भर्खरै :

खाने जाँगर

खाने जाँगर

संसार विचित्रको छ, तर त्योभन्दा विचित्र त यो मान्छेको जात छ । मान्छे सधैँ अरुकै कुरा काट्नमा व्यस्त, अरुकै खोजीमा मस्त र अरुकै भरमा स्वस्थ रहन चाहने एक अनौठो प्राणी हो । आफ्ना आँखाले संसार नियाल्छ तर आफ्नै अनुहार हेर्न ऐना नै चाहिन्छ । आफ्नो भित्रको रित्तोपन नदेख्ने तर अरुको भकारीको प्वाल फेला पार्ने यो ‘बहुर्मुखी’ स्वभावले गर्दा नै होला, आज मलाई अचानक आफैँतिर फर्केर हेर्ने रहर जाग्यो । जब मैले आफ्नै अस्तित्वको ढोका ढकढक्याएँ, तब थाहा भयो—म त केवल एक रिक्त पात्र पो रहेछु ¤ न ममा सुर छ, न ममा ताल छ । न ममा नाच छ, न ममा चाल छ । न ममा ज्ञानको ज्योति छ, न त सत्कर्मको गति नै छ । म त केवल श्वास फेर्ने एउटा जिउँदो मेसिन पो रहेछु, जसको विशेषता भनेकै ‘खाने जाँगर’ हो ।
मलाई नाच्न आउँदैन, किनकि मेरा खुट्टाहरू धर्तीमा भन्दा बढी स्वार्थको हिलोमा थिचिएका छन् । मलाई गाउन आउँदैन, किनकि मेरो कण्ठबाट निस्कने ध्वनिमा राग होइन, राग–द्वेष र परनिन्दा मात्र भरिएका छन् । बोल्न त म पनि बोल्छु, तर मेरो बोलीमा न त महको मिठास छ, न त मन्त्रको पवित्रता । आजसम्म कसैले पनि “तपाईँको कुरा सुनिरहुँ जस्तो छ” भनेर प्रशंसाको एक शब्दसम्म खर्चेका छैनन् । यस्तो खस्रो र निरस बोलीलाई पनि के बोली भन्नु ? मुरलीको मधुर धुन निकाल्न त ओठमा कोमलता चाहिन्छ, तर मेरा ओठहरू त परनिन्दा र जिब्रालाई स्वाद मिलाइदिनका लागि मात्र अभ्यस्त छन् । अरूले कति राम्रो घिन्ताङघिन्तुङ मादल बजाउँछन् । ममा त्यो सीप पनि छैन । प्रस्टै भनौँ न, मलाई कुनै पनि बाजा बजाउन आउँदैन । म त स्वयं एउटा यस्तो बाजा भएछु जो बज्न भने हरक्षण तयार हुँदोरहेछ—त्यो पनि अरुकै तालमा ।
तर, यति धेरै ‘छैन’ हरूको भीडमा एउटा यस्तो कुरा फेला प¥यो, जसमा म ‘महारथी’ रहेछु । त्यो हो—खाने कला ! हो, ममा अरु केही गर्ने जाँगर नभए पनि खाने जाँगर भने अद्भूत छ । यो जाँगर यस्तो छ कि यसले न समय हेर्छ, न परिस्थिति । मेरो कला भनेकै खानु हो । सरकारको खाने, छिमेकीको खाने, साथीभाइको खाने, सकियो भने आफ्नै भविष्य पनि चपाएर खाने । यो ‘खाने’ शब्दभित्र कति गहिरो दर्शन लुकेको रहेछ भन्ने कुरा मैले आज बल्ल ठम्याउन सकेँ । खानु पेट भर्नु मात्र कहाँ हो र ? यो त एउटा वृत्ति हो, एउटा संस्कृति हो र आजको युगको त यो अनिवार्य विकृति पनि हो ।
हाम्रो इतिहास साक्षी छ, यहाँ जसले खान जान्यो, उसैले मान पायो । जो सोझाको श्रम र पसिना खान माहिर छ, उही समाजको ‘चतुर’ र ‘सफल’ पात्र कहलिन्छ । सरकारी अड्डाका कुर्सीहरू हेर्नुस् वा राजनीतिक मञ्चहरू—सर्वत्र खानेहरूकै रजगज छ । मौका पाए कसैले कमिसन खान्छन्, कसैले कसैको अधिकार खान्छन् । कसैले न्याय खान्छन् त कसैले देशै खाने दुष्प्रयास गर्छन् । यो सब देखेपछि मैले पनि त्यही ‘खाउवादी’ दर्शनलाई आफ्नो जीवनको मूल मन्त्र बनाएको छु । मेरो खाने शैलीमा एउटा गज्जबको हतारो छ । यदि खानमा एक पल मात्र ढिलो भयो भने मेरो अनुहारमा बाह्र हातको सुँडा पलाउँछ । केटाकेटीले झैँ जिद्दी गर्ने, रिसाउने र घुक्र्याउने मेरो यो बानी अझै गएको छैन । खान पाएपछि संसारै बिर्सने, नपाएपछि संसारै बिथोल्ने !
खानमा कतिसम्मको र कस्तो जाँगर हो यो ? अरुको भन्दा धेरै खानुपर्ने, अरुको भन्दा मीठो खानुपर्ने । यो होडबाजीमा मैले कहिल्यै अघाएको महसुस नै गरिनँ । पेट त भरिएला, तर यो तृष्णाको भकारी कहिल्यै भरिँदो रहेनछ । भोको पेटमा खानु त सबैको बाध्यता हो, तर अघाएको बेलामा पनि अरुको भाग खोसेर खानु मजस्ताको ‘आधुनिक सभ्यता’ को असली परिचय बनेको छ । साँच्चै नै मान्छे कतिसम्म निर्लज्ज छ भने, उसलाई आफ्नो भागको रोटीले पुग्दैन, उसलाई छिमेकीको थालको अचारमा पनि आफ्नै हक लाग्छ जस्तो लाग्छ । मेरो यो ‘खाने जाँगर’ ले मलाई श्रमबाट विमुख बनायो, पसिनाबाट टाढा राख्यो र केवल ‘उपभोक्ता’ मात्र बनाइदियो ।
मैले आज आफ्नै ऐनामा हेर्दा एउटा यस्तो मान्छे देखेँ, जो काम गर्न डराउँछ तर फल खान सधैँ अघि सर्छ । किताब पढ्ने जाँगर छैन, किनकि अक्षरहरूले सत्य बोल्छन् र मलाई सत्यसँग डर लाग्छ । कविता लेख्ने ढङ्ग छैन, किनकि कवितामा हृदय चाहिन्छ र मेरो हृदय त स्वाद र स्वार्थको बोसोले पुरिसकेको छ । भाषण गर्न आउँदैन, किनकि भाषणका लागि आदर्श चाहिन्छ र मेरो आदर्श नै ‘अरुको भाग कसरी हडप्ने’ भन्नेमा केन्द्रित छ । आकर्षक ढङ्गले पढ्ने कला पनि छैन, किनकि मेरा आँखा सधैँ अरुको थालमा कति छ भन्ने कुरामा मात्र टिकेका हुन्छन् । मेरो दृष्टि केवल ‘दृष्टि’ होइन, यो त एउटा ‘जाँच’ हो—कहाँ के पाकिरहेको छ र कसरी त्यहाँसम्म मेरो हात पुग्छ ?
पूर्वीय दर्शनले भन्छ—‘सन्तोषम् परम सुखम्’। तर मेरो दर्शनले भन्छ—‘भोजनम् परम पुरुषार्थम्’। अघाएको बेला पनि लोभले ¥याल चुहाउनु, अरुको उन्नति देखेर ईष्र्याको आगोमा भस्म हुनु र मौका मिल्नासाथ कसैको खुट्टा तान्नु—के यो पनि एक प्रकारको ‘खुवाइ’ होइन र ? हामी कसैको समय खान्छौँ, कसैको विश्वास खान्छौँ र अन्त्यमा पछि आफैँले आफैँलाई पश्चात्ताप र ग्लानिमा खान्छौँ । समाजका ठालुहरूलाई हेर्नुस्, उनीहरू ‘समाजसेवा’ को नाममा समाजकै जरा खान्छन् । अधिकांश युवा पुस्तालाई हेर्नुस् , उनीहरू माटो नछोइकन मजाले मोज गरेर खान चाहन्छन् । म पनि यो समाजको तिनकै एक प्रतिनिधि पात्र हुँ । मलाई परिश्रमको रोटीभन्दा आरामीको लड्डु र रसबरी बढी मीठो लाग्छ ।
यो ‘खाने लत’ यस्तो विषालु रहेछ कि यसले मान्छेलाई विवेकहीन र पुरुषार्थहीन बनाउँदो रहेछ । सोझै भन्नुपर्दा–मलाई काममा मन लगाउन ‘कष्ट’ लाग्छ, नाम कमाउनमा ‘नष्ट’ लाग्छ, तर माममा भने सधैँ ‘मस्त’ लाग्छ । मेरो यो जाँगरले मलाई सधैँ अरूप्रति निर्भर बनायो । अरुले काम गरिदिऊन् र म त्यसको सुख भोग्न पाऊँ भन्ने मेरो यो परजीवी सोच कति घातक छ ! म त एउटा यस्तो ‘पेट’ भएँ, जसको कुनै हात छैन । हात छ त केवल मुखसम्म पुग्नका लागि मात्र ।
अन्त्यमा, यो ‘खाने जाँगर’ वास्तवमा एक मानसिक रोग र सामाजिक कोढ हो । अरुको श्रममा रजाइँ गर्ने, आफ्नो क्षमताको विकास नगर्ने र उपभोगमा मात्र रमाउने प्रवृत्तिले मान्छेलाई भित्रभित्रै खोक्रो बनाउँछ । मलाई आज महसुस हुँदै छ—म त एउटा हिँडिरहेको ‘पेट’ मात्र पो रहेछु ¤ न ममा सिर्जनाको सुवास छ, न त सेवाको सन्तुष्टि । मसँग केवल एउटा भद्दा ‘खाने कला’ छ, जसले मलाई मान्छेबाट बिस्तारै एउटा स्वार्थी ‘खन्चुवा’ मा रूपान्तरण गर्दै छ ।
यदि समयमै यो ‘खाने जाँगर’ लाई ‘गर्ने जाँगर’ मा बदल्न सकिएन भने, यो अघाएको बेलाको अतृप्त खानपानले एक दिन मेरै अस्तित्वलाई निल्नेछ । शरीर अघाए पनि मन नअघाउने यो रोगले समाजलाई नै कङ्गाल बनाउनेछ । त्यसैले, अब अरुको खोजी होइन, आफ्नै पहिचानको खोजी गर्ने बेला आएको छ । अरुको भर होइन, आफ्नै भरमा उभिने बेला आएको छ । नत्र भने, भोलिको इतिहासले मलाई एउटा ‘मान्छे’ को रूपमा होइन, एउटा ‘अघाएको तर अतृप्त पेट’ को रूपमा मात्र सम्झिनेछ । त्यतिबेला मलाई म मात्र होइन, यो सारा सृष्टिले धिक्कार्दै सोध्नेछ—“के तिमीसँग खाने कलाबाहेक अरु कुनै परिचय छैन ? के तिम्रो जीवन अर्काको भाग खोसेर पेट भर्नकै लागि मात्र थियो ?” यो प्रश्नको उत्तर खोज्न अब मैले खाने जाँगर होइन, बाँच्ने र केही गर्ने नयाँ जाँगर पलाउनु पर्छ । नत्र मेरो जीवनको कथा केवल एउटा ‘भोजन–कथा’ मा सीमित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *