भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, २६ चैत । “आधारभूत शिक्षा नै विद्यालयको जग भएकोले व्यवहारिक ज्ञानसहित अध्ययन अध्यापनमा जोड दिन सके युग सुहाउँदो विद्यार्थी तयार हुनेछन् । ती विद्यार्थीहरूलाई विज्ञान र प्रविधिमा पनि पोख्त बनाउनुपर्दछ ।”
उक्त विचार भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यार्थी निकेतन माध्यमिक विद्यालय, साकोठा भक्तपुरको आयोजनामा सम्पन्न सम्मान, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा बताउनुभएको हो ।
काम गरी खाने विद्यार्थीहरू प्रायः सामुदायिक विद्यालयमा अध्ययन गर्ने हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्दै सम्पूर्ण नागरिकले शिक्षाको समान अधिकार पाउनुपर्ने मौलिक हक सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण कार्य गरिरहेकोे उहाँले बताउनुभयो ।
उहाँले नैतिक र सामाजिक शिक्षालाई अवमूल्यन गरिँदा समाजमा बेथिति र अपराधको घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै हाम्रा पाठ्यपुस्तकले सामाजिक समस्या अन्त्य गर्न र अनुसन्धानमूलक शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले बिस्केट जात्रा एक वैज्ञानिक र इन्जिनियरिङ शिक्षाले भरिपूर्ण भएको हुँदा यसबारे विभिन्न दृष्टिकोणबाट अध्ययन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यालय र अभिभावकको जीवन्त सम्पर्कले शिक्षाको स्तर उकास्न मद्दत हुने विचार राख्दै विद्यालयको विकासको लागि भौतिक शक्तिमात्र नभई अन्तरवैयक्तिक शक्तिको पनि आवश्यकता रहने कुरा औँल्याउनुभयो ।
विद्यालयका पूर्वप्रअ नरेन्द्रभक्त हाडाले शिक्षकको सम्पत्ति भनेकै विद्यार्थीको सफलता भएको र यसले नै आत्मगौरव प्रदान गर्ने बताउनुभयो ।
उहाँले व्यापक जनताका छोराछोरी पढ्ने विद्यालयलाई स्तर उठाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा विचार राख्नुभयो ।
उक्त कार्यक्रममा पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिवीर कर्माचार्यले विनातयारी र हचुवाको भरमा सरकारले ल्याएको दुई दिन बिदा दिने नीतिले शैक्षिक क्षेत्रलाई थप हानि पु¥याउने धारणा राख्नुभयो ।
उहाँले विद्यार्थीहरूले आराम गर्न नहुने कुरा ‘आराम हाराम’ भन्ने भनाइले चरितार्थ गर्ने बताउनुभयो ।
संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुइँतुई र कक्षा ११–१२ स्तरीय संयुक्त परीक्षा समितिका अध्यक्ष चक्रबहादुर चाकतुले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका पूर्वप्रअ नरेन्द्रभक्त हाडालाई विद्यालयमा पु¥याउनुभएको अतुलनीय योगदानको सम्मान गर्नुका साथै विद्यालयको छात्रवृत्ति कोष स्थापनार्थ योगदान दिनुहुने सिद्धिवीर कर्माचार्य, कृष्णप्रसाद रिमाल, जयन्त पौडेल, कृष्णलाल प्रधानलाई विद्यालयको तर्फबाट अतिथि रजनी जोशीले कदरपत्र प्रदान गर्नुभयो ।
सो कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नुका साथै विभिन्न शीर्षकमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । शिक्षक उद्धव दाहाल र शिक्षिका संगीता कायष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply