उँचो महल
- जेष्ठ १, २०८३
लघु कथा
फरक–फरक विद्यालयमा कार्यरत तीन जना शिक्षकहरू तालिममा सहभागी हुन गएका थिए । उनीहरू तीनैजना बाहुन थिए । उनीहरू पहिला एउटै विद्यालयमा पढेका साथीहरू थिए । उनीहरूमध्ये पहिलो व्यक्तिवादी, दोस्रो प्रजातन्त्रवादी र तेस्रो समाजवादी विचारका शिक्षकहरू थिए । तालिम सकिएपछि उनी चिया पसलमा पसे । चियाको चुस्की लिएपछि प्रजातन्त्रवादी शिक्षकले भने, “आहा ! चिया त कति मीठो र स्वादिलो छ । हेर्नुस्, यही स्वादले गर्दा बाहुनहरू खाने ठाउँमा दुई कदम अगाडि हुन्छन् तर लडाइँमा भने दुई कदम पछाडि हुन्छन् । त्यही भएर नेता, कर्मचारीहरू प्रजातन्त्रको मूल्यमान्यताअनुसार अगाडि नबढ्दा, आचरण नहुँदा देशमा भदौ २३ र २४ गते उपद्रव भयो । त्यसमा विदेशीले खेल्न अवसर पाए । त्यसैको परिणाम देशले भोग्दै छ । म त सबै ठाउँ सिस्टम, प्रजातन्त्रले चल्नुपर्छ भन्ने मान्छे हुँ । हामीले सिङ्गापुर देखेकै छौँ ।”
प्रजातन्त्रवादी शिक्षकको कुरा सुनेपछि व्यक्तिवादी शिक्षकले चियाको चुस्की लिँदै अलि रिसाएर भने, “सर, के कुरा गर्नुभएको ? आफू बाहुन भएर पनि त्यसो भन्ने हो ? त्यो तपाईँको विचार भयो । सिस्टम, प्रजातन्त्रको कुरा छोडिदेऔँ । पहिला आफूले के पाउँछ त्यसलाई हेर्नुपर्छ । आफूले पाउनुपर्ने कुरालाई प्राथमिकता दिनुपर्छ । तपाईँले के पाउनुहुन्छ त्यो मुख्य हुन्छ । नचाहिने कुरा गर्नुहुन्छ । संस्था र देशको कुरा गोली मार्नुस् । आफू भलो त जगत् भलो नि !”
दुवै शिक्षक साथीको विचार सुनेपछि समाजवादी पक्षधर शिक्षकले भने, “म त जगत् भलो त आफू भलो भन्ने विचारको मान्छे हुँ । म प्रजातन्त्रवादी शिक्षक साथीको विचारसँग नजिक छु । बाहुनहरूले चाहे देश बन्थ्यो तर आफूहरू मात्र बने । के गर्नु खाने ठाउँमा बाहुनहरू नै अगाडि छन् । देश बनाउने र जोगाउने ठाउँमा भने पछाडि नै छन् । त्यसो नभएको भए भदौ २३ र २४ गते देश जल्ने थिएन, जलाउन सक्ने थिएन । त्यो उपद्रव नै हुने थिएन । दलका नेता, सेना, प्रहरी, कर्मचारी आदि सत्ताको केन्द्रमा बाहुनहरू नै थिए । उनीहरू भ्रष्टाचारी, देशघाती, जमिनदार, शोषक, सामन्त भइदिँदा देशले त्यो दुर्गति भोग्नुप¥यो । तर, सबै बाहुन त्यस्ता हुँदैनन्, राम्रा र देशभक्त पनि छन् । बाहुन पनि शोषक र शोषित गरी दुई वर्गका हुन्छन् । बहुमत गरिब, शोषित बाहुन हलो जोतेर र भारी बोकेर गुजारा गरिरहेका छन् । समाजवादमा योग्यताअनुसारको काम, कामअनुसारको ज्याला पाउने हुँदा कोही बेरोजगार हुँदैनन्, शोषण हुँदैनन् । सबै समान हुन्छन् । चीन, उत्तर कोरिया, क्युवा आदिका उदाहरण हाम्रो अगाडि छ ।”
चियाको चुस्की लिएपछि फेरि उनले गहन कुरा राखे, “हेर्नुस्, हिजो पञ्चायत कालमा हामी शिक्षकहरू यही समाजवादी विचार र आचरणका थियौँ । तर, देशमा प्रजातन्त्र आएपछि बारीमा साँढे पसेजस्तै विदेशी एनजीओ, आईएनजीओका बडेमान साँढेहरू पसे । परिणामतः शिक्षक, नेताहरूको जाज्वल्यमान त्यो समाजवादी विचार र आचरणमा स्खलन आयो । त्यसैले, पेसागत सङ्घ, संस्थामाथि सरकारले प्रतिबन्ध लगाउँदा, खारेज गर्दा पनि शिक्षक, दल, विद्यार्थी खासै बोल्न सकेनन् । अब हामी शिक्षक पनि सच्चिएर देश बनाउन र जोगाउन अगाडि बढ्नुपर्छ भन्दै चियाको पैसा दिएर तीनै जना शिक्षक त्यहाँबाट गए ।
Leave a Reply