मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २७ चैत । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बिस्का जात्रा, नव वर्ष २०८२ सालको शुभकामना आदान–प्रदान एवम् डकर्मी भित्तेपात्रोको विमोचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “नेमकिपाका कार्यकर्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय अध्ययन गर्नु आवश्यक छ । नेपालमा यतिखेर इन्धनको अभाव र महँगी हुनु अन्तर्राष्ट्रिय कारण हो । संरा अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुयला र इरानमा सैन्य हमला नगरेको भए अहिलेको आर्थिक सङ्कट यतिधेरै बल्झिने थिएन ।”
ट्रम्प प्रशासनले नै इरानको इन्धन कब्जा गर्न इरानमा सैन्य आक्रमण गरेको र इरानले ट्रम्प प्रशासनलाई जवाफ दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ट्रम्प प्रशासनले इरानको आणविक प्लान्ट र महत्वपूर्ण पुलमा आक्रमण गर्ने चेतावनी दिएपछि सम्पूर्ण इरानी जनता सडकमा ओर्लेर ट्रम्प प्रशासनको विरोधमा देशभक्ति प्रदर्शन गरे । अन्ततः ट्रम्प प्रशासन १५ दिन युद्धविराम गर्नुपर्ने अवस्थामा पुग्यो ।”
उहाँले थप्नुभयो, “सन् १९६५–७५ को भियतनाम युद्ध पनि संरा अमेरिकी सरकारले सुरू गरेको थियो । त्यसबेला संरा अमेरिकी सैन्य कमान्डरहरूले भियतनाम युद्धमा जान अस्वीकार गरेका थिए । अहिले पनि इरानसँग युद्ध गर्न संरा अमेरिकाको सेना प्रमुख र सैनिक अधिकारीहरूले एक हप्ताअघि राजीनामा दिएको सार्वजनिक भयो ।”
ट्रम्प प्रशासनले नै इरान युद्ध सुरू गरेकोले इरानलाई क्षतिपूर्ति दिएर अब उप्रान्त इरानमा सैन्य हमला नगर्ने प्रत्याभूति दिनु आवश्यक भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “इन्धन अभाव र महँगीले नेपालको जनजीवन पनि कठिन भइरहेको छ । यो सरकार बहालीको १४ दिनयता इन्धनको मूल्य दुईपटक बढ्यो । नेपालीको जनजीवन सहज बनाउन नेपाल सरकारले पनि ट्रम्प प्रशासनको सैन्य हमलाको निन्दा गर्नु जरूरी छ ।”
सरकारले विदेशी राजदूतहरूसँगको हालैको भेटमा नयाँ सरकार हुनु निरन्तरताको विच्छेद नभएको धारणा राख्दै सचिव सुवालले पुरानै तरिकाले काम गर्ने भए नयाँ सरकारको आवश्यकता किन भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले १२ दिनमा ४० अर्ब १६ करोड रुपैयाँ विदेशी ऋण बढाएको पुरानाको निरन्तरता नै हो । इन्धनमा मूल्यवृद्धिसँगै नेपालमा गरिबी थप बढ्यो । सरकार सचेत हुनु आवश्यक छ ।”
डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश दुमरूको सभापतित्वमा भएको सो कार्यक्रममा
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवाल, जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरू र डकर्मी सङ्घका कृष्णप्रसाद गोसाईले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सूर्यनारायण फाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply