भर्खरै :

मौलिक संस्कृति र सभ्यता जोगाउँदै अघि बढ्नुपर्नेमा जोड

मौलिक संस्कृति र सभ्यता जोगाउँदै अघि बढ्नुपर्नेमा जोड

भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टी भनपा ४ वडा एकाइ समितिको आयोजनामा शनिबार बिस्काः जात्रा तथा नव वर्ष २०८३ को अवसरमा स्थानीय दुमलाचा टोलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफ्नो मौलिक संस्कृति र सभ्यता जोगाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विदेश गएका कुनै पनि नेपाली सधैँ सम्मानित भएर जीवनयापन गर्ने अवस्था नहुने भएकोले आफ्नो देशको स्वाधीनता रक्षा गर्दै स्वदेशमै रोजगारीको बन्दोबस्त गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । देश विकासको लागि अरबौँ रुपैयाँ विदेशी ऋण लिने प्रवृत्तिले देशको अस्तित्व नै खतरा पर्ने सम्भावना भएको उल्लेख गर्दै उहाँले जेनजी आन्दोलनको नाममा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले भूमिका खेलेकै कारण सिंहदरबारलगायतको देशको सम्पत्ति खरानी भएको हो भन्नुभयो । उहाँले दुईतिहाइको वर्तमान सरकारले सो विध्वंस मच्चाउने तत्वलाई पत्ता लगाउन नसक्नु अपराधलाई छोपेर अपराधीलाई प्रोत्साहन दिनुसरह हो भन्नुभयो ।
अमेरिकी सरकारले इरानमा गरेको युद्धको कारण विदेशमा रहेको नेपालीको ज्यान जोखिममा परेकोले सरकारले युद्धको विरोध नगरी समर्थन गरेको देशको लागि दुर्भाग्य हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र डामाडोल भएको अवस्थामा सरकारी कार्यालय तथा अन्य शिक्षण संस्थामा दुई दिन बिदा दिनु देशको हितविपरीत छ ।”
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि गंगाराम ज्याख्वले कामदारवर्गको हितको लागि भनपाले गरेको योगदानको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा निम्न वर्गीय जनताले सस्तो शुल्कमा उच्च शिक्षा र स्वास्थ्य सेवा हासिल गर्न सकेको हो भन्नुभयो । सरकारले राजनैतिक पार्टीको जनवर्गीय सङ्गठन हटाउने नीतिसँग नेमकिपा असहमत रहेको उहाँले बताउनुभयो ।
भनपा ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालले वडा समितिले गर्दै आइरहेको विभिन्न गतिविधिबारे जानकारी दिँंदै भक्तपुरको आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको टोलटोलमा भएको जात्राहरूको व्यवस्थापन गर्न युवा पुस्ताको सक्रियता आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृष्णलक्ष्मी दुवाल र राजेन्द्र माकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *