भर्खरै :

‘विश्व प्रशिद्ध मजदुर आन्दोलन तथा समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकमाथि छलफल कार्यक्रम सम्पन्न

‘विश्व प्रशिद्ध मजदुर आन्दोलन तथा समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकमाथि छलफल कार्यक्रम सम्पन्न

भैरहवा, २६ वैशाख । नेपाल मजदुर किसान पार्टी रूपन्देहीको आयोजनामा शनिबार १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भैरहवामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘विश्व प्रशिद्ध मजदुर आन्दोलन तथा समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकमाथि छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले ऐतिहासिक मे १ मजदुर आन्दोलनको इतिहासबाट नयाँ पुस्तामा विद्रोही भावना नजागोस् भनेर नै शासक दलहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सामान्य बिदाको दिनजस्तो बनाउन खोजिएको छ भन्नुभयो ।
आर्थिक समानता र योग्यताअनुसार काम, कामअनुसार ज्याला हुने नयाँ राजनीतिक व्यवस्था ल्याउन नयाँ पुस्ताले पनि विश्व प्रसिद्ध मजदुर आन्दोलनको इतिहासबाट सिक्नुपर्नेमा जोड दिंँदै अध्यक्ष वासीले व्यापक जनतालाई समाज विकासको नियम र आधारभूत सिद्धान्तबाट सुशिक्षित पार्न सके मात्र समाज परिवर्तनको लागि ठोस योगदान दिन सकिन्छ भन्नुभयो ।
नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले पुँजीवादी व्यवस्थाले कामदार जनताको हित गर्न नसकेकोले नै समाजवादी व्यवस्थाबारे चासो बढेको उल्लेख गर्दै समाजप्रति उत्तरदायी समाजवादी आचारण पालना गर्न जोड दिनुभयो ।
नेक्राविसङ्घका पूर्व केन्द्रीय सदस्य सुग्रिम चाईले मजदुरहरूको रोजीरोटी खोस्ने प्रविधि र मेसिन नभई पुँजीपतिवर्गको शोषणले हो भन्दै मजदुरहरू वर्गीय रूपमा सचेत हुनुपर्ने तथ्य मजदुर आन्दोलनको इतिहासबाट सिक्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा कला ज्ञामीले समाजवाद र सान्दर्भिक विषयवस्तु अध्ययनको अनुभव सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *