भर्खरै :

आजको युगमा माक्र्सको विचार सबैभन्दा नवीन विचार

आजको युगमा माक्र्सको विचार सबैभन्दा नवीन विचार

सर्वहारावर्गका महान गुरु कार्ल माक्र्सलाई विश्वले विभिन्न नाममा स्मरण गर्छ; महान् चिन्तक, दार्शनिक, विचारक, राजनीतिक अर्थशास्त्री, वैज्ञानिक, पत्रकार आदि । वास्तवमा उनलाई उनको क्रान्तिकारी विचार र व्यवहारले अमर बनाएको हो । विश्व कामदारवर्गले उनलाई मुक्तिदाताको रूपमा नमन गर्छ ।
वर्गीयरूपमा विभाजित समाजमा वर्गमुक्तिको बाटो वर्गसङ्घर्ष हो । वर्गमा विभक्त समाजको समस्या अध्ययन गरी समाधानको प्रभावकारी उपाय आजसम्म अरू कसैले प्रस्तुत गर्न सकेका छैनन् । मानव मुक्तिको प्रश्नमा गहिरोसँग घोत्लिने र कल्पनालोकबाट बाहिर मुक्तिको वैज्ञानिक मार्ग प्रदान गर्ने महर्षि हुन् माक्र्स ।
कार्ल माक्र्सले संसारको व्याख्यामात्र गरेनन् बरु संसारलाई बदल्ने कुरा गरे, संसारलाई बदल्ने आधार या उपाय प्रदान गरे । “माक्र्सवाद संसारलाई बदल्ने विज्ञान हो ।” माक्र्सवादको उदय मानव सभ्यताको इतिहासमा सर्वाधिक युगान्तकारी घटना हो भन्नेमा कुनै दुविधा छैन । तर, माक्र्सवाद कुनै तम्तयार सूत्र या साँचो भने होइन, देश, काल परिस्थितिअनुरूप राजनीतिक र सामाजिक आन्दोलनको स्वरूप र नीति फरक हुन सक्छन् । त्यसकारण, माक्र्सवादको निरन्तर अध्ययन अनुसन्धान आवश्यक छ । माक्र्सवादका सङ्घटक अङ्गहरू द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको आधारशिलामा नै पुँजीवादी विश्वको अन्त्य सम्भव छ । पुँजीवादी विश्व व्यवस्थाको अन्त्य र समाजवादी विश्व व्यवस्था स्थापना नै माक्र्सवादको उद्देश्य हो । देशको परिवेशअनुरूप आन्दोलनका रूपहरू भिन्न भए पनि उद्देश्य कामदारवर्गको मुक्ति र सर्वहारावर्गको राज्य व्यवस्था स्थापना नै हो । यसको लागि देश–देशमा भएका मजदुर आन्दोलनहरू न्यायपूर्ण आन्दोलनहरूको अनुभव भने छलफल हुन जरुरी हुन्छ । माक्र्सवाद मजदुर आन्दोलनको सैद्धान्तिक अभिव्यक्ति पनि हो । सन् १८४८–१८४९ का क्रान्तिकारी घटनाहरूमा यसको पहिलो ऐतिहासिक परीक्षण भएको थियो । आजको युगसम्म पनि माक्र्सवाद र माक्र्सका विचारहरू उत्तिकै सान्दर्भिक छन् । लेखक हरिबहादुर श्रेष्ठले माक्र्सवादलाई माक्र्स र एङ्गेल्सको शिक्षाको रूपमा विश्लेषण गरेका छन्, पुस्तक ‘माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनी’ मा ।
कार्ल माक्र्सको जीवन, व्यक्तित्व, योगदानबारे चर्चा यो युगदेखि अर्को युग–युगसम्म चल्नेछ । मानवमुक्तिको विचार के कहिल्यै पुरानो हुन्छ ? मानवले मानवमाथि गर्ने हरेक किसिमका शोषणको अन्त्य गरी समतामूलक समाज निर्माणको व्यावहारिक तथा वैज्ञानिक उपाय कहिल्यै असान्दर्भिक हुन्छ र ? विश्व मानव जातिलाई उत्पीडनबाट मुक्त समतामूलक समाज चाहिएको छ, मानव सभ्यताको उत्कृष्ट स्थान या समय त्यही हुनेछ । माक्र्सले त्यो आदर्श समाज र त्यहाँ पुग्ने बाटो माक्र्सवादमार्फत प्रदान गरे । यसर्थ, साम्राज्यवादी युद्ध, शोषण, असमानता व्याप्त आजको विश्व समाजमा माक्र्सको विचार अझै नयाँ विचार हो । बहुसङ्ख्यक श्रमजीवी जनताले दुःख पाइरहेको नेपालजस्तो तेस्रो मुलुकमा माक्र्सको विचार सबैभन्दा युवा विचार हो, सबैभन्दा सही बाटो हो ।
माक्र्सवादमा आस्था राख्ने जो कोहीका लागि कार्ल माक्र्सको जीवन अध्ययन अनुपम ज्ञान र ऊर्जाको स्रोत बन्छ । माक्र्स आफ्नो जीवनकालमा कसरी क्रान्तिकारी दिशामा अघि बढे ? उनले कसरी सर्वहारा दृष्टिकोण निरूपण गरे ? कम्युनिस्ट लिग हुँदै प्रथम अन्तर्राष्ट्रियको स्थापना र विकासमा उनको भूमिका कस्तो रह्यो ? उनले युरोपका मजदुर आन्दोलनहरूमा कस्तो योगदान पु¥याए ? फ्रान्सको क्रान्ति र पेरिस कम्युनका लागि माक्र्सको कार्यनीति कस्तो थियो ? उनको जीवन कस्तो थियो ? जीवनमा माक्र्सले भोग्न परेका दुःख कष्टहरूको फेहरिस्ट बनाउन के सम्भव होला ? उनको पारिवारिक जीवन कस्तो थियो ? एङ्गेल्ससँगको मित्रता र सहयात्राले उनको जीवनमा कस्तो भूमिका खेल्यो ? यी प्रश्नका जवाफहरू यो युगका लागि प्रेरणाको स्रोत बन्नेमा कुनै सन्देह नहोला ।
अभाव, सन्तान वियोग, कामबाट निकाला, देशबाट निकाला, निर्वासन, जेल र सङ्कटको पहाड छिचोलेर पनि मानव जातिको हितका लागि समर्पित रहन सक्ने मानवको नाम नै माक्र्स हो । जस्तै बिघ्नबाधामा अविचलित भई लक्ष्यप्रति प्रतिबद्ध र उद्देश्यप्रति स्पष्ट रहन सक्ने मानव हुन् माक्र्स । उनले प्रतिपादन गरेको विचार माक्र्सवाद, पहिलो पटक पेरिस कम्युनको रातो झन्डा बनेर फहरियो । नेता लेनिनले माक्र्सवादलाई विश्व सैद्धान्तिक विचारधाराको शिखर, उन्नाइसौँ शताब्दीमा जर्मन दर्शनशास्त्र, बेलायती राजनीतिशास्त्र, फ्रान्सेली समाजवादको श्रेष्ठतम सिर्जनाको वैधानिक उत्तराधिकारीको रूपमा चित्रण गरेका छन् । साथै माक्र्सवाद सम्पूर्ण र सुसङ्गत छ । यसले मानिस सम्बद्ध विचारधारा प्रदान गरेको छ । सन् १९१७ मा नेता लेनिनले रुसको भूमिमा माक्र्सवादलाई रुसी अक्टोबर समाजवादी क्रान्तिको झन्डा या हतियार बनाए ।
वैज्ञानिक साम्यवादका संस्थापक कार्ल माक्र्सको जीवनसँग जोडिएका गाथाहरूको सँगालोका रूपमा थुप्रै पुस्तक प्रकाशित छन् । तीमध्ये एभगोनिया स्तेपानोभाद्वारा लिखित ‘कार्ल माक्र्सको जीवनी’ निकै पठनीय छ । माक्र्सको जीवन र कार्य सङ्क्षिप्तरूपमा विवरणित यस पुस्तकको नेपाली अनुवाद सरल छ । नेपाली पाठकहरूका निम्ति यस पुस्तक सहयोगी बन्ने निश्चित छ । माक्र्सको जन्म दिवस (मे ५) को सेरोफेरोमा माक्र्सको जीवन चर्चा सामयिक होला ।
सानै उमेरदेखि अत्यन्त अध्ययनशील र क्रान्तिकारी स्वभावका माक्र्स किशोरावस्थामै भौतिकवाद र साम्यवादको बाटोमा नयाँ डोबहरू छोड्दै अगाडि बढे । स्कूलपछि बोन र बर्लिन विश्वविद्यालयमा कानुन, दर्शनशास्त्र र इतिहासको गहिरो अध्ययन थाले । सन् १८४१ अर्थात् २३ वर्षको उमेरमा विश्वविद्यालयबाट विद्यावारिधि सकाए । प्राध्यापक बनी जनताको सेवा गर्ने इच्छा राख्ने माक्र्सले कालान्तरमा विश्वलाई नयाँ ज्ञानको उज्यालो प्रदान गरे । हेगेल र युवा हेगेलवादीहरूको सम्पर्कले पनि माक्र्सको ज्ञानको क्षितिज अझ उघारिएको भन्न मिल्ला । हेगेल विश्वका सबै घटनाहरूलाई द्वन्द्ववादी आँखाले हेर्थे । कुनै घटनाको उत्पत्ति, विकास र अन्त्यको प्रक्रियामा अध्ययन गर्थे । यस प्रगतिशील तरिकाको उपयोगद्वारा हेगेलले प्राकृतिक एवम् सामाजिक विकासको आन्तरिक नियमितता, विकासको आधार बनेका अन्तद्र्वन्द्वहरूको सङ्घर्ष पत्ता लगाउने कोसिस गरे तर हेगेलले यो समस्याको समाधान दिन सकेनन् । उनको दर्शनमा ठुलो त्रुटि थियो अर्थात् दर्शन अध्यात्मवादी थियो । प्रकृतिको वस्तुपरक मानव चेतनाभन्दा पर अध्यात्मलाई प्रकृति या समाज विकासको आधार मान्नु गल्ती थियो । हेगेलको द्वन्द्ववादी विचार दार्शनिक खोलसहितको ईश्वरवादबाहेक केही थिएन भन्ने आलोचना भौतिकवादीहरूले गरे । माक्र्सले लेखेका छन्, “हेगेलको द्वन्द्ववाद टाउकोले टेकेर उभिएको थियो ।” त्यसलाई उल्ट्याउने चिन्तनमा माक्र्स लागे । हेगेलको द्वन्द्ववादी पद्धतिले इतिहास मात्रको अध्ययन गर्यो† वर्तमान र भविष्यको अध्ययन गरेन । त्यसको आलोचनात्मक अध्ययन माक्र्सले अघि सारे । माक्र्सले जर्मनीका दार्शनिक लुडबिक फायरबाखको विचारलाई आफ्नो अध्ययनको विषय बनाए । भौतिकवादी प्रोफेसर फायरबाख भन्थे, “प्रकृति मानव चेतनाभन्दा स्वतन्त्र छ र वस्तुप्रधान हुन्छ । प्रकृति र मानिसलाई ईश्वरले बनायो भन्ने कुरा धार्मिक कल्पनाबाहेक केही होइन । सारमा, ईश्वरले मानिस बनाएको होइन बरु मानिसले ईश्वर बनाएको हो ।” (माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनी) हेगेलवादी भएर पनि प्रोफेसर ब्रुनो बाबरले पनि आत्मा मुख्य नभएर प्रकृति नै मुख्य भन्ने व्याख्या गरे । फायरबाख अनिश्वरवाद एवं नास्तिकताको विचार बोक्थे । माक्र्सको चिन्तन फायरबाखको भौतिकवादी विचारले पनि प्रभावित छ । हेगेलको अध्यात्मवादी दर्शनको विरोध गर्ने पहिलो दार्शनिक फायरबाखको पुस्तक ‘इसाई धर्मको सार’ (१८४१) बाट माक्र्स प्रभावित भए । तर, फायरबाख प्रकृति र प्राकृतिक घटनाहरूबारे मात्र भौतिकवादी दृष्टिकोण राख्थे । इतिहास, सामाजिक सम्बन्धहरू तथा राजनीतिसम्बन्धी सोचाइमा उनी अध्यात्मवादी नै रहे । फायरबाखको भौतिकवादी सीमितता र असङ्गति पत्ता लगाई प्रकृतिमात्र नभएर समाजलाई समेत भौतिकवादी दृष्टिकोणले हेर्ने वैज्ञानिक विश्व दर्शन तयार गर्न लागिपरे । यसरी वैज्ञानिक तथ्य र प्रकृतिशास्त्रको उपलब्धिको आधारमा माक्र्सले हेगेलको द्वन्द्ववादको पुनरावलोकन गर्दै भौतिकवाद र द्वन्द्ववादलाई एकबद्ध गर्ने र एउटा वैज्ञानिक विश्व दृष्टिकोण विकास गरे – द्वन्द्वात्मक भौतिकवाद ।
राइन पत्रिका अर्थात् रइनिस्चे जाइतुन पत्रिकाले माक्र्सको जीवनमा ठुलो अर्थ राख्छ । उनी त्यसका प्रधानसम्पादक थिए । जर्मनीमा श्रमिक र श्रमिक आन्दोलनको स्थिति उजिल्याउने माध्यमको रूपमा पत्रिकाको उपयोग माक्र्सले गरे । राइन समाचार यति लोकप्रिय बन्यो कि प्रसियाली सरकारले निकाल्ने पत्रिकासमेत बन्द भयो । हेगेलवादीहरूको नाममा ठाउँठाउँमा बन्दै गरेको साम्प्रदायिक या धार्मिक झुण्डहरूको खण्डन पनि राइन पत्रिकाले ग¥यो । ‘जर्मन– फ्रान्सेली वार्षिक पत्रिका’ जर्मनी र फ्रान्सेली जनवादी पत्रिका प्रकाशनको निम्ति माक्र्स परिवारसहित पेरिस गएका थिए । फ्रान्समा बलेको वर्गसङ्घर्षको आगोलाई आकार दिन उक्त पत्रिकाले सघाएको थियो । अठारौँ शताब्दीमा सम्पन्न फ्रान्सेली क्रान्तिसँगै १९ औँ शताब्दीमा पेरिसमा उदाएका नयाँ वर्गको विश्लेषण र पेरिस कम्युनको तयारीमा पत्रिकाले भूमिका खेल्यो ।
१८४४ मा फ्रेडरिक एङ्गेल्ससँग माक्र्सले पहिलोपटक भेटेका थिए । भेटमा दुवैले आफ्नो विचारमा समानता भेटे । दुई प्रगतिशील व्यक्तित्वहरूको प्रगाढ मित्रता सुरु भयो । लेखन कर्मसँग जोडिने क्रममै माक्र्सले एङ्गेल्ससँग भेटेका हुन् । सन् १८४३ मा पेरिस पुग्दा उनले राजनीतिशास्त्र र समाजवादको अध्ययन थाले । प्रसियाको सरकारको दबाबका कारण फ्रान्सेली सरकारले माक्र्सलाई पेरिसबाट निष्कासन ग¥यो । उनी बेल्जियमको राजधानी ब्रुसेल्स पुगे । त्यहाँ अर्थशास्त्रको अध्ययन थाले । आर्थिक एवम् दार्शनिक पाण्डुलिपिहरूसँगै बेलायतको अर्थतन्त्र अध्ययन तीव्र बन्यो । ‘राजनीतिक अर्थशास्त्रको आलोचनाका केही खेस्राहरू’ कृतिको परिचय पछि दुई मित्रहरूबिच पत्र व्यवहार पनि सुरु भयो ।
माक्र्स र एङ्गेल्सले सँगै मिलेर काम गर्ने क्रममा बुनो बाउएर र मित्रमण्डलीविरुद्ध दुबैले ‘पवित्र परिवार’ अथवा ‘आलोचनात्मक आलोचना’को आलोचना तयार पारे । तिनले आफूलाई दार्शनिक नेता र जनतालाई अशिक्षित, मूर्ख र सर्वहारावर्गलाई घृणा र अनादरको दृष्टिले हेर्थे । काल्पनिक समाजवादीहरूको विपरीत माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवादको विचार जन्माउने यात्रा तय गरे । लेनिनले लेखेका छन्, “समाजवादी समाजका निर्माताका रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको अभिव्यक्ति नै माक्र्सको सिद्धान्तको मुख्य उपलब्धि हो ।” पवित्र परिवारमा नयाँ क्रान्तिकारी भौतिकवादी विश्व दृष्टिकोणको सर्वहारा विचारधाराको जग बसालियो ।
माक्र्स जनसमुदायको सम्पर्कमा जान रुचाउँथे । फ्रान्सका आन्दोलनहरूमा सरिक बन्दा उनलाई ब्रसेल्स जान बाध्य पारियो । परिवारको रोजिरोटीको सवाल टड्कारो बन्दा एङ्गेल्स सहयोग गर्न उभिएका थिए । प्रसियन सरकारले बेल्जियममा पनि माक्र्सलाई लेखेट्यो । उनले बेलायत भ्रमण गरे । म्यानचेस्टरको चाटम पुस्तकालयमा धेरै समय बिताए । बेलायतमा मजदुरको अवस्था देख्दा अन्तर्राष्ट्रिय क्रान्तिकारी सङ्गठन स्थापनाको आवश्यकताबोधसँगै हरेक न्यायपूर्ण आन्दोलनलाई क्रान्तिकारी र अन्तर्राष्ट्रवादी मोड दिन आवश्यक रहेको महसुस गरे । उनी ‘जर्मन विचारधाराको’ तयारीमा लागे । सामाजिक–आर्थिक व्यवस्थाहरू र परम्पराविरोधी वर्गहरूमा विभाजित समाजको सञ्चालक शक्तिका रूपमा वर्गसङ्घर्षबारे माक्र्स र एङ्गेल्सले ‘जर्मन विचारधारा’ बाट छलफल थाले† उत्पादन सम्बन्ध विनिमय, बौद्धिक र शारीरिक श्रमबारे छलफल थाले । यही पुस्तकमा उनले पहिलोपटक द्वन्द्वात्मक भौतिकवादको व्याख्या गरेका हुन् ।
विश्वको क्रान्तिकारी रूपान्तरणका लागि विचारसँगै सर्वहारावर्गको पार्टी आवश्यक छ भन्ने बोध गरे । मजदुर आन्दोलनलाई समाजवाद र सर्वहारा वर्गीय आन्दोलनसँग जोड्न क्रान्तिकारी पार्टी जरुरी हुन्छ । मजदुर या कामदारवर्गलाई सचेत र सङ्गठित नबनाइकन वर्गसङ्घर्ष सम्भव नहुने तथ्य बोध गरे । माक्र्स र एङ्गेल्सले आफ्नो विचारसँग मिल्ने मानिसहरू समेट्न थाले, बिल्हेम भोल्फ तीमध्ये एक क्रान्तिकारी थिए । उनीहरूले ब्रसेल्समा कम्युनिस्ट संवाद समिति गठन गरे । उनले प्रुँडोवादको विरोध गरे । वर्गसङ्घर्ष होइन प्रेम र बन्धुत्वको भावनाले परिवर्तन हुन्छ, सामन्त र पुँजीपतिहरूसँग मिलेर अगाडि बढ्नुपर्छ भन्ने प्रुँडोको विचार खोटपूर्ण थियो । ‘दर्शनको दरिद्रता’ यही पृष्ठभूमिमा तयार भयो । प्रुँडोको आर्थिक विश्लेषण र शान्तिपूर्ण तरिकाले व्यवस्था परिवर्तन या उत्पादन सम्बन्धमा कुनै फेरबदलबिना परिवर्तनको कल्पना गलत थियो । पुँजीवादी अर्थव्यवस्था या राज्य व्यवस्थामा सच्चा समाजवादको फलाकोबाजी भ्रामक थियो ।
माक्र्सले एडम स्मिथदेखि रिकार्डोसम्मका अर्थशास्त्रीहरूको मूल्य, भूमिकर, ‘Rent’ को सिद्धान्त अध्ययन गरी ‘राजनीतिक अर्थशास्त्रको आधार तयार गरे । सन् १८४९ मा उनले ‘ज्यालादारी र पुँजी’ शीर्षकमा नयाँ राइन पत्रिकामा लेखकहरू लेख्न थाले । मजदुरहरूले प्राप्त गर्ने ज्याला पारिश्रमिक हो या श्रमको मूल्य ? पुँजीपति या मजदुर मालिकले परिभाषित गरेको नाफा के हो ?
शोषकहरूले नाफाको रूपमा प्राप्त गर्ने अतिरिक्त मूल्य कहाँबाट आउँछ भन्ने रहस्योद्घाटन उनले गरे । मजदुरले आफ्नो श्रम शक्ति बेच्छ । वस्तुको स्वरूप श्रमशक्तिको उपज हो । वस्तुको मूल्य निर्धारणमा लागत जोडिएको हुन्छ । श्रमका लागि जति मूल्य दिनुपर्ने हो त्यो नदिइकन श्रमिकमाथि शोषण गर्छ । बढी घण्टा काम र कम ज्यालाले मालिकको नाफा बढ्छ । त्यो नाफा नै अतिरिक्त मूल्य हो । नाफाको सञ्चयले पुँजी निर्माण हुन्छ । पुँजी पुनः अतिरिक्त मूल्य सिर्जनामा खर्च हुन्छ र पुँजी सञ्चय बढ्छ । पुँजी सञ्चयले पुँजीवाद या शोषणको व्यवस्था अझ बलियो बन्छ । उनको ‘अतिरिक्त मूल्यको सिद्धान्त र पुँजी’ अर्थराजनीतिक वृत्तमा महत्वपूर्ण देन मानिन्छ । कामदार जनता कसरी शोषणमा पर्छन् भन्ने बुझ्न उनको यस सिद्धान्तले सघाउँछ ।
माक्र्स र एङ्गेल्सले १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गरे । दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक साम्यवादको सङ्क्षिप्त क्रमबद्ध व्याख्या घोषणापत्रमा छ । पुँजीवादी व्यवस्थाको उत्पत्ति, विकास र पतनसँगै नयाँ समाज निर्माणको बाटो खुल्ने वास्तविकता बोध छ । हरेक व्यवस्थाका अन्तरविरोधहरू, उत्पादन शक्ति अर्थात् बुर्जुवा उत्पादन शक्तिको अन्तरविरोधको अध्ययन छ । क्रान्तिले मात्र उत्पादन शक्तिको विनाश रोक्न सक्ने र मानव सभ्यताको रक्षा गर्न सक्ने तर्क प्रस्तुत गरे । उनले सर्वहारावर्ग पुँजीवादी समाजको उत्पीडित तर सबैभन्दा क्रान्तिकारीवर्गको रूपमा प्रस्तुत गरे । पुँजीपति वर्गविरुद्ध हुने सङ्घर्षमा सर्वहारावर्गको सहभागिता या भूमिका निर्णायक बन्छ । ठुलठुला कलकारखाना मालिकको शोषणको जग त्यहीका मजदुरहरूले हल्लाउने सत्य उजागर गरे । कम्युनिस्ट या सर्वहारा पार्टीको आवश्यकता या भूमिका बुझाए । कम्युनिस्टहरू निजी सम्पत्ति उन्मूलन गरी सार्वजनिक सम्पत्ति निर्माणमा केन्द्रित हुने तर्क दिए । घोषणापत्रको सुरुआत यसरी गरिएको छ, “अहिलेसम्म अस्तित्वमा रहेको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” अन्तमा लेखिएको छ, “मजदुरहरूसँग हार्नको निम्ति आफूलाई बाँधिएको सिक्रीबाहेक अरू केही पनि छैन । जित्नको निम्ति उसको अगाडि सारा संसार छ । संसारका मजदुरहरू एक होऔँ ।” माक्र्स र एङ्गेल्सले अन्तर्राष्ट्रवादी भावनाको आवश्यकता बोध गराए ।
समाजवादलाई परिकल्पनाबाट विज्ञानमा परिणत गर्ने दिशामा निर्णायक कदम थियो घोषणापत्र । घोषणापत्र प्रकाशनपछि युरोपमा क्रान्तिको थालनी भयो । सशस्त्र क्रान्तिबाट मात्र कामदार जनताले मुक्ति प्राप्त गर्ने तथ्यले मूर्त रूप लिँदै गयो । क्रान्तिपछिको समयमा माक्र्सले अनुभव गरे, “वर्गहरूको अस्तित्व उत्पादनको विकासका निश्चित ऐतिहासिक अवस्थासँग मात्र सम्बन्धित हुन्छ । सर्वहारा अधिनायकवाद वर्गसङ्घर्षको अनिवार्य परिणाम हो । यस्तो अधिनायकवाद सबै प्रकारका वर्गहरूको उन्मूलन र वर्गविहीन समाजको स्थापनातर्फ सङ्क्रमण मात्रै हो ।”
माक्र्सको पारिवारिक जीवनमा आर्थिक सङ्कट छायाजस्तै बन्यो । एङ्गेल्सले हरेक कठिन मोडमा उनलाई सघाए । एङ्गेल्स दर्शन र विचारहरू छलफल गर्ने, लेख्ने र सङ्घर्षको बाटोमा सहयात्रा गर्ने साथी मात्र थिएनन्† आफ्नो सम्पूर्ण दुःख पोख्ने भाँडो पनि थिए । माक्र्सको दुई केटाकेटीको मृत्युपछि आठ वर्षका छोरा एड्गरको मृत्यु भएको थियो । उनले आफ्नो बिमारी छोराको ओछ्यानमा धेरै अनिदो रात बिताए । उनले एङ्गेल्सलाई लेखेका थिए, “मुटुबाट रगतको धारा बग्न थालेजस्तो लाग्छ, आगो दन्केजस्तो टाउको रन्किन्छ । तिम्रो मित्रताले हामीलाई यस कठिन घडीको सामना गर्न सघायो ।” उनले थपे, “तिम्रो सम्झना, तिम्रो मित्रताको सम्झनाले संसारमा अझै हामी दुईजना मिलेर केही विवेकपूर्ण काम गर्नेछौँ भन्ने आशाले मात्र यो कष्ट सहन सकेको छु ।” माक्र्स र एङ्गेल्सको मित्रता एउटा मिसाइल थियो, उदाहरण बन्यो । निकै आर्थिक खाँचो बढेपछि माक्र्सले बेलायतबाट ‘न्युयोर्क ट्रिब्युन’ मा गहिरो आर्थिक लेख पठाउन थाले । कहिलेकाहीँ एङ्गेल्सले माक्र्सको नाममा लेख लेख्थे । ‘पुँजी’को दोस्रो र तेस्रो खण्ड त एङ्गेल्सले नै पुनर्लेखन गरेका हुन् । माक्र्सको मृत्युपछि पनि पुराना पाण्डुलिपि प्रकाशन र व्याख्यामा लागिरहे ।
दुःख कष्टले घेरिएको भए पनि माक्र्सको परिवार सुखी थियो । परिवारमा प्रेम थियो, सद्भाव थियो । जेनीजस्तो श्रीमतीबिना माक्र्सको जीवन सार्थक बन्दैनथ्यो सायद । जेनी र छोराछोरीको प्रेम माक्र्सको ऊर्जा थियो । खानको निम्ति केही नहुँदा पनि, सन्तान मर्दा कात्रो किन्ने पैसा नहुँदा पनि जेनी माक्र्सलाई माक्र्स बनाउने यात्रामा थिइन् । एक सम्भ्रान्तवर्गकी छोरीले अभाव, दुःखको पहाड छिचोल्न प¥यो । यद्यपि, माक्र्सको व्यक्तिगत जीवनमात्र होइन चिन्तनमा पनि सहयोग गरिन् । माक्र्सको जीवनसँग अन्योन्याश्रित नाम जेनी र एङ्गेल्सको विषयमा पुस्तकमा मन छुने प्रसङ्गहरू लेखिएका छन् ।
प्रजातान्त्रिक एवम् सर्वहारा आन्दोलनहरूको नयाँ विकासकालबारे चर्चा पुस्तकमा छ । इटालीको एकीकरण गर्ने क्रान्तिकारी मार्गका लागि सङ्घर्ष, माक्र्स र लासालको तीव्र मतभेद, सन् १८६३–६४ को पोलिस विद्रोह, रुसमा भूदासप्रथा उन्मूलन, संयुक्त राज्य अमेरिकाको गृहयुद्धबारे पुस्तकमा सङ्क्षिप्त चर्चा छ । पुँजीजस्तो अमर कृति लेखन, प्रकाशनबारे पुस्तकमा सप्रसङ्ग चर्चा गरिएको छ । समाजवादलाई कल्पनाबाट विज्ञानमा परिणत गर्ने कृति हो, पुँजी ।
उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, बिनाभेदभाव व्यक्तित्व विकासमा समान अवसर सिर्जना, शिक्षा, स्वास्थ्य निःशुल्क र अनिवार्य, गाउँ र सहरबिच भेद हट्ने, बौद्धिक र शारीरिक श्रमबिच भेद हट्ने, आर्थिक समानतासहितको मानव अधिकार प्राप्त हुने, वर्गविहीन र शोषणविहीन समाजको निर्माण, मानिसको जीवन सहज बनाउन विद्युतीकरणमा जोड दिने साम्यवादी समाज निर्माण गर्ने माक्र्सको सपना यो युगको पनि सपना हो । सोभियत रुसदेखि आजको चीनसम्म माक्र्स प्रभावकारी देखिन्छन्† माक्र्सवाद वैज्ञानिक अनुभव हुन्छ । अबको शताब्दी पनि माक्र्स र माक्र्सवादकै शताब्दी हुने सङ्केत वर्तमान विश्व व्यवस्थाले गरेको छ । माक्र्स र माक्र्सवाद अजेय र अपराजित रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *