भर्खरै :

बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न

बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न

भक्तपुर, २८ चैत । बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा हस्तलेखन तालिम (Handwriting Training) शनिबार सम्पन्न भयो । संस्थाका सदस्यहरू तथा सदस्यका परिवारमा सुन्दर, स्पष्ट तथा प्रभावकारी लेखन सीप विकास गर्ने उद्देश्यले सो आयोजना गरिएको हो ।
संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले तालिमको महत्वमाथि प्रकाश पार्दै सीपमूलक कार्यक्रमले व्यक्तित्व विकासका साथै दैनिक जीवन र पेसागत कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले लेखनशैलीमा सकारात्मक प्रभाव पार्न यस्ता तालिमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिनुभयो ।
प्रशिक्षक सुरज दिदियाले राम्रो हस्तलेखन सौन्दर्य मात्र नभई प्रभावकारी सञ्चारको माध्यम भएको बताउँदै नियमित अभ्यास, सही अक्षर संरचना र धैर्यतापूर्वक लेख्ने बानीले लेखाइमा सुधार ल्याउन सकिने उल्लेख गर्नुभयो । उहाँले डिजिटल युगमा पनि हस्तलेखनको महत्वको चर्चा गर्दै अझ व्यवस्थित र स्पष्ट लेखन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले सहकारी संस्थाले आर्थिक क्रियाकलापमा मात्र सीमित नभई सदस्यहरूको समग्र विकासका लागि विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले हस्तलेखनजस्तो आधारभूत तर महत्वपूर्ण सीपले विद्यार्थी, कर्मचारी तथा व्यवसायी सबैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम अवधिभर सहभागीहरूलाई अक्षरको बनावट, लेखाइको गति, सफाइ तथा आकर्षक प्रस्तुतीकरणका विविध पक्षहरूबारे व्यवहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बलराम प्रजापतिले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई कदर–पत्र र प्रमाण–पत्रसमेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थी सेन हाकुदुवाल, ओर्जन कुसीले आ–आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।
समापन कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक चञ्चल कर्माचार्यले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *