्षिकोत्सव सम्पन्न

ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको वार्षिकोत्सव सम्पन्न

भक्तपुर, २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २६ औँ, ख्वप कलेजको २४ औँ, शारदा क्याम्पस माविको १८ औँ र ख्वप कलेज अफ ल को तेस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा गुणस्तरीय शिक्षाको खाँचो भएको बताउनुभयो ।
वर्तमान शिक्षा नीतिले व्यवहारिक र वैज्ञानिक शिक्षा दिन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम बन्नु हुँदैन, जिम्मेवार र सक्षम नागरिक बनाउने उद्देश्य शिक्षाको हुनुपर्छ ।”
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
ठुला राष्ट्रहरूको प्रभावमा परेर निर्णय गर्नु उपयुक्त हुँदैन । राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्छ, उहाँले थप्नुभयो ।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आर्थिक प्रतिस्पर्धा र भू–राजनीतिक तनावले साना तथा विकासशील राष्ट्रहरूमा समेत प्रभाव पारिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विश्व राजनीतिले नेपाललाई पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा असर गरिरहेको छ, त्यसैले हामी सचेत हुनु जरुरी छ ।”
नेपालमा नयाँ सरकार गठनको प्रक्रियाबारे चर्चा गर्दै राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार स्थिर र उत्तरदायी सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । बारम्बार हुने सत्ता हेरफेरले विकास र नीतिगत स्थिरतामा असर पार्ने भन्दै उहाँले स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणसहित सरकार अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
स्थानीय उत्पादनको प्रवद्र्धनमार्फत मात्र देशको आर्थिक विकास सम्भव हुने भएकोले विदेशी वस्तुमा निर्भरता घटाउँदै नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
विद्यार्थीहरूलाई पाठ्यक्रममा मात्र सीमित नराखी साहित्यिक तथा समसामयिक पुस्तकहरू अध्ययन गर्न उत्प्रेरित गर्नुपर्ने सुझाव दिँदै उहाँले विद्यार्थीको दृष्टिकोण फराकिलो बनाउन शिक्षक, प्राध्यापकले मेहनत गर्नुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले नयाँ पुस्ताको भविष्य, शिक्षा प्रणाली र वर्तमान राजनीतिक–सामाजिक अवस्थाबारे चिन्ता व्यक्त गर्नुभयो ।
युवापुस्तालाई सही दिशामा लैजान आवश्यक रहेको चर्चा गर्दै सांसद गोसाईले वर्तमान अवस्थालाई चिन्तनमनन गर्नुपर्ने र नयाँ पुस्तालाई केवल औपचारिक शिक्षामा सीमित नराखी वास्तविक जीवनका अनुभवसँग जोड्नुपर्ने सुझाव दिनुभयो ।
शिक्षकहरूको भूमिकालाई विशेष जोड दिँदै विद्यार्थीलाई देशप्रेम विषयमा सचेत गराउनु आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देश जोगाउन विद्यार्थीहरूलाई सानै उमेरदेखि देशभक्तिपूर्ण भावना दिन आवश्यक छ । हाम्रा विद्यार्थीहरूलाई इतिहास, संस्कृतिको अध्ययनमा उत्साहित गर्दै नागरिक भावना दिनु राज्यको दायित्व हो ।”
सरोकारवालापक्ष र शिक्षाविद्हरूसँग परामर्श नगरी शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयप्रति विमति राख्दै सांसद गोसाईले प्रश्न गर्नुभयो, “पश्चिमा देशमा अध्ययन गरेर आएका सल्लाहकारहरूबाट प्रभावित भएर यो निर्णय गरिएको हो भन्ने यसले देशको शिक्षा क्षेत्रलाई थप समस्यामा पार्नेछ ।”
उहाँले देशप्रेम इरानी जनताबाट सिक्नुपर्ने बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी सभ्यता नाश गर्ने धम्की दिनेबित्तिकै असङ्ख्य इरानी महिला, युवा, बालबालिका आत्मबलिदानको भावनाससहित प्रतिकारमा उत्रेको घटना अभूतपूर्व रहेको दाबी गर्नुभयो ।
शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति तथा ख्वप सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप मा.वि.÷कलेज स्थापनाको घटना स्मरण गर्दै ख्वप आजको अवस्थामा आइपुग्नु शैक्षिक क्षेत्रमा विशेष उपलब्धि भएको बताउनुभयो ।
भक्तपुर ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास स्थापना हँुदै गएको र शैक्षिक क्षेत्रमा ख्वपको योगदान विशेष रहेको उहाँले बताउनुभयो ।
विद्यार्थी सङ्ख्या घट्नुका कारणहरूको चर्चा गर्दै प्रमुख प्रजापतिले सरकारले विदेशी विश्वविद्यालयलाई सञ्चालन गर्न अनुमति दिनु स्थानीय रूपमा सञ्चालित शैक्षिक संस्थामाथि अङ्कुश लगाउनु हो भन्नुभयो ।
शैक्षिक क्षेत्रको विकास गर्न परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको चर्चा गर्दै उहाँले नेपाल विदेशीको लागि सस्तो कामदार उत्पादनको थलो बन्न सक्नेबारे खतरा रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले शुभकामना दिँदै बिस्का जात्राबारे विशेष चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले समयको मागअनुसार शैक्षिक क्षेत्रमा पनि परिर्वतन आवश्यक रहेको चर्चा गर्नुभयो ।
समय परिवेशको मागअनुसार परिवर्तन हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले विद्यालय/कलेजको वाषिक प्रगति विवरण पेस गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, दस वर्ष र २५ वर्ष सेवा अवधि पूरा भएका शिक्षक कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा ख्वप इन्कुवेसन ल्यावको आयोजनामा चौथो ख्वप हाट बजार पनि आयोजना भएको थियो ।
हाट बजारमा ५२ वटा स्टलहरू राखिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूबाट सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *