पुँजीवादी व्यवस्था शोषणमा फस्टाउने व्यवस्था
- बैशाख ४, २०८३
हरेक नागरिकले सुरक्षितका साथ जीवन बिताउन पाउनुपर्छ । शान्ति सुरक्षा दिनु राज्यको दायित्व हो । सरकारले देशमा सुशासनको सन्देश बाँडिरहेको बेला वीभत्स हत्याका घटना भइरहेको छ । पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसरमा बुधबार साँझ दुई दाजुभाइको ज्यान जाने गरी भयावह घटना भयो । सञ्जीव नेपालीसमेतले झापा घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका सुमित नेम्वाङ र सिर्जन नेम्वाङलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ रहेको छ । सानो विवादको कारण दुई दाजुभाइको हत्या गर्नुपर्ने स्थिति थिएन । तर, हत्या भयो । यस हत्याकाण्डले उपत्यकामा सनसनी छायो । यसबारे विभिन्न पत्रिकाहरूमा लेखियो, ‘अपरिचित व्यक्तिसँग फोनमा भएको सामान्य विवादले लियो दुई युवाको ज्यान’, ‘मन्दिरको काखमा क्रूर हत्या† एक गलत नम्बरले निम्त्याएको विनास’, ‘आशङ्का छ, कल डिटेल्स हेरेर अनुसन्धान होस्’ । घटनाको कारण जे भए पनि यो दुःखद घटना हो । यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग स्थानीय जनताको रहेको छ । यो घटनाले देशमा शान्ति सुरक्षाको अनुभूति नभएको सन्देश गएको छ । यस्तै कुटपिटका घटना देशको विभिन्न ठाउँमा भइरहेको छ । शनिबार जडीबुटीमा कुटपिट भयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह नियुक्ति भएको १४ दिनमै पदमुक्त भए । १० वर्षअघि एमबीबीएस परीक्षा उत्तीर्ण गराइदिने बहानामा रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । मन्त्री भएपछि सो पुरानो फौजदारी घटनाको विवरण सामाजिक सञ्जालमा भाइरल भएको थियो । मन्त्री नियुक्ति भएलगत्तै सञ्चारकर्मीले उनीमाथि ठगी गरेको कुरा प्रश्न गरेपछि उनले ठगी गरेको भए के मन्त्री हुन पाउँथे भनी जवाफ दिएका थिए । एकातिर उनीमाथि ठगीको आरोप लगाइयो भने अर्काेतिर मन्त्री पदको दुरुपयोग गरी आफ्नै श्रीमती जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा नियुक्ति गर्दा अर्काे विवादको विषय बन्यो । सरकारले कालो दाग भएका व्यक्तिलाई किन मन्त्री बनायो र जनताले त्यस्ता व्यक्तिलाई किन जिताए भन्ने प्रश्न उठेको छ । यो घटनाले रास्वपाको छविमा दाग लागेको अनुभव जनताले गरेका छन् ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरू परिवार र समाजबाटै हिंसा झेलिरहेको खबर पनि प्रकाशमा आयो । श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरू घरभित्रै शङ्का, सामाजिक लाञ्छना र यौनजन्य हिंसाका सिकार मात्र हुने गरेका छैनन्, कतिपयले ज्यानसमेत गुमाएको खबर पनि सञ्चारमाध्यममा आयो । वैदेशिक रोजगारीसँग जोडिएका यस्ता घटनाको विवरणले महिलाहरू सुरक्षित नभएको आभास हुन्छ । समाज र घर परिवारबाट हुने यस्ता हिंसाका घटनालाई निराकरण गर्न या कहीं कतै हिंसात्मक घटना नदोहो¥याउनेतर्फ सरकार गम्भीर हुनुपर्छ । यस्तो घटना सर्लाही, सप्तरी, धनुषा, तेह्रथुम, मुगुलगायत देशको विभिन्न स्थानमा भएको पाइन्छ ।
स्वदेशमै रोजगारीको व्यवस्था भएको भए यस्ता महिला हिंसाका घटना हुँदैनथ्यो । देशमै रोजगारीको व्यवस्था गर्न सरकार लाग्नुपर्छ । उद्योग तथा कलकारखाना खोलेर रोजगारी दिने र जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ सरकार लाग्नुपर्छ । आफ्नै देशमा रोजगारीको व्यवस्था नगर्दा युवाहरू विदेसिन बाध्य भए । युवाहरू विदेशमा जान बाध्य भएकै कारण हिंसा र दुव्र्यवहारसम्बन्धी घटनाहरू भए । यस्ता घटना हुन नदिन सरकारले जन जागरण अभियान छेड्नुपर्छ† स्वदेशमै रोजीरोटीको व्यवस्था गर्नुपर्छ । सरकार सुशासन, रोजगारी र समृद्धिमा केन्द्रित नहुँदा समस्या घट्नुको सट्टा बढ्यो । संविधानको मर्म, भावना र जनताको चाहनाबमोजिम काम नहुँदा समस्या बढ्दै गयो । लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू व्यवहारमा आएनन् या संस्थागत भएनन् । श्रमको सम्मान गर्ने संस्कृतिका विकास भएन । युवा तथा शिक्षित बेरोजगारमा देखिएको निराशालाई तोड्न सकिएन । निराश जनशक्तिबाट मुलुकको प्रगति सम्भव छैन । अतः सरकार आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न लाग्नुपर्छ ।
Leave a Reply