भर्खरै :

सरकारले गर्ने गलत निर्णय र कार्यको विरोध गरी जनतालाई सुसूचित गर्नुपर्ने

सरकारले गर्ने गलत निर्णय र कार्यको विरोध गरी जनतालाई सुसूचित गर्नुपर्ने

भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टी वडा नं. ३ एकाइ समितिको आयोजनामा शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले हरेक नागरिकले देशप्रति माया गर्नुपर्छ भन्ने कुरा इरानबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै नेमकिपाको उद्देश्य देश र जनताको सेवा गर्नु हो भन्नुभयो ।
नेमकिपाले जनतासँग सिद्धान्त, विचार र घोषणापत्रको आधारमा मत मागेको उल्लेख गर्दै उहाँले पुरानै सरकारको गतिविधिलाई निरन्तरता दिने हो भने नयाँ सरकारको के अर्थ रह्यो भनी प्रश्न गर्नुभयो ।
भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले २३ गतेको मात्रै पेस गरिएको प्रतिवेदन न्यायपूर्ण नभएको उल्लेख गर्दै उहाँले सरकारले गर्ने गलत निर्णय र कार्यको विरोध गरी जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राजनीतिक नेता तथा कार्यकर्ताले अराजकतावादी गतिविधिको खण्डन गर्नुपर्ने उल्लेख गर्दै उहाँले कार्यकर्ताहरूमा जीउभरि आँखा हुनुपर्छ भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि पुरुषोत्तम तमखुले आफ्नो सभ्यता, संस्कृति र देश बचाउन अमेरिका र इजरायसामु इरान नझुकेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजसुन्दर खाताखोको सभापतित्वमा भएको सो कार्यक्रममा राजकृष्ण गोरा, रामहरि गोरा, सुनिता अवाल, राजु अवाल र रामकृष्ण त्वायनाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *