भर्खरै :

‘जिब्रोजी’ को मजा र भुँडीको बेहाल !

‘जिब्रोजी’ को मजा र भुँडीको बेहाल !

हास्यव्यङ्ग्य
विधाताले मानव शरीरको कारखाना बनाउँदा कुन मुडमा थिए कुन्नि, अरू अङ्गलाई हाडखोरको कडा कस्ट्युम पहिराए, तर यो जिब्रोलाई भने बिनाहाडको, नरम, चिप्लो र चुलबुले बनाइदिए । हेर्दा कस्तो सोझो, निर्दोष र कमजोरजस्तो ! फेरि, बस्ने ठाउँ हे¥यो भने बडो खतरनाक छ – वरिपरि बत्तीसवटा कडा र धारिला दाँतका हतियारधारी सिपाहीँहरू चौबीसै घण्टा तैनाथ छन् । थोरै मात्र असावधानी भयो भने ती तीखा दाँतका आराहरूले चटाचट काटेर दुई टुक्रा पार्न तयार बस्छन् । तर, धन्य हाम्रा जिब्रोजी ! ती बत्तिसे दाँतका कालकुट खड्गहरूका बिचमा पनि यसरी चिप्लिँदै, जिस्किँदै र कम्मर मर्काउँदै जोगिएर बस्छन् कि मानौँ उनी कुनै कुशल सर्कसका अन्तर्राष्ट्रिय खेलाडी हुन् । दाँतले टोक्न खोज्छ, जिब्रो जुरुक्क उठेर एकातिर पन्छिन्छ । बिचरा दाँत आफैँ ठोक्किएर रनभुलमा पर्छ, जिब्रो भने ओठको पर्दाभित्र मुसुमुसु हाँस्छ । यस्तो चतुर, चाम्रो र कूटनीतिक अङ्ग यो धर्तीमा सायदै अर्को होला ।
यो जिब्रोको जातै कस्तो अनौठो छ भने, आफू बस्छ मुखरूपी अन्धकार गुफाभित्र तर बजारका सारा उज्याला, रङ्गीचङ्गी र ग्ल्यामरस स्वादहरू यसैलाई चाहिन्छ । संसारका भएभरका स्वादको ठेक्का र एकाधिकार यसैले लिएको छ । गुलियो देख्नै नहुने – ¥यालको बाढी ओरालिहाल्ने† अमिलो सुन्नै नहुने – मुखै अमिल्याइहाल्ने; नुनिलो र पिरो त यसका जनम–जनमका अनन्य मित्र नै भइहाले । मरिचको रमरम पिरो होस् कि अकबरे खुर्सानीको चर्को पिरो, जिब्रोलाई एकचोटि त्यसको स्वादको सागरमा डुबुल्की मार्नैपर्छ । स्वादको यो अनन्त र अतृप्त भोकले गर्दा जिब्रोजी कहिल्यै अघाउँदैनन् । आफू त स्वादको मज्जा लिएर मुखभित्र लुकेको लुक्यै’ गर्छिन्, तर त्यसपछिको सारा ‘महाभारत पीडा’ भने भित्री अङ्गहरूले भोग्नुपर्छ । जिब्रोले ‘वाह, क्या स्वाद !’ भन्दै मिठो मानेर हाँसीहाँसी निलिदिन्छ, तर त्यो स्वादको विषदण्ड र महँगो मूल्य, भित्र रहेका मुटु र कलेजोले ब्याजसहित बेहोर्नुपर्छ भन्ने कुरासँग यो विलासी सामन्त जिब्रोलाई कुनै सरोकार हुँदैन । आफू मज्जाले स्वादको मदिरामा झुम्छ, अनि भित्र मुटुलाई ‘धडकन’ बढाउने र कलेजोलाई ‘बोसो’ को लेयर थप्ने तनाव उपहार दिएर आफू हाइसन्चो मान्छ ।
हाम्रो समाजमा आजभोलि भोजभतेर, विवाह र उत्सवको लहर चल्दा जिब्रोको रौसिने पारा झनै हेर्नलायक हुन्छ । पार्टी प्यालेसमा लहरै राखिएका तावा, कराही र ताता बुफे काउन्टर देखेपछि जिब्रोको ¥यालको बाँध फुट्छ र त्यसले मर्यादाको सीमा नाघ्छ । घरमा पनि आमा वा श्रीमतीले अलिकति बढी नै घिउतेल, गरम मसला र रङ्ग हालेर स्वादिलो माछामासु वा पकौडा पकाइदिए भने त जिब्रो महाशयको खुट्टा भुइँमा हुँदैन, उनी सिधै आकाशमा उड्न थाल्छन् । सडकको पेटीमा हिँड्दाहिँड्दै पनि होटलको ऐनामा जेरी, रसबरी वा समोसा देख्यो भने यसले गोडालाई कडा कमान्ड दिन्छ, “लौ त्यतैतिर हिँड्, एकदुई पाउ भए पनि किन् ¤’ तर, ठीक यही बेलामा शरीरको भित्री इन्जिनले भने रातो बत्ती बालेर खतराको साइरन फुकिरहेको हुन्छ । पेटले भित्रबाट सुस्तरी, मलिन र कारुणिक स्वरमा चिच्याउँछ, “प्रभु ! क्यालोरीको कोटा पूरा भयो, कार्बोहाइड्रेट ओभरफ्लो भइसक्यो, अब ठाउँ छैन, मेसिन जाम हुन लाग्यो र भल्भ पड्किने अवस्था आयो !” तर, बाहिर मूल गेटको गेटपाल र सेन्सर बनेर बसेको जिब्रोले पेटको त्यो रोदन, क्रन्दन र संवैधानिक चेतावनीलाई सिधै खारेज गरिदिन्छ । पेट अघाइसकेर ढ्याउढ्याउ भई श्वास फेर्न गा¥हो भइरहँदा पनि जिब्रो भने अझै रौसिरहेको हुन्छ, मच्चिरहेको हुन्छ । त्यसले निर्लज्जतापूर्वक भन्छ, “यो पेट त एउटा हावा भरिने बोरा त हो नि, अलिकति खाँदेर राखे भइहाल्यो नि, रसबरीको रस र आइसक्रिमको स्वाद त अझै मैले मज्जाले लिन बाँकी नै छ !” अनि त के चाहियो र ? पेट भित्रभित्रै रुन्छ, जिब्रो बाहिरबाहिरै हाँस्छ र थपिएका रसबरी, पुलाउ र मटनका चोक्टाहरू घाँटीको बाटो हुँदै भित्र जबरजस्ती कोचिरहन्छन् ।
जिब्रोको यो अराजक कुरुक्षेत्रमा सबैभन्दा बढी सोझो, लाटो र उत्पीडित प्राणी कोही छ भने त्यो यही बिचरा भुँडी नै हो । भुँडी जति नै रोए पनि, चिच्याए पनि, कराए पनि, अन्ततः उसले जिब्रोको लहड र सनकको भारी बोक्नैपर्छ । जिब्रोले क्षणिक, केही सेकेन्डको आनन्दका लागि जस्तोसुकै अमिलो, पिरो, डढेको र मसलादार परिकार पनि धमाधम बिनाकुनै भन्सार चेकजाँच भित्र पठाइदिन्छ । यसरी जिब्रोले त स्वाद लियो, कुरा सिद्धियो । स्वादको मजा लिएपछि जिब्रो आफ्नै ओछ्यानमा हाई–हाई गर्दै सुत्छ र दाँतको पहराभित्र आनन्द मनाउँछ । तर, त्यो कोचिएको कुरा पचाउन र विषाक्त तत्वलाई रिसाइकल गर्न भित्र कलेजोले कति कसरत गर्नुपर्छ, पित्तथैलीले कति पसिना बगाउनुपर्छ र आन्द्राभुँडीले कति सकस बेहोर्दै ऐया–ऐया गर्नुपर्छ, त्यो त भुँडीलाई मात्र थाहा हुन्छ । जिब्रोको एउटा सानो, क्षणिक र अनुत्तरदायी रहरले गर्दा सारा शरीर नै अन्ततः विभिन्न कडा रोगहरूको नयाँ राजधानी र नयाँ सचिवालय बन्न पुग्छ । सुगर, प्रेसर, ग्यास्ट्रिक, फ्याटी लिभर र युरिक एसिडका नयाँ–नयाँ विलासी अतिथिहरू शरीरमा स्थायी रूपमा डेरा जमाउन र भाडा नदिई बस्न आउँछन् । जब शरीर थला पर्छ र हामी डाक्टरकहाँ पुग्छौँ, तब डाक्टरले गम्भीर मुडमा चस्मा मिलाउँदै भन्छन्, “हेर्नुस् महोदय, यदि बाँच्ने इच्छा छ भने यो जिब्रोलाई अलिकति लगाम लगाउनुस् र अनुशासनमा राख्नुस् !” तर, लगाम लगाउने कसरी ? यो त कुनै विनालगामको जङ्गली र जङ्गी घोडा हो, जो स्वादको खुला मैदान देख्नेबित्तिकै विवेकको बार नाघेर जताततै दगुरिहाल्छ त !
वास्तवमा गहिरिएर हेर्ने हो भने, यो मानव शरीरभित्र जिब्रो एउटा यस्तो चतुर र क्रूर शोषक सामन्त हो, जसले कडा श्रम अरू अङ्गहरूलाई गराउँछ तर त्यसको जस, रस र प्रतिष्ठा भने आफू मात्रै कुम्ल्याउँछ । हातले दुःख गरेर खाना टिपेर मुखमा हालिदिनुपर्ने, दाँतले ढुङ्गा कुटेझैँ पसिना निकालेर चपाइदिनुपर्ने, घाँटीले कष्टपूर्वक निल्नुपर्ने र पेट तथा आन्द्राले रातभर जागराम बसेर पचाउनुपर्ने – अर्थात् मेहनत, श्रम र हिलोमैलोको काम जति अरू अङ्गको, तर नाम, सन्तुष्टि र वाहवाही जति सबै यो साढे दुई इन्चको जिब्रोको ¤ यदि जिब्रो थोरै मात्र समझदार, लोकतान्त्रिक र संवेदनशील भइदिएको भए, उसले पेटको आन्तरिक स्वास्थ्य, कलेजोको रोदन र मुटुको धडकनको कदर गरिदिएको भए सायद आज मानिसहरू यसरी अकालमै अस्पतालको शय्यामा पुगेर ग्लुकोजको पानीमा आफ्नो जीवन साटिरहनुपर्ने थिएन होला । तर, अफसोस ! यो विलासी जिब्रोलाई त वर्तमानको तत्कालको आनन्द, क्षणिक स्वाद र बजारु सुख मात्र चाहिन्छ । यसलाई भोलिको विनाशसँग कुनै सरोकार नै छैन ।
“शत्रु भनेका–जित्न नसकिएका आफ्नै इन्द्रियहरू हुन्” भनेको साँच्चै हो रहेछ ¤ जिब्रोको यो चुलबुले, स्वार्थी र अनुत्तरदायी चरित्रका कारण आजको आधुनिक र शिक्षित भनिने मानिस पनि आफ्नै शरीरको सार्वभौम मालिक हुन सकेको छैन, बल्कि ऊ त जिब्रोको एउटा लाचार र आज्ञाकारी कमारो मात्र बनिरहेको छ । यो सानो, बिनाहाडको मासुको चल्तापुर्जा टुक्राले सिङ्गो साढे पाँच फिटको बुद्धिमान् मान्छेलाई समेत स्वादको इसारामा सडकदेखि अस्पतालसम्म नचाइरहेको छ, सारालाई कष्ट दिइरहेको छ र कहिलेकाहीँ त आर्यघाटसम्म पनि पु¥याइरहेको छ । त्यसैले, जिब्रोको स्वादको साम्राज्यमा पूर्णविराम नलगाएसम्म भुँडीको बेहाल र शरीरको कुरुक्षेत्र कहिल्यै शान्त हुनेवाला छैन र मानव स्वास्थ्यको सङ्कट पनि टर्नेवाला छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *