चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
वीरेन्द्रनगर, ३ जेठ । विविध विधाका साहित्यकार एवम् संस्कृतिकर्मीहरूको भेला तथा साहित्य गोष्ठी र सांस्कृतिक कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले कम्युनिस्ट नामका पुँजीवादी दलहरू नामले मात्र कम्युनिस्ट भएको तर व्यवहार पुँजीवादी दलहरू भएकाले देश र जनताको समस्याभन्दा व्यक्तिगत फाइदामा लागेकाले जनतामाझ नाङ्गिँदै गएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार सदस्य नर्मा गुरुङले पुँजीपतिहरूले कामदारवर्गलाई शोषण गरेर आफू धनी बन्ने र गरिबलाई दबाइरहने गरेको स्मरण गर्दै नेपाल मजदुर किसान पार्टीले आफ्नोे स्थापनाकालदेखि नै पुँजीपतीवर्गले गरेको शोषणको विरुद्ध निरन्तर लडिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले साहित्यले जनताको मनको भावना बोल्ने भएकोले साहित्य पनि वर्गीय हुन्छ भन्नुभयो । उहाँले प्रतिक्रियावादी साहित्यले छाडा र समाजमा विकृति फैलाउने भएकाले हाम्रा साहित्यकारहरूले जनताका समस्याका बारेमा लेख्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेशका सदस्य धनेन्द्र विकले सिद्धान्तहीन एकताले समाज परिवर्तन गर्न नसक्ने भएकोले पुँजीवादी विचारका दलहरूसँग नेमकिपाले मोर्चाबन्दी गर्दैन बरु निरन्तर समाजवादी गणतन्त्रको प्रचार गरिरहने बताउँदै समाज परिवर्तनमा कला साहित्यले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार सदस्य डा. दीपक गौतम, प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेश समिति सचिव हरिलाल महत्तरा, साहित्यकार टीकाप्रसाद पोखरेल, नेमकिपा वीरेन्द्रनगर नगर समिति अध्यक्ष शेरबहादुर शाही, गणेश खड्का, मनबहादुर विक, इन्द्रप्रसाद न्यौपाने, जागेश्वर नेपाललगायतले साहित्य वाचनसहित साहित्यसम्बन्धी बोल्नुभएको थियो ।
कार्यक्रममा ऐनबहादुर शाही, पर्व कार्की, अविसरा विक, जानकी विक, जानकी सुनार, रणबहादुर राना, खेमराज कडेल, छत्रिका विक, रमा गिरीलगायतले गीत, कविता, गजल वाचन गर्नुका साथै नृत्य प्रस्तुत गर्नुभएको थियो ।
युवा विद्यार्थीको आयोजनामा भएको कार्यक्रम नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका सचिव सर्मिला विकको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले टीकाप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कर्णाली कला साहित्य समाज गठन गरेको छ ।
Leave a Reply