भर्खरै :

मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट

मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट

पेइचिङ, ११ जेठ (एएफपी) । मध्यपूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार पेइचिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गर्नुभएको छ । अमेरिका–इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढिरहेको समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङसँगको भेटअघि प्रधानमन्त्री शाहबाज सरिफले चीनका प्रधानमन्त्री ली छियाङसँग पनि वार्ता गर्नुभएको थियो । पेइचिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनियाँ सरकारी सञ्चारमाध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।
पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनीरले पनि चीन भ्रमणमा प्रधानमन्त्री सरिफलाई साथ दिनुभएको छ । अमेरिका र इरानबिचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढिरहेको बेला मुनीरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ ।
गत महिना पाकिस्तानले अमेरिका र इरानबिच ऐतिहासिक आमनेसामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो । यद्यपि, उक्त प्रयास दीर्घकालीन सम्झौतामा रूपान्तरण हुन सकेन ।
यसबिच चीनले तुलनात्मक रूपमा संयमित तर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । पेइचिङले टेलिफोन संवाद तथा खाडी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठकमार्फत क्षेत्रीय तनाव कम गर्ने प्रयास जारी राखेको छ ।
पेइचिङमा चिनियाँ नेतृत्वसँगको भेटका क्रममा सरिफले विश्व अहिले महत्वपूर्ण मोडबाट गुज्रिरहेको बताउनुभएको पाकिस्तानी सरकारी टेलिभिजन पीटीभीले जनाएको छ । उहाँले अमेरिका–इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ ।
सरिफका अनुसार सेना प्रमुख मुनीर तेहरान भ्रमणमा सहभागी भइसकेपछि पनि चीनको यो महत्वपूर्ण भ्रमण छुटाउन इच्छुक हुनुहुन्नथ्यो । “कुराहरू सही दिशातर्फ अघि बढिरहेका छन् र शान्ति प्रवद्र्धनमा चीनले दिएको समर्थनप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभएको थियो ।
प्रधानमन्त्री सरिफले शनिबार पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हाङ्झोउबाट आफ्नो चारदिने आधिकारिक चीन भ्रमण सुरु गर्नुभएको हो ।
यसअघि युद्ध अन्त्यतर्फको मध्यस्थता प्रयासकै क्रममा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीसँगै सेना प्रमुख मुनीरले शुक्रबार र शनिबार तेहरानको भ्रमण गर्नुभएको थियो । त्यसपछि भएको चीन भ्रमणले इस्लामाबादको बहुपक्षीय कूटनीतिक सक्रियता थप स्पष्ट पारेको छ ।
चीनले पनि मध्यपूर्वमा शान्ति र स्थिरता पुनःस्थापनाका लागि पाकिस्तानसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
अप्रिलमा युद्ध सुरु भएयता अमेरिका र इरानी अधिकारीहरूबिच भएको एकमात्र प्रत्यक्ष वार्ताको आयोजना पाकिस्तानले गरेको थियो । त्यस वार्तामा असीम मुनीर निकै सक्रिय भूमिकामा देखिनुभएको थियो । दुवै प्रतिनिधिमण्डललाई स्वागत गर्नुका साथै अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको सार्वजनिक मैत्रीपूर्ण व्यवहारले पनि उहाँ वार्ताको केन्द्रमा रहनुभएको थियो ।
तर अन्ततः ती वार्ताहरू सफल हुन सकेनन् । इरानले अमेरिकामाथि ‘अत्यधिक माग’ राखेको आरोप लगाउँदै सहमति प्रक्रियाबाट दूरी बनाएको थियो । त्यसपछि चीन र पाकिस्तानले क्षेत्रीय शान्ति प्रयासमा समन्वय बढाउने सङ्केत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *