भर्खरै :

लिशा स्कूलमा दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

लिशा स्कूलमा दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

भक्तपुर, २८ चैत । लिशा इङ्गलिस सेकेन्डरी स्कूलको ३७ औँ वार्षिकोत्सवको अवसरमा प्रि–स्कूल दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार ब्रह्मायणी पार्टी प्यालेसमा सम्पन्न भयो ।
उक्त समारोहको उद्घाटन वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले बाँसुरीको धुनमा एक समारोहबिच गर्नुभयो ।
विद्यालय ज्ञान र सिकाइको मन्दिर भएको उल्लेख गर्दै उहाँले आफ्ना सन्तानलाई मायाले जित्नुपर्छ, सिकाउनुपर्छ र सुसूचित पार्नुपर्छ भन्नुभयो ।
आफ्ना बालबालिकाले समाजमा भए गरेका घटनाको नक्कल गर्ने हुँदा गलत सन्देश जाने खालको कार्य गर्न नहुने उल्लेख गर्दै उहाँले शिक्षाको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो ।
शिक्षा उत्पादन श्रम र सीपसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले धेरै बिदा दिनुभन्दा गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कम शुल्कमा गुणस्तरीय शिक्षा दिएर लिशा स्कूलले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्ताको उज्ज्वल भविष्य बनाउनु हाम्रो जिम्मेवारी रहेको उल्लेख गर्दै आफूले श्रम गरेर सन्तानलाई शिक्षा दिने कार्य प्रशंसनीय छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले संस्थागत र सार्वजनिक विद्यालयलाई सँगसँगै लाने उद्देश्य राखेको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थामा निःशुल्क शिक्षाको व्यवस्था हुन्छ भन्नुभयो ।
सकारात्मक पक्षलाई निरन्तरता दिने र कमी कमजोरी औँल्याएर समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हरेक अभिभावक सन्तानसँगै बस्ने वातावरण आवश्यक छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुगोपाल कुसीले वैशाख १५ गतेदेखि भर्ना अभियान, वैशाख २१ गतेदेखि कक्षा सञ्चालन र शनिबार र आइतबार दुईदिने बिदा व्यवहारिक नभएको स्पष्ट पार्नुभयो ।
सरकारले बिदैबिदाको चाड थपेर कस्तो शिक्षा प्रणाली ल्याउन खोजेको हो भन्दै उहाँले शिक्षा र संस्कार आजको आजै परिवर्तन हुँदैन भन्नुभयो ।
आफ्ना सन्तानलाई स्वतन्त्रताको नाउँमा जस्तो गल्ती र अपराध गरे पनि छोड्न नहुने उल्लेख गर्दै उहाँले कक्षा ५ सम्म परीक्षा लिन नपर्ने व्यवस्था पनि व्यवहारिक नभएको बताउनुभयो ।
मानिसहरू जन्म, कर्मले मात्र होइन गुणले पनि ठुलो हुनुपर्नेमा जोड दिँदै असल अभिभावक, असल शिक्षकले असल विद्यार्थी तयार हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् समारोहका सभापति बलराम प्रजापतिले सानो पाइलाबाटै सुन्दर उपलब्धि पाउने उल्लेख गर्दै विद्यार्थीहरू दीक्षित हुनु शिक्षा अध्ययनको नयाँ यात्रा सुरु गर्नु हो भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल लिशा प्रजापतिले विद्यालयले गरेका विभिन्न गतिविधि र कार्यक्रमबारे जानकारी दिँदै आर्थिक अवस्था नाजुक भएका र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिरहेको बताउनुभयो ।
अभिभावकको तर्फबाट किरण गुजले विद्यालयले गरिरहेको सेवाको सराहना गर्दै आफ्नो अनुभव सुनाउनुभयो ।
प्रि–स्कूलका इन्चार्ज नारायणी खोजुले दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम मेहनतको सिकाइ र सफलताको उत्सव पनि हो भन्नुभयो ।
समारोहमा अतिथि सैंजूले दीक्षित ६१ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै, अतिथिद्वय ज्याख्व र कुसीले पनि उत्कृष्ट विद्यार्थीलाई मेडल प्रदान गर्नुभयो ।
प्राप्त जानकारीअनुसार प्रि–स्कूल तहमा २४४ जना विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *