भर्खरै :

नयाँ पुस्तालाई स्वयम्सेवक भावनाको विकास गर्नुपर्ने

नयाँ पुस्तालाई स्वयम्सेवक भावनाको विकास गर्नुपर्ने

भक्तपुर, २६ चैत । साइनिङ स्टुडेन्ट एकेडेमीको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्वलित गरी एक समारोहबिच गः पलीमा बिहीबार उद्घाटन गर्नुभयो ।
प्रिस्कूलका विद्यार्थीहरूलाई दीक्षित गर्नुका साथै स्कूल बाहिरको विभिन्न प्रतियोगिता, विभिन्न विधाका साइनिङ हिरो अफ दि २०८२ का विद्यार्थीहरूलाई अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडाध्यक्ष उपेन्द्र सुवाल र अभिभावक सङ्घ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा अतिथि प्रजापतिले विद्यार्थीहरू देशका कर्णधार भएको उल्लेख गर्दै निरन्तर मेहनत गरे सफलता पाउने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई स्वयम्सेवक भावनाको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफै सरसफाइ गर्ने, श्रमदान गर्ने र सेवा गर्ने संस्कारको विकास गर्ने व्यवहार गर्न सिकाउनुपर्ने बताउनुभयो ।
उहाँले भेषभूषा, रहनसहन, लवाइ खवाइ र चाडबाड, मठमन्दिर र विभिन्न व्यक्तित्वहरूबारे जानकारी दिन र सिकाउन स्थानीय पाठ्यक्रम प्रकाशित गरेको बताउनुभयो ।
उहाँले खेलकुदबाट अनुशासनमा बस्ने, नियम थाहा हुने र स्वस्थ हुने भएकोले खेलकुद प्रतियोगिता आवश्यक भएको बताउनुभयो । उहाँले भोलिको समाज राम्रो बनाउने काम आजका बालबालिकाले गर्ने उल्लेख गर्दै राम्रो व्यवहार र असल संस्कार सिकाउनुपर्ने बताउनुभयो । उहाँले अभिभावक र शिक्षकहरूले बालबालिकाहरूले गर्न हुने र गर्न नहुनेबारे सिकाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा क्षेत्रमा मात्र नभई विद्यालयले अतिरिक्त क्रियाकलाप नाचगान, खेलकुद र बाहिरको अतिरिक्त क्रियाकलामा धेरै पदक जित्न सफल भएकोमा बधाई दिँदै यसले सीप विकास हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र सीपमूलक तालिममा ध्यान दिएको बताउँदै शिशुस्याहारदेखि उच्च शिक्षा हासिल गर्न ख्वप कलेज, इन्जिनियरिङ कलेज, नर्सिङ कलेजहरू सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।
अभिभावक सङ्घ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले विद्यालयले टोल तथा समुदायको शैक्षिक विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै एउटा असल विद्यालयले किताबको ज्ञान मात्र होइन, संस्कार, अनुशासन र जिम्मेवारी पनि सिकाउँछ भन्नुभयो । उहाँले समाजका उज्ज्वल भविष्य आजका बालबालिका भएको बताउँदै सानैदेखि सिकेको राम्रो बानी, अनुशासन र शिक्षा जीवनभरको सम्पत्ति हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी छुस्याकीले साइनिङ स्टुडेन्टस् एकेडेमीको स्थापना कालदेखि व्यावहारिक र गुणस्तरीय शिक्षाको लागि हाम्रो विद्यालय भन्ने मूल नारा लिई भक्तपुरको एक नमुना विद्यालय बनाउने ध्येले स्थापित भएको बताउनुभयो । उहाँले समयको मागसँगै स्तरीय शिक्षासँगसँगै व्यवहारिक एवं नैतिक शिक्षा विद्यार्थीहरूलाई दिन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालयका प्रिन्सिपल रविन छुस्याकीले विद्यार्थीहरूको चौतर्फी विकास गर्न विद्यालयले पढाइलाई गुणस्तरीय बनाउन लागिपरेको बताउनुभयो । कार्यक्रममा शिक्षिका प्रिया भट्टले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *