‘विश्व प्रशिद्ध मजदुर आन्दोलन तथा समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकमाथि छलफल कार्यक्रम सम्पन्न
- बैशाख २६, २०८३
काभ्रे, २६ वैशाख । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रे र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेको आयोजनामा बनेपामा विचार गोष्ठी भयो ।
नेपालको श्रम ऐन २०७४ र संशोधनसहितको नियमले दिनको ८ घण्टा, हप्तामा ४८ घण्टा कामको समय प्रत्याभूति गरेको भए पनि पूर्णरूपमा पालना नभएको विचार नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुटीर उद्योग र कृषिलाई प्राथमिकतामा राखेर देशलाई आत्मनिर्भर बनाउनु पर्छ । वैदेशिक ऋणले देश उपनिवेश बन्ने हुँदा वर्तमान दुईतिहाइको सरकारले पनि विगतकै शासकहरूको अर्थनीतिलाई पछ्याउनु गलत छ ।”
स्वदेशमै रोजगारीको बन्दोबस्त हुनुपर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुनुपर्ने, बेरोजगार युवाहरूलाई बेरोजगार भत्ताको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले नेपालले असंलग्न परराष्ट्रनीति अङ्गीकार गर्नुपर्नेमा इजरायलको समर्थन गर्नु शक्तिराष्ट्रसामु आत्मसमर्पण गर्नु हो भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिका उपाध्यक्ष सत्यनारायण श्रेष्ठ, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिका अध्यक्ष राजु तामाङले मे दिवसको इतिहासबारे प्रकाश पार्नुभएको थियो ।
Leave a Reply