भर्खरै :

के अमेरिकाले अर्को युद्ध हारेको हो ?

  • चैत्र २८, २०८२
  • डा. हार्लन उलम्यान
  • विचार
के अमेरिकाले अर्को युद्ध हारेको हो ?

‘आज राति सम्पूर्ण सभ्यता नष्ट हुनेछ’ भन्ने धम्की दिएको भोलिपल्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अडानबाट पछि हट्नुप¥यो । लगतै उनले आफ्नो धम्की पूरा गर्न दुई साता ढिलाइ गर्ने घोषणा गर्नुप¥यो । यस गतिरोधको समयमा इजरायलसँगै अमेरिका र इरान शान्ति वार्ता गर्ने प्रयास गर्दै छन् । विडम्बनाको कुरा अमेरिकाले अत्यधिक सैन्य हमला गरे पनि इरानले हर्मुजको जलमार्गलाई नियन्त्रण गरेर रणनीतिक कार्ड उपयोग गरेको छ, त्यसले पेट्रोल र डिजेल इन्धनको मूल्य र विश्वव्यापी सेयर बजारको अवस्थामा ठुलो प्रभाव कायम राखेको छ ।
अहिलेको गतिमा इरान युद्धले अमेरिकाले लडेका युद्धमा जित्न वा सफल नतिजा प्राप्त गर्न विगतका असफलता दोहो¥याउनेछ । सन् १९६० र १९७० को दशकको सुरुवातमा भियतनाम युद्ध अमेरिकी सेनाले सधैँ जित्ने युद्धभूमिमा हारेको थिएन, बरु अमेरिकी टेलिभिजन र भोजनकक्षमा हारेको थियो, जहाँ द्वन्द्वबारे भनिएका झुटहरूको एकपछि अर्को शृङ्खला र ५८ हजार अमेरिकी सेनाको शवको झोलाले अन्ततः आफ्नो क्षति पु¥यायो ।
अफगानिस्तानमा पनि अमेरिकाको सैन्य श्रेष्ठता थियो, तर त्यो ‘जित्न’ पर्याप्त थिएन । अर्बौं डलर चुसेको दुई दशकको असफल ‘राष्ट्र निर्माण’ अभियानले अमेरिकी समर्थक कमजोर संस्थाहरू गठन ग¥यो, जसले तालिवानको दृढ संकल्पलाई टिकाउन सकेन । सन् २००३ को आक्रमणपछि इराकमा सद्दाम हुसेनको शासन हटाउन अमेरिका सफल भयो । तर, त्यसले इराकलाई अराजकतामा डुबायो, जसले गर्दा दुई दशकसम्म यस क्षेत्रमा अस्थिरता बढ्यो, जसका कारण अमेरिका र यसका क्षेत्रीय सहयोगीलाई ठुलो क्षति भयो ।
यी असफलताको एउटा कारण यो हो कि एकपछि अर्को अमेरिकी राष्ट्रपति युद्ध र शान्तिको मामिलामा आफ्नो पदको गम्भीरताका लागि तयार थिएनन् । उनीहरूमा बल प्रयोग गर्ने अवस्थाको ज्ञान र बुझाइको गहिरो अभाव थियो । युद्धमा जाने मान्यतालाई चुनौती दिन असफल, अमेरिकी बौद्धिक र सैन्य श्रेष्ठतालाई सामान्य रूपमा लिने अहङ्कार, समूहगत सोच र अमेरिकी सेना जतिसुकै कुशल भए पनि सबै सम्भावित परिणामको परीक्षण नगर्ने नोकरशाही अयोग्यताबाट पीडित छन् । यी सबै कुराले अन्ततः त्रुटिपूर्ण रणनीतिक निर्णय निम्त्याए ।
अब यस्तो देखिन्छ कि विगतका यी असफलताले इरानको युद्धलाई सङ्क्रमित गरे । खाडीमा खेलिएका हरेक युद्ध खेल र अभ्यासमा हर्मुजको जलमार्ग बन्द थियो । के कसैले ट्रम्पलाई त्यो आकस्मिकताबारे सल्लाह दिएनन् वा उनले सुनेनन् ? किन उनले युद्धमा जाने वा उनको शब्दमा इरानमा ‘भ्रमण’ सुरु गर्ने छनोट गरे ? केही दिनमा युक्रेनी राजधानी किभ पतन हुनेछ भन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ठुलो गलत अनुमान दोहो¥याउँदै अमेरिकी राष्ट्रपति किन इरान युद्धमा हाम फाले ? यसमा अमेरिकाको गलत आकलनका साथै राष्ट्रपतिका सल्लाहकारले दिएको सुझावले काम नगरेको हुन सक्छ । कतिपय अवस्थामा राष्ट्रपति स्वयंले अमेरिका–इरान युद्धमा होमिन नहुने भनी केही सल्लाहकारले दिएको सुझावलाई बेवास्ता गरेको देखिन्छ ।
इजरायलीले ट्रम्पलाई हतारमा निर्णय लिनका लागि उत्प्रेरित गर्नुभन्दा पहिले नै राष्ट्रपतिमा अहङ्कार र पूर्ण बुझाइको स्पष्ट अभाव थियो । यस्तै अज्ञानता इजरायली संस्था र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमा थियो । अमेरिकी राष्ट्रपतिका प्रमुख वार्ताकार स्टिब विटकफ र जारेड कुसनरसँग आणविक हतियारबारे प्राविधिक ज्ञानको कमी थियो, जसले गर्दा उनीहरू इरानीसँगको वार्तामा निष्प्रभावी र अदूरदर्शी साबित भए । ह्वाइट हाउसले इरानलाई आणविक हतियार निर्माण गर्न र लामो दूरीको क्षेप्यास्त्र विकसित गर्न लाग्ने समयलाई गलत अनुमान मात्र लगाएन, घोर बढाइचढाइ ग¥यो, जुन गलत आकलनले अमेरिकालाई युद्धमा लाग्न प्रेरित गरेको हुन सक्छ ।
यसबाहेक, भेनेजुयलामाथि अमेरिकी सेनाको सफल कारबाही र अमेरिकी सैन्य पराक्रमको अतिरञ्जित अपेक्षाले ट्रम्पलाई साँच्चै अन्धो बनायो । उनले तेहरानको शासन पतन हुन लागेको इजरायलको भाष्य र कथनलाई सजिलै विश्वास गरे ।
अब, वास्तविकताले पकड जमाइसकेको छ । हरेक लडाइँ जित्दैमा युद्ध जितिँदैन । उत्तर भियतनाम र तालिबानजस्तै हार नमानेर जित्ने इरानको रणनीति कम महत्वपूर्ण छैन । तेल प्रवाहका लागि महत्वपूर्ण समुद्री नाका हर्मुजको बन्द इरानीले चलाएको सबैभन्दा शक्तिशाली हतियार साबित भयो । विश्वव्यापी ऊर्जाको २० प्रतिशत, मलका लागि आवश्यक पर्ने धेरैजसो फस्फेट र चिप निर्माणका लागि आवश्यक पर्ने हेलियम खाडीमा सिल गरिएको हुनाले लामो समयसम्म चलेको द्वन्द्वको परिणाम स्पष्ट थियो, आर्थिक विपत्ति । हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिनुका साथै आर्थिक उथलपुथलले विश्व अर्थतन्त्रमा ठुलो हलचल ल्याएको छ ।
इरानको सफलताको मापदण्ड दुई अमेरिकी लडाकु विमान खसालिएको वा अमेरिकी सैन्य अड्डामा प्रहार भएको सङ्ख्या कम थिएन । यो अमेरिकामा पेट्रोलको मूल्य र सेयर बजारको निराशाजनक अवस्था थियो । सुरुवाती दिनमा पनि युद्ध अत्यधिक अलोकप्रिय थियो, लगभग दुईतिहाइ अमेरिकीले यसको विरोध गरेका थिए । अहिले पनि अधिकांश अमेरिकी युद्धको विरोधमा छन् । युद्धका कारण ट्रम्पप्रतिको अनुमोदन दरमा निरन्तर गिरावट आएको विभिन्न सर्वेक्षणले देखाएका छन् । पेट्रोलको उच्च मूल्य र बढ्दो मुद्रास्फीतिको जोखिमको अर्थ अमेरिकामा हुने प्रमुख मध्यावधि चुनावअघि सामाजिक असन्तुष्टि बढाउनु थियो ।
अब ट्रम्पसामु दुई विकल्प छन्, भियतनाम युद्धको समयमा राष्ट्रपति लिन्डन जोनसनले जस्तै युद्ध अन्त्य गर्न ट्रम्पले इरानका सर्त स्वीकार गर्न सक्छन् वा लामो समयसम्म चल्ने द्वन्द्व अर्थात् ‘सदाका लागि युद्ध’ मा फस्न सक्छन् ।
हालका लागि अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको धारणालाई रोजेका छन् कि संवाद र कूटनीति सशस्त्र द्वन्द्वभन्दा धेरै उच्च छन् । ट्रम्पले जुनसुकै बाटो जाने निर्णय गरे पनि उनी आफैँ कुनै राम्रो विकल्पविना फसेको कारणले गर्दा इरान युद्ध राष्ट्रपतिको रूपमा उनले गरेको सबैभन्दा विनाशकारी निर्णय साबित हुनेछ ।
(डा. उलम्यान वासिंटन डिसीको एट्लान्टिक काउन्सिलका वरिष्ठ सल्लाहकार हुन् ।)
– अलजजिराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *