भर्खरै :

भनपा १ मा आँखा जाँच, सुगर र प्रेसर परीक्षण तथा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न

भनपा १ मा आँखा जाँच, सुगर र प्रेसर परीक्षण तथा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न

भक्तपुर, २८ चैत । भक्तपुर नगरपालिका १ नं. वडा कार्यालयको आयोजनामा आँखा जाँच, सुगर र प्रेसर परीक्षण स्वास्थ्य शिविर तथा १ वडा खेलकुद समितिको आयोजनामा स्लो साइकल रेस प्रतियोगिता शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सफलतापूर्वक सम्पन्न गर्न नगरवासीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । जात्राको महत्वबारे चर्चा गर्दै उहाँले परम्परादेखि चल्दै आएको बिस्का जात्रा संरक्षण तथा संर्वद्धन गरी सम्पदा संरक्षण र सांस्कृतिक पर्वहरू जगेर्ना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले वायु प्रदूषणका कारण विभिन्न रोगहरूको सङ्क्रमण हुने तथा श्वासप्रश्वासमा समस्या आउने भएकोले नगरपालिकाले छाती पुनःस्थापना केन्द्र सञ्चालन गरी नगरवासीहरूको सेवा गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यलाई मध्य नजर गरी विभिन्न समयमा विभिन्न रोगहरूको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उहाँले चर्चा गर्नुभयो । वडा खेलकुद समितिले स्थानीय क्लव, टीम, पुस्तकालय, सङ्घ संस्थालाई परिचालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्दै उहाँले खेलकुदले अनुशासन, मित्रता र सद्भाव कायम गर्न सहयोग गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका १ नं. का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भनपाले स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण, सरसफाइलगायत खेलकुद क्षेत्रमा विशेष ध्यानमा राख्दै कार्य गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गर्दै आएका विभिन्न गतिविधिहरू सफलतापूर्वक सम्पन्न गर्न अग्रजहरूको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्दै संस्कृति जगेर्ना गर्ने उद्देश्यले धेरै वर्षदेखि सञ्चालनमा नआएको श्रीपञ्चमीको दिनमा हुने सिलथानेगु पर्व इनगः सरस्वती मन्दिरदेखि भार्वाचो गणेश मन्दिरसम्म पुनःसञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।
स्लो साइकल रेस प्रतियोगिताले युवा विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा एउटा नयाँ आयाम थपेको र आउने दिनहरूमा स्थानीय टीम, क्लव, पुस्तकालय, विभिन्न सङ्घ संस्थाहरूलाई सहभागी गराई विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले प्रसिद्ध बिस्का जात्राको अवसरमा वैशाख ३ गते सञ्चालन हुने च्वङा गणेशको जात्रा सफलतापूर्वक सम्पन्न गर्न वडाका दाफा भजन, ढलिचा भजन, विभिन्न भजन समूह, सङ्घ संस्था, बाजा समूहलगायत वडावासीहरूलाई आग्रह गर्नुभयो ।
स्लो साइकल रेस प्रतियोगितामा ६२ जना सहभागी भएका प्रतियोगीहरूमा ब्वाइजतर्फ ९ वर्षदेखि १६ वर्षसम्मका मध्ये प्रथम हुने समर देसेमरुले ३.२३.३३ समय, दोस्रो हुने रसल खत्रीले १.०३.७१ समय र तेस्रो हुने विपिन सकिजुले ०.३८.९९ समय, त्यस्तै ब्वाइजतर्फ नै १६ वर्षमाथिका प्रथम हुने सुसन किलम्बुले ०.३१.४२ समय, दोस्रो हुने निल्सन कोजुले ०.२३.८९ समय र तेस्रो हुने अनुभव पञ्चले ०.२०.६६ समय लगाउनुभयो ।
गल्र्सतर्फ ९ वर्षदेखि १६ वर्षसम्ममा निरु खत्री (०.२.८२ समय) प्रथम र गल्र्सतर्फकै १६ वर्षमाथिका प्रथम हुने निरिस्ता खत्रीले ०.३३.४३ समयमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल प्रतियोगीहरूलाई वडाध्यक्ष खत्रीले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य गंगालक्ष्मी वमनु, सूर्यप्रसाद श्रेष्ठ र खेलकुद समितिका अध्यक्ष लुनिस सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *