भर्खरै :

आफ्नो देशमा वस्तु र सेवा उत्पादन बढेमा महँगी नियन्त्रण

आफ्नो देशमा वस्तु र सेवा उत्पादन बढेमा महँगी नियन्त्रण

भक्तपुर, २६ चैत । सिकर्मी सङ्घ भक्तपुरको आयोजनामा बिस्का जात्रा तथा नव वर्षको उपलक्ष्यमा बिहीबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले विदेशी ऋण बढेसँगै महँगी पनि बढ्दै आउने उल्लेख गर्दै आफ्नो देशमा वस्तु र सेवा उत्पादन बढेमा महँगी नियन्त्रण हुने बताउनुभयो ।
नेपालको नदीनालाबाट नेपालीकै लगानीमा जलविद्युत् उत्पादन गरिएको भए ग्यास र तेल आयातमा भइरहेको व्यापार घाटा नबढ्ने र महँगी पनि नियन्त्रण हुने सचिव सुवालको भनाइ हो ।
उहाँले मूल्यवृद्धिसँगै गरिब झन्झन् गरिब हुने भएकोले सरकार जनताप्रति जवाफदेही भएर गरिबी नियन्त्रण गर्नेतर्फ लाग्नु जरुरी छ भन्नुभयो ।
मूल्यवृद्धि र आर्थिक सङ्कट रोक्न अर्थतन्त्र मुठीभर व्यक्तिको कब्जामा होइन समाजको नेतृत्वमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यस्तो समाज व्यवस्थामा मात्र महँगी नियन्त्रण र करमुक्त हुने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुराना सरकारहरूले देशलाई विदेशी ऋणको जालमा फसाएको विरोध गरी चुनाव जितेको नयाँ सरकारले १२ दिनमा देशमा थप ४० अर्ब १९ करोड रुपैयाँ बढाएको सार्वजनिक भयो । सरकारको नेतृत्व गर्नेहरूले नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद नभएको बताएको सार्वजनिक भयो । पुरानै काम गर्ने भए नयाँ सरकार बन्नुको के अर्थ होला ?”
“संरा अमेरिकाको ट्रम्प प्रशासनले इरानमा सैन्य हमला र आक्रमण गरेको कारण इन्धन अभाव हुँदा नयाँ सरकारले सार्वजनिक यातायात क्षेत्रमा यात्रु बोक्नेको १६.७१ प्रतिशत, सामान बोक्नेको पहाडमा २१ प्रतिशत र तराईमा १५.७५ प्रतिशत भाडा बढाएको सार्वजनिक भयो । यसले उपभोग्य सामानको मूल्य बढ्ने छ, गरिबी पनि बढ्ने भयो । ट्रम्पको युद्धको विरोधमा इरानी जनताको देशभक्ति नेपाली जनताले पनि सिक्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।
सचिव सुवालले सबै पेसाका कामदारवर्गबिच देश र विदेशको वर्तमान अवस्थाबारे छलफल चालू राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले देशको समस्या समाधान गर्ने पहिलो प्राथमिकता सरकारको हुने भएकोले विभिन्न बाधाहरूको निक्र्याेल गरेर सरकारले व्यवस्था गर्न सकिने भएकोले नेपालमा स्वदेशी सामानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला अध्यक्ष विष्णुराम दुमरुले नेपाल सरकारले विदेशी ऋणभन्दा पनि आफ्नै देशको स्रोत साधनलाई प्राथमिकतामा राखेर काम गर्न सकेको खण्डमा मूल्यवृद्धि नियन्त्रण हुने बताउनुभयो ।
कार्यक्रमका सभापति विक्रम ढुकुछुले विभिन्न फर्निचरका कच्चा पदार्थ सामानको १० प्रतिशतदेखि ५० प्रतिशतसम्म मूल्यवृद्धि भएकोले उत्पादित फर्निचरका सामानमा पनि १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल, सचिव पुण्यराम न्हुछे, कार्य समिति सदस्य विष्णुसुन्दर देशेमरु र सदस्य रोशन बागले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *