नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले केटाकेटीहरूलाई कडा नियन्त्रणमा राखेर हुर्काउन नहुने बताउनुभएको छ ।
स्थानीय लिबालीस्थित ख्वप्रिङ इङ्गलिस एकेडेमीको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विशेष समारोहमा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।
विद्यार्थीहरूको सांस्कृतिक वाद्यवादनको पृष्ठमा कलात्मक दीप प्रज्ज्वलन गरी समारोहको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हिजो आमाबाबु शिक्षक शिक्षिकाहरूसँग केटोकटीहरू डराउँथे, केटाकेटीलाई कुटेर, पिटेर, तर्साएर हुर्काउने दिन गए अब भयरहित वातावरणमा बालबच्चा हुर्काउने बेला हो ।”
नेवारहरूको बाहुल्यता भएको यो क्षेत्रमा हिजो नेपाली भाषा बोल्न पनि नेवारहरू डराउँथे । तर अहिले स्थिति त्यस्तो छैन भन्दै उहाँले भन्नुभयो, “अब त नेपाली भाषामात्र हैन अङ्ग्रेजी भाषामै पनि निर्धक्कसित बोल्ने भए नयाँ पुस्ता । भाषाकै कारण विगतमा जस्तो अब हीनताबोधको स्थिति छैन ।”
शिक्षकले विद्यार्थीलाई र आमाबाबुले छोराछोरीलाई कडा नियन्त्रणमा राखेर हुर्काउन वा पढाउन खोेजे नयाँ पुस्ताको प्रतिभा कुण्ठित हुनसक्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले एउटा निश्चित सीमाभित्र स्वतन्त्रतापूर्वक उनीहरूलाई हुर्कने अवसर दिनुपर्छ भन्नुभयो ।
केटाकेटीलाई गुलियो धेरै खुवाउँदा गुलियोको शक्ति खर्चनकै लागि पनि केटाकेटीहरू धेरै चुलबुल गर्छन् त्यसैले खेल्ने अवसर दिनुपर्छ भन्दै उहाँले गुलियो धेरै खुवाउँदा बच्चाबच्चीको दात बिग्रिने खतराप्रति सचेत हुनुपर्छ भन्नुभयो ।
बाल विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूद्वारा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाव दिँदै उहाँले कतिपय कुरा शिक्षक अभिभावकको कुरा नमान्ने बच्चाहरू पनि डाक्टरका कुरा मान्छन् भन्नुभयो ।
त्यस्तै खानेकुराको सचेतनाको लागि पोषणविद्हरूलाई बोलाई अभिभावकहरूलाई कक्षा लिन पाए अझ राम्रो हुने चर्चा गर्दै उहाँले हाम्रो भविष्य हाम्रो नयाँ पुस्ताप्रति सबैले चिन्ता र चासो राखे भोलिको समाज अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले समाजमा खराब नियतका मानिसहरू रहने चर्चा गर्दै लिबाली क्षेत्रमा लागूपदार्थको आपराधिक गतिविधि हुन थालेकोमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका सल्लाहकार ज्ञानसागर प्रजापतिले केटाकेटीलाई माया गरेर जङ्क फुड खुवाउनु उनीहरूको स्वास्थ्यमाथि खेलबाड गर्नु हो भन्दै आफ्ना सन्तानलाई अरूसँग दाँजेर कहिल्यै नहोच्याउनुहोला, बरू छोराछोरीले गर्ने सानो कामको पनि प्रशंसा गर्न नभुल्नु होला भन्नुभयो ।
उहाँले वर्तमान बालेन सरकारको निर्वाचन वाचापत्रमा शिक्षक–विद्यार्थीलाई राजनीतिक आबद्धता निषेध गर्ने उल्लेख भएको चर्चा गर्दै निषेधको राजनीतिले विस्फोट निम्तिन सक्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रिन्सिपल विनोद प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कार्यक्रममा अभिभावक प्रतिनिधि सुरेन्द्र जाकिबन्जार, संस्थागत विद्यालय सङ्घ (इसान) भक्तपुरका अध्यक्ष कृष्णराम त्वानावासुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
‘ख्वप्रिङ’ स्मारिका विमोचन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका व्यवस्थापक कृष्णसुन्दर प्रजापति र विद्यार्थी प्रतिनिधि अमृत प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयद्वारा आयोजित खाद्य महोत्सवका सहयोगी विभिन्न जातजातिका अभिभावकहरूलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो भने दीर्घ सेवा गर्ने शिक्षक कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।
Leave a Reply