हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
(इयान एङ्गसको पुस्तक ‘मेटाबोलिक फाटो : पृथ्वी प्रणालीमा पुँजीवादको प्रहार’ (Metabolic Rifts: Capitalism’s Assault on the Earth System) ‘मन्थली रिभ्यू’ ले हालै प्रकाशित ग¥यो । सोही पुस्तकको सेरोफेरोमा रहेर मार्टिन इम्पसनले लेखकसँग लिएको अन्तर्वार्ता यहाँ प्रकाशित गरिएको छ ।)
मार्टिन इम्पसन : तपार्इँको नयाँ पुस्तक पुँजीवादले जन्माएका अनेक वातावरणीय सङ्कटमा केन्द्रित छ । कति घातक छ यो सङ्कट ?
इयान एङ्गस : गत हिमयुगदेखि झन्डै १२ हजार वर्षसम्म पृथ्वीको माहोल मानव विकासको लागि सुहाउँदो रह्यो । यसले गर्दा कृषिको आविष्कार भयो; ठुला र जटिल समाजको विकास भयो । आज जुनसुकै हालतमा नाफा कमाउने पुँजीवादको लालसाले गर्दा वातावरण परिवर्तन भएको छ । यसले त्यो माहोल बिगारेको छ । शरीरभित्र रहने आत्मरक्षित रोगले शरीरमाथि आक्रमण गरेजस्तै पुँजीवादले आफैलाई पाल्ने पृथ्वीलाई धुजाधुजा पार्दै छ ।
वैज्ञानिकहरूले ‘मानव जाति सुरक्षित रहन’ का लागि नौवटा वातावरणीय सर्त पूरा हुनुपर्ने बताएका छन् । हरितगृह ग्यासको उत्सर्जनले हुने तापमान वृद्धि, समुद्रको अम्लीकरण, जैविक प्रजातिहरूको विलोपनलगायत सीमाहरू छन् । पृथ्वीलाई मानव बसोबासका लागि उपयुक्त बनाउने हो भने यी सीमाहरूलाई सम्मान गर्नुपर्छ ।
नौमध्ये आठ सीमाहरू आज नघिसकेको अवस्था छ । यीमध्ये कुनै पनि सीमा नाघेको अवस्थामा एउटा कुइनेटो (टिपिङ प्वाइन्ट) मा पुगिने र त्यहाँबाट फर्किन नसकिने कुरामा जानकारहरूले गम्भीर चासो देखाएका छन् ।
विश्वभरि स्थिति नाजुक छ र झन्झन् खस्किने अवस्था छ । एक दशकअघि वैज्ञानिकहरूले जे पूर्वानुमान गरेका थिए, त्यो भन्दा तीव्र बेगमा परिस्थिति फेरिँदै छ । यसको असर विश्वका सबैभन्दा गरिब जनताले भोग्नुपरेको छ । जब कि यो सङ्कट ल्याउनमा उनीहरूको भूमिका एकदम कम छ ।
चाँडै केही गरिएन भने विश्वको धेरै भूभाग बसोबास लायक रहनेछैन । पृथ्वीभरि नै प्राणीहरूलाई बाँच्न मुस्किल हुनेछ ।
इम्पसन : तपार्इँको विश्लेषणको मुटुमा कार्ल माक्र्सको ‘मेटाबोलिक फाटो’ को सिद्धान्त छ । आजका अभियन्ताहरूका लागि यसको सान्दर्भिक कति होला ?
