भर्खरै :

प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा सम्पन्न

प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा सम्पन्न

भक्तपुर, २७ चैत । प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा तौमढी सम्पन्न भयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा साझा जात्रा भएको उल्लेख गर्दै यो ८ रात ९ दिनसम्म चल्ने जानकारी दिनुभयो । उहाँले भक्तपुर सम्पदाको सहर भएकोले विश्वको ध्यान आकर्षित भएको र पर्यटकहरूको उल्लेखनीय उपस्थितिले जात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउँदै लगेको बताउनुभयो । सभ्य र भव्य रूपमा जात्रा मनाउन सबै पक्षबिच समन्वय भइरहेको र दुर्घटनाप्रति सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख रजनी जोशीले बिस्का जात्रा सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै पुर्खाले सिर्जेको सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
उहाँले जात्राको सांस्कृतिक महत्व उल्लेख गर्दै रथ निर्माणमा संलग्न व्यक्तिहरूलाई इन्जिनियरिङ सरहको दक्षता भएको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बिस्का जात्रालाई हर्षोल्लासपूर्ण र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो । उहाँले भक्तपुरको जात्रा आकर्षणको केन्द्र बनेको उल्लेख गर्दै गलत गतिविधि निरुत्साहित गर्नुपर्ने र विशेषगरी युवाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै रथमा जुत्ता–चप्पल लगाएर नचढ्न र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभयो । ढुङ्गामुढा गर्ने व्यक्तिलाई प्रहरीको निगरानीमा राखिने चेतावनी पनि दिनुभयो ।
गुठी संस्थान कार्यालय भक्तपुरका आनन्द कर्मचार्यले जात्रालाई अझ उल्लासमय बनाउनुपर्नेमा जोड दिँदै तयारीका विषयमा जानकारी गराउनुभयो ।
उहाँले रथ तान्ने कार्य दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै योगेन्द्रमान बिजुक्छेले जात्रा पर्व मात्र नभई उत्सव भएको उल्लेख गर्नुभयो ।
उहाँले भाइचाराको भावना अभिवृद्धि गर्ने माध्यमका रूपमा जात्राको महत्व रहेको बताउँदै टोल–टोल र गल्ली–गल्लीमा समेत मनाइने भएकाले यसको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *