वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
भक्तपुर, १३ जेठ । भक्तपुर नगरपालिकाको सुशासन र असल अभ्यासबारे अध्ययन गर्न गण्डकी प्रदेशको लमजुङ जिल्लाअन्तर्गत क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङको नेतृत्वमा गाउँपालिकाका उपप्रमुख, वडाध्यक्ष तथा कर्मचारीहरूको टोलीले बुधबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गा.पा. अध्यक्ष गुरुङ र उपाध्यक्ष गमीमाया गुरुङसहितको टोलीलाई खादा, भादगाउँले टोपी र परम्परागत थैली दिई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणलगायत नपाको सेवा प्रवाहका विषयमा जानकारी गराउँदै भक्तपुर नगरपालिकाले पारदर्शिता, अनुशासन र जनसहभागितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।
उहाँले असल अभ्यास आदानप्रदानले स्थानीय तहहरूबिच सहकार्य र सिकाइको वातावरण बलियो हुने धारणा व्यक्त गर्दै स्थानीय तहहरूले आ–आफ्नो विशेषताअनुसारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुरमा विगतदेखि नै योजनाबद्ध विकास भइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । नगरमा भएका विकास निर्माणका कामबाट नागरिकहरू प्रत्यक्ष लाभान्वित भइरहेको बताउँदै उहाँले विकास निर्माणका काममा उपभोक्ता मोडललाई प्राथमिकता दिइएको बताउनुभयो ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले भक्तपुर नगरपालिकाको कार्यशैली, सरसफाइ अभियान, कृषि, सांस्कृतिक सम्पदा संरक्षण तथा विकास निर्माणका कामहरूको जानकारी पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष गुरुङले क्व्होलासोथार गाउँपालिकाले पर्यटकमैत्री सडक निर्माण, सुविधासम्पन्न संरचना विकास तथा स्थानीय उत्पादन र संस्कृति संरक्षणमा जोड दिँदै आएको जानकारी दिनुभयो ।
भौगोलिक बनावटले सुन्दर क्व्होलासोथार गाउँपालिका गुरुङ समुदायको बाहुल्यता भएको यस क्षेत्रमा नमुना गाउँ घले गाउँ र भुजुङ पनि पर्ने उल्लेख गर्दै कृषि, पर्यटन र संस्कृतिले पनि यस क्षेत्रको आफ्नो छुट्टै पहिचान बनाएको बताउनुभयो ।
गाउँपालिकाको बेरुजु न्यूनीकरण गर्न प्रयासरत रहेको बताउँदै उहाँले ग्रामीण पर्यटनलाई विकासको मुख्य आधारको रूपमा लिएर काम गर्दै आइरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले प्रत्येक वडामा घुम्ती सेवामार्फत नागरिक सुनुवाइ कार्यक्रम गर्दै आएको र त्रैमासिक रूपमा गाउँपालिकाका गतिविधि समेटेर बुलेटिन प्रकाशन गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष गुरुङलाई भक्तपुर नपाका प्रकाशन र मयुरको झ्याल उपहार प्रदान गर्नुभयो । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप कलेज अफ ल र ख्वप अस्पतालको स्थलगत अवलोकन भ्रमण ग¥यो ।
Leave a Reply