एङ्गस : मेटाबोलिक फाटोको सिद्धान्तले वातावरणीय सङ्कट बुझ्नका लागि अति आवश्यक खाका प्रदान गर्छ । पुँजीवादले किन र कसरी प्रकृतिविरुद्ध लगातार युद्ध गर्छ भन्ने कुरा उजागर गर्छ ।
प्राणी र प्राणी जीवन जोगाइराख्ने वातावरणीय सर्तहरू मेटाबोलिक चक्रमा निर्भर हुन्छन् । यी चक्रमा जीवनका लागि चाहिने अत्यावश्यक चीजबीजहरूको निरन्तर ‘रिसाइकल’ (पुनर्चक्रण वा नवीकरण) हुन्छ । उदाहरणका लागि, प्राकृतिक प्रक्रियाहरूमार्फत हाम्रो ग्रहले प्रत्येक वर्ष ३५० अर्ब टन कार्बन डाइअक्साइड फाल्ने र सोस्ने काम गर्छ । यसमा जीवजन्तु र बोटबिरुवा दुवैको श्वासप्रश्वास समेटिन्छ ।
लाखौँ वर्षसम्म उत्सर्जन र अवशोषण लगभग सन्तुलित अवस्थामा थियो । कार्बन चक्रले नै पृथ्वीमा जीवनको अस्तित्व सम्भव बनाउँछ । लगातार कार्बनको चक्र चल्छ । जीवनलाई चाहिने पदार्थ र ऊर्जाको प्रयोग र पुनः प्रयोग चलिरहन्छ ।
यो चक्रको विपरीत पुँजीवाद एकसुरे छ । नाफामा योगदान नदिने (प्रकृतिको) जुनसुकै हिस्सालाई बेवास्ता गरिन्छ, त्यसलाई पुनः ‘रिसाइकल’ गरिन्न । माक्र्सवादी दार्शनिक इस्तभान मेसजारोसले लेखेका थिए, “पुँजीवादले कति उन्नति ग¥यो भन्ने मापन यसले कति धेरै फोहर पैदा गर्न र फाल्न सक्छ भन्ने कुरामा निर्भर हुन्छ ।”
पुँजी जीवाष्म इन्धनमा निर्भर छ र यसले फोहरका रूपमा कार्बन डाइअक्साइड पैदा गर्छ । प्राकृतिक प्रक्रियाहरूले सोस्नै नसक्ने मात्रामा यसले कार्बन उत्सर्जन गर्छ । वायुमण्डल र समुद्रमा यो ग्यासको रास लाग्छ । यसले पृथ्वीको तापमान बढाइदिन्छ भने प्रमुख खाद्यान्न बालीको पोषक तत्व घटाइदिन्छ ।
कार्बन चक्रमा विकराल फाटो आएको छ । प्रदूषण नगरी उत्पादन गर्न नसक्ने पुँजीवादको असमर्थताका कारण यो फाटो आएको हो ।
पुस्तकमा मैले ‘मेटाबोलिक फाटो’ को अवधारणाले कसरी हामीलाई वातावरणीय विनाशका कारणहरू बुझ्न र हाम्रो विश्वव्यापी सङ्कटलाई हल गर्ने बाटो पहिल्याउन सघाउँछ भनी चर्चा गरेको छु ।
इम्पसन : पछिल्ला वैज्ञानिक अनुसन्धानहरूलाई प्रयोग गरेर मानव र प्रकृतिबिचको सम्बन्ध केलाउन तपार्इँले माक्र्सवादी पद्धतिलाई अपनाउनुभएको छ । अन्य वैज्ञानिकहरूले वातावरणीय सङ्कटलाई कसरी हेरेका छन् ?
एङ्गस : पहिलो कुरा, जलवायु सङ्कट बढिरहेको विषयमा वैज्ञानिकहरूबिच उति मतभेद छैन । कुनै पनि भरपर्दो वैज्ञानिकले विश्व तापमान वृद्धिलाई झूटो भन्दैन । यसको कारण उद्योग र कृषिले पैदा गर्ने हरितगृह ग्यासको उत्सर्जन हो । यसमा पनि वैज्ञानिकहरूको लगभग एकमत छ । ‘पृथ्वी प्रणाली’ को अवस्थाबारे पनि विज्ञान सटिक नै छ ।
उत्सर्जनलाई फटाफट घटाउनुपर्नेमा वैज्ञानिकहरूले जोडबल लगाउँदै आएका छन् । यसो गर्न नसके विनाशकारी परिणामहरू निस्किन सक्नेमा उनीहरूले खबरदारी पनि गर्दै छन् । धेरै वैज्ञानिकले आजभोलि जति बल लगाए पनि जलवायु परिवर्तनलाई रोकेर पहिलेको स्थितिमा फर्काउन नसकिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
धेरै वैज्ञानिकहरूको प्रस्तावमा छुटेको महत्वपूर्ण पाटो हो – राजनीतिक र सामाजिक परिवर्तनको स्पष्ट दृष्टिकोण (भिजन) । यसमा केही अपवाद पनि छन् । जस्तो, मौसमविद् केट मार्भलले हालै राष्ट्रपति ट्रम्प मौसम विज्ञानमाथि खनिएपछि ‘नासा’ बाट राजीनामा दिइन् । उनले लेखिन्, “हामीलाई एक यस्तो संसार चाहिन्छ, जहाँ मौसमसम्बन्धी निर्णय लिने शक्ति बहुराष्ट्रिय कम्पनी वा अर्बपतिहरूमा भन्दा जनताको हातमा हुन्छ ।”
यो दृष्टिकोणलाई आत्मसात गर्दै उनी र उनीजस्ता धेरै वैज्ञानिकले आन्दोलन उठाउन सघाउने आशा लिन सकिन्छ । मेरो विचारमा पर्यावरणमुखी समाजवादीहरूले वैज्ञानिकहरूलाई परिवर्तनकारी सिद्धान्तको पक्षमा तान्न कठोर मिहिनेत गर्नुपर्छ ।
इम्पसन : क्रान्तिपछि सङ्कट तत्कालै नहट्ने बरु सुरु हुने तपाईँले तर्क गर्नुभएको छ । त्यतिबेला स्थिति कस्तो होला ?
एङ्गस : समाजवादी आन्दोलनका संस्थापकहरू समाजवाद कस्तो होला भनी भविष्यवाणी गर्न अनिच्छुक हुनुहुन्थ्यो । कार्ल माक्र्सले ‘भविष्यका भान्छेहरूका लागि पाकशास्त्रको किताब लेख्न चाहन्न’ भन्नुभएको थियो । ठ्याक्कै यस्तो होला भनेर भन्न सकिन्न । त्यसैले विस्तृत निर्देशन पनि दिन सकिन्न ।
तर, नयाँ समाजले विरासतमा अत्यन्त चोटपटक लागेको ग्रह पाउने कुरा भने पक्का छ । अहिले नै पनि पछि फर्किन नसकिने गरी धेरै परिवर्तन भएका छन् । उदाहरणका लागि, हिमनदी र हिमपत्रहरू पग्लिने प्रक्रियालाई रोक्ने कुनै उपाय छैन । यसको अर्थ समुद्री सतह उकासिनेछ र तटीय सहरहरू अन्ततः आधा डुब्नेछन् ।
पुँजीवादको यो विध्वंस अझै पनि लामो समय चल्छ भने समस्याहरूको ठुलै चाङ लाग्नेछ । पुँजीवादले पु¥याएको क्षतिको भर्पाइ गर्न परिस्थिति अत्यन्त अनुकूल बनेपछि पनि दशकौँ लाग्नेछ ।
जर्मन समाजवादी वाल्टर बेन्जामिनको एउटा भनाइ निकै प्रसिद्ध छ । उनले भनेका थिए – वास्तविक क्रान्ति भनेको मानव जातिलाई विपत्तिको खाडलमा तानिरहेको पुँजीवादलाई रोक्न आपत्कालीन ब्रेक लगाउनुजस्तै हो । यस्तो स्थितिमा पर्यावरणका दृष्टिले सुरक्षित गन्तव्यमा पु¥याउने गरी रेलको बाटो फेर्नु नै एक क्रान्तिकारी समाजको प्रमुख कार्यभार बन्नुपर्छ ।
(एङ्गस क्यानडाका पर्यावरणवादी समाजवादी अभियन्ता हुन् । उनी ‘क्लाइमेट एन्ड क्यापिटलिज्म’ का सम्पादक हुन् । पर्यावरणलाई केन्द्र बनाएर उनले आधा दर्जनभन्दा बढी पुस्तक लेखका छन् । हालै मात्र ‘मन्थली रिभ्यू प्रेस’ ले उनको पुस्तक ‘मेटाबोलिक रिफ्ट्स’ प्रकाशित गरेको छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply