भर्खरै :

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा स्टार्टअप सम्मेलन र व्यापार मेला हुने

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा स्टार्टअप सम्मेलन र व्यापार मेला हुने

भक्तपुर, २ जेठ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन तथा दोस्रो औद्योगिक प्रवद्र्धन व्यापार मेला हुने भएको छ ।
सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी स्टार्टअप सम्मेलन र व्यापार मेला सञ्चालनबारे जानकारी दिएको हो । वाग्मती प्रदेश सरकारअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरसँग सहकार्य गरी आगामी आइतबार जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लव वाग्मतीमा स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३ सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।
सम्मेलनले नेपालमा स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिको विकास, युवा उद्यमशीलतालाई प्रवद्र्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय तथा नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ । सम्मेलनअन्तर्गत प्यानल डिस्कसन, फाउन्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसन आयोजना गरिनेछ । प्यानल डिस्कसनमा सुबास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल वक्ताको रूपमा रहनेछन् भने सुगारिका केसी मोडरेटरको रूपमा रहनुहनेछ ।
यसैगरी, फाउन्डर स्टोरी सेसनअन्तर्गत सफल उद्यमीहरूले आफ्नो उद्यम यात्रा, सङ्घर्ष, सिकाइ र सफलताका अनुभवहरू साझा गर्नेछन् । उक्त सेसनमा सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापा रहनेछन् । सम्मेलनमा आयोजना हुने पिच डेक सेसनमा छनोट भएका उद्यमीहरूले आफ्नो व्यवसायिक अवधारणा तथा स्टार्टअप योजनाहरू विज्ञहरूको समूहसमक्ष प्रस्तुत गर्नेछन् । पिच डेक सेसनको निर्णायक मण्डलमा वान टु वाचका प्रबन्ध निर्देशक विश्व गिरी, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपाने र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य रहनुहुनेछ ।
आयोजकका अनुसार सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुहरूको प्रदर्शनीसमेत रहनेछ । अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सम्मेलनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीको वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने सङ्घअन्तर्गतको युवा उद्यमी उपसमितिका संयोजक कृतन अवालले बताउनुभयो ।
यसैगरी, सङ्घको आयोजनामा जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ हुने भएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालन गर्ने भएको हो ।
भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सञ्चालन हुने मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, तयारी पोशाक, बालबालिकाका खेलौना, गरगहना, सौन्दर्य तथा श्रृङ्गारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, रैथाने तथा अर्गानिक खाद्य सामग्री, इलेक्ट्रोनिक्सलगायत अन्य विविध सामग्रीहरूका ६० भन्दा बढी स्टल रहनेछन् । जसमध्ये ५० प्रतिशत बुकिङ भइसकेको सङ्घअन्तर्गतको मेला उपसमितिका संयोजक रंजित मारिखूले जानकारी दिनुभयो ।
मेलामा स्थानीय खानाका स्टलहरू पनि रहनेछन् भने विशेष साङ्गीतिक कार्यक्रम हुनेछ । बालबालिकालाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था हुनेछ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मेलाको सहयोगी निकाय रहेको छ तथा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रात्ेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ । मेला अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने मेला बिहान १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *