आज फुटसलको सेमिफाइनल खेल हुने
- जेष्ठ १३, २०८३
१८ मे २०२६ मा, संयुक्त राष्ट्र सङ्घको विश्व स्वास्थ्य सभामा क्युवाकी प्रतिनिधि डा. तानिया मार्गारीटा क्रुज हर्नान्डेजले अमेरिकी सैन्य आक्रमणको धम्कीको भत्र्सना गर्दै भनिन्, “महाशक्ति राष्ट्रको तर्फबाट गरिने यस्तो क्रूर र असभ्य कार्यलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न सक्दैन ।” उनले थपिन्, “क्युवाले सबै शान्तिप्रेमी राष्ट्रहरूलाई यस्तो आक्रामकता रोक्न एकजुट हुन आह्वान गर्दछ र क्युवाली जनताले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्नेछन् ।” उनको यो भनाइ यस्तो समयमा आएको छ जब अमेरिकी सरकारको युद्धोन्माद सन् १९६२ को ‘क्युवाली मिसाइल सङ्कट’ यता नदेखिएको चरम अवस्थामा पुगेको छ, जतिबेला केही अधिकारीहरूले राष्ट्रपति केनेडीलाई टापु राष्ट्रमाथि आक्रमण गर्न वा ‘परमाणु बम’ प्रहार गर्न उक्साएका थिए ।
परमाणु युद्धको यो खतराभन्दा अघिदेखि नै अमेरिकाले क्रान्तिकारी क्युवाविरुद्ध आर्थिक युद्ध छेड्दै आएको थियो । यो सन् १९६० मा अमेरिकी कूटनीतिज्ञ लेस्टर म्यालोरीको एक गोप्य ज्ञापनपत्रमा उल्लेख गरिएको अमेरिकी नीतिको आधारशिला हो । उक्त पत्रमा क्युवाली सरकारप्रति जनसमर्थन रहेको स्वीकार गर्दै ‘भोक, निराशा र सरकारको पतन निम्त्याउन’ आर्थिक युद्धको प्रस्ताव गरिएको थियो । एक शक्तिशाली कट्टर दक्षिणपन्थी निर्वासित लबीको समर्थनमा, ट्रम्प र रुबियोले यो रणनीतिलाई चरम सीमामा पु¥याइरहेका छन् ।
ट्रम्पको पहिलो प्रशासनले अधिकतम दबाबको नीति अवलम्बन गर्दै क्युवालाई विश्वव्यापी व्यापार, लगानी र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्न २४० भन्दा बढी नयाँ प्रतिबन्धहरू र जबरजस्ती उपायहरू लागू ग¥यो । यो समय कोभिड–१९ महामारीसँग जुध्न पुग्यो र यसले क्युवालाई ठुलो प्रहार ग¥यो ः बिजुली कटौती पुनः सुरु भयो, उपभोग्य वस्तु र औषधिहरूको अभाव भयो, मुद्रास्फीति र बसाइँसराइ बढ्यो र अन्तर्राष्ट्रिय सञ्चित कोष रित्तियो ।
ट्रम्प सत्तामा फर्कनुअघि नै क्युवालीहरू सङ्घर्षरत थिए, जसमा क्युवाली समाजवादको कडा विरोध गरेरै आफ्नो करियर बनाएका विदेशमन्त्री मार्को रुबियोको मुख्य भूमिका थियो । ट्रम्प र रुबियो यसै वर्षको अन्त्यसम्ममा क्युवामा शासन परिवर्तन गर्न कटिबद्ध देखिएका छन् ।
२९ जनवरीमा, ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै दाबी गरे कि क्युवा अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिका लागि ‘असामान्य र असाधारण खतरा’ हो । उनले क्युवालाई तेल बेच्ने वा उपलब्ध गराउने देशहरूका सामानमा भन्सार महसुल लगाउने अधिकारसमेत दिए । यसअघि डिसेम्बर २०२५ मा भेनेजुयलाको तेल बोकेका ट्याङ्करहरू जफत गरिएको थियो र ३ जनवरीमा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको हिंसात्मक अपहरण भएको थियो । अमेरिकाले भेनेजुयलाको तेलमाथि नियन्त्रण जमायो । फलस्वरूप, मेक्सिको र अन्य देशहरूले क्युवामा तेल पठाउन बन्द गरे ।
एक नरसंहारकारी नीति
अमेरिकी तेल नाकाबन्दीले क्युवाका प्रत्येक क्षेत्रमा तत्काल र विनाशकारी प्रभाव पारेको छ ः अस्पताल, विद्यालय र विश्वविद्यालय, उद्योग, यातायात, शीत–भण्डारण, खाद्य उत्पादन र वितरण, पानी पम्पिङ र ग्यास आपूर्ति, फोहोर सङ्कलन र यस्तै अन्य । यो एक नरसंहारकारी नीति हो, जसले सर्वव्यापी पीडा सिर्जना गरिरहेको छ । यसले विशेष गरी कमजोर क्युवालीहरूलाई प्रहार गरेको छ ः बालबालिका, वृद्धवृद्धा र अशक्तहरू, फोनको प्रकाशको भरमा बच्चा जन्माउन बाध्य गर्भवती महिलाहरू र इन्क्युबेटरमा रहेका समय नपुगी जन्मिएका शिशुहरू ।
२८ फेब्रुअरी २०२६ मा इरानमाथि गरिएको आक्रमणले पनि क्युवाविरुद्धको अमेरिकी धम्कीलाई रोकेको छैन । मार्च २७ मा रुबियोले घोषणा गरे, “क्युवाको अर्थतन्त्र परिवर्तन हुन आवश्यक छ र जबसम्म त्यहाँको शासन व्यवस्था परिवर्तन हुँदैन, तबसम्म उनीहरूको अर्थतन्त्र परिवर्तन हुन सक्दैन ।’ यसअघि ट्रम्पले आफूले ‘क्युवालाई कब्जा गर्ने सम्मान’ पाउने फूर्ति लगाउँदै थपेका थिए, “मलाई लाग्छ म यससँग जे चाहन्छु त्यही गर्न सक्छु” (१६ मार्च) । उनले निकै लापरवाह ढङ्गले इरानबाट फर्कने क्रममा अमेरिकी सेना क्युवामा रोकिन सक्ने दाबी गरे । यो एक मनोवैज्ञानिक युद्ध हो, जुन अमेरिकी आक्रामकताको एक अभिन्न अङ्ग हो ।
क्युवाको विकासको वैकल्पिक मोडल : मानव कल्याण र वातावरणीय चासो
क्युवाली नेताहरूले शान्ति र संवादप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै प्रतिक्रिया दिएका छन्, तर चेतावनी पनि दिएका छन् कि कुनै पनि आक्रमणको कडा प्रतिरोध गरिनेछ, जसले दुवै पक्षमा ठुलो क्षति पु¥याउनेछ । तेल नाकाबन्दीको झन्डै पाँच महिना बितिसक्दा पनि क्युवा ध्वस्त भएको छैन र त्यहाँका जनताले विद्रोह पनि गरेका छैनन् । अप्रिलको अन्तिम १० दिनमा, १० मिलियन (१ करोड) भन्दा कम जनसङ्ख्या भएको क्युवाका ६.२ मिलियन (६२ लाख) भन्दा बढी नागरिकहरूले अमेरिकी नाकाबन्दी, तेल घेराबन्दी र सैन्य आक्रमणको धम्कीको खण्डन गर्दै र देशको शान्ति र सार्वभौमसत्ताको अधिकारलाई सुनिश्चित गर्दै एउटा निवेदनमा हस्ताक्षर गरे । मे १ मा, आधा मिलियन क्युवालीहरूले हवानास्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाए† देशैभरि लाखौँ अन्यले प्रदर्शन गरे ।
तेल नाकाबन्दीको झण्डै पाँच महिना बितिसक्दा पनि क्युवा ध्वस्त भएको छैन र त्यहाँका जनताले विद्रोह पनि गरेका छैनन् ।
दण्डस्वरूप, ट्रम्पले मे १ मा दोस्रो कार्यकारी आदेश जारी गरे, जसमा क्युवाले अमेरिकालाई खतरा पु¥याएको कुरा दोहो¥याउँदै क्युवासँग संलग्न विश्वका कुनै पनि स्थानका निकायहरूलाई सजाय दिन व्यापक ‘एक्स्ट्राटेरिटोरियल’ (बहिर्देशीय) प्रतिबन्धहरूको घोषणा गरे । मे ७ मा थप प्रतिबन्धहरू लगाइयो – जुन यति कठोर र व्यापक थिए कि क्यानेडियन खानी कम्पनी ‘शेरिट इन्टरनेसनल’ लाई तीस वर्षपछि क्युवामा आफ्नो सञ्चालन तुरुन्तै बन्द गर्न बाध्य तुल्यायो । क्युवाले धेरैजसो ढुवानीका लागि भर पर्ने सिपिङ कम्पनीहरूलगायत अन्य कम्पनीहरूले पनि त्यसै गरे ।
मे ८ मा, रुबियोले दाबी गरे कि क्युवाली सरकारले १०० मिलियन डलरको अमेरिकी मानवीय सहायताको प्रस्ताव अस्वीकार ग¥यो । क्युवालीहरूले यो सत्य नभएको जवाफ दिएका छन् । जेसुकै भए पनि, यस्तो प्रस्ताव आफैँमा हास्यास्पद छ किनभने क्युवाको मानवीय सङ्कट अमेरिकी नीतिहरूको जानाजानी परिणाम हो । यो ‘प्रस्ताव’ प्रति क्युवाली १० डलर बराबर मात्र हुन्छ, जबकि अमेरिकी नाकाबन्दीका कारण क्युवाले मार्च २०२४ र फेब्रुअरी २०२५ को बिचमा मात्रै ७.५ बिलियन डलर गुमाएको थियो† जुन प्रतिमहिना झन्डै ६,३९,००० डलर हुन आउँछ ।
सन् १९६२ यता सन् २०२५ सम्मको कुल सञ्चित लागत १७० बिलियन डलरभन्दा बढी भइसकेको छ । यदि अमेरिका क्युवाको मानवीय सङ्कट कम गर्न गम्भीर हुन्थ्यो भने उसले अमेरिकी नाकाबन्दी अन्त्य गर्ने थियो र क्युवालाई ‘आतङ्कवादलाई प्रश्रय दिने राष्ट्र’ को मिथ्या सूचीबाट हटाउने थियो । यो सूचीले क्युवालाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग राख्छ र लेनदेन, व्यापार तथा लगानीमा अवरोध पु¥याउँछ ।
मनोवैज्ञानिक युद्ध
यस मनोवैज्ञानिक युद्धमा झूट र सूचना चुहावट अभिन्न अङ्ग हुन्, जसमा ‘क्यास्ट्रो’ परिवारसँग गोप्य वार्ता भइरहेको भन्ने दोहोरिइरहने अड्कलबाजीहरू पनि समावेश छन् । क्युवाली नेताहरूले भविष्यको संवादको दायराका बारेमा प्रारम्भिक छलफलहरू भएको कुरा स्वीकार गर्छन् । तर, उनीहरू यो कुरामा अडिग छन् कि क्युवाको राजनीतिक र आर्थिक प्रणाली वा यसको नेतृत्व वार्ताको विषय हुन सक्दैन । वासिङटनको अनुरोधमा सीआईए निर्देशक जन ¥याट्क्लिफले १४ मेमा हवानामा क्युवाली अधिकारीहरूसँग भेट गरेपछि यो अड्कलबाजी झन् तीव्र भएको छ । यो भ्रमण आफैँमा क्युवालाई ‘असफल राज्य’ भन्ने अमेरिकी दाबीको विपरीत छ । वासिङटनले आफ्नो शीर्ष गुप्तचर प्रमुखलाई पक्कै पनि पतन हुन लागेको राज्यमा पठाउने थिएन ।
अहिले अमेरिका क्युवाले खतरा पैदा गरेको छ भन्ने प्रमाणहरू बनाउन हतारिरहेको छ । १७ मेमा, वर्गीकृत स्रोतहरू र अज्ञात (र त्यसैले जवाफदेही नहुने) अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै क्युवाले ३०० वटा ड्रोनहरू प्राप्त गरेको दाबी गरिएको एक रिपोर्ट सार्वजनिक भयो र यो सूचनालाई वासिङटनले सैन्य कारबाहीको बहानाको रूपमा प्रयोग गर्न सक्ने उल्लेख गरियो । एक हप्ताको अड्कलबाजीपछि, २० मेमा क्युवाका ९४ वर्षीय पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकी सङ्घीय फौजदारी अभियोग जारी गरियो । यो अभियोग सन् १९९६ मा दक्षिणपन्थी निर्वासित समूह ‘ब्रदर्स टु द रेस्क्यु’ द्वारा सञ्चालित दुईवटा विमानहरू खसालेको घटनासँग सम्बन्धित थियो, जसले क्युवाली हवाई क्षेत्रको २५ पटक उल्लङ्घन गरेको थियो र हवानामाथि पर्चाहरूसमेत खसालेको थियो ।
उक्त समूहमा आफ्ना मान्छे घुसपैठ गराएको हुनाले क्युवालीहरू उनीहरूको आतङ्कवादी योजनाबारे सचेत थिए । अमेरिकी र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई पटक–पटक चेतावनी दिएपछि मात्र उनीहरूले विमान खसालेका थिए, जसमा चार जनाको मृत्यु भएको थियो । सोही घटनाले तत्कालीन राष्ट्रपति क्लिन्टनलाई त्यसै वर्षको अन्त्यमा ‘हेल्म्स बर्टन एक्ट’ मा हस्ताक्षर गर्न बाध्य तुल्याएको थियो, जसले तेस्रो पक्षलाई क्युवासँग व्यापार र लगानी गर्नबाट रोक्न अमेरिकी नाकाबन्दीको ‘एक्स्ट्रा टेरिटोरियल’ पहुँचलाई नाटकीय रूपमा विस्तार ग¥यो । भेनेजुयलामा पनि मादुरोविरुद्धको अभियोगले ट्रम्पलाई सैन्य आक्रमणलाई युद्धको सट्टा ‘कानुन कार्यान्वयन’ को विषयका रूपमा प्रस्तुत गर्न मद्दत ग¥यो, जसले गर्दा अमेरिकी कङ्ग्रेस र ‘वार पावर्स रिजोलुसन’ लाई छल्न सजिलो भयो ।
यी सबै गतिविधिहरू सैन्य आक्रमणका लागि ‘सहमति निर्माण’ गर्न रचिएका हुन् । हामीले यो बिर्सिदिनुपर्नेछ कि अमेरिकाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा डुङ्गामा सवार झन्डै २०० मानिसहरूको गैरन्यायिक हत्या गरेको छ† हामीले अमेरिकी आक्रमणको पहिलो दिनमै बमबारीमा परेको इरानी विद्यालय बिर्सनुपर्नेछ, जहाँ १७० भन्दा बढी बालबालिका र शिक्षकहरूको ज्यान गएको थियो; हामीले यो स्वीकार गर्नुपर्नेछ कि क्युवा नै खतरा हो ।
अमेरिकी आक्रमण कस्तो स्वरूपको हुनेछ भन्ने कुराको भविष्यवाणी गर्न गाह्रो छ । राष्ट्रप्रमुखलाई हटाउने ‘भेनेजुयला मोडल’ क्युवाली सरकारविरुद्ध काम लाग्दैन, किनकि त्यहाँको प्रणाली सहमतिमा चल्छ र एकतालाई सर्वोपरी मान्छ । यसैबिच, इरानसँगको अमेरिकी युद्धले यो देखाएको छ कि अत्यधिक सैन्य श्रेष्ठताले मात्र छिटो वा सहज विजयको ग्यारेन्टी गर्दैन ।
क्युवाको विकल्प
क्युवाले अमेरिकी शत्रुताका छ दशकभन्दा बढी समय बाँचेर देखाउने साहस गरेको छ, जसमा प्रत्यक्ष र परोक्ष सैन्य कारबाही, तोडफोड र आतङ्कवाद, आर्थिक युद्ध, राजनीतिक बहिष्करण, खतरनाक बसाइँसराइको प्रोत्साहन, रेमिट्यान्समा अवरोध, पारिवारिक भेटघाट र भिसामा रोक र शासन परिवर्तनका कार्यक्रमहरूका लागि दिइने मोटो रकमहरू सामेल छन् ।
यद्यपि, यसको प्रतिरोधको सबैभन्दा राम्रो स्वरूप राष्ट्रिय सार्वभौमसत्ताको दाबी मात्र नभएर विकासको एउटा यस्तो वैकल्पिक मोडलको सिर्जना हो, जसले मानव कल्याण र वातावरणीय चासोलाई आफ्नो केन्द्रमा राख्छ । यो गरिब र नाकाबन्दीमा परेको टापुले विश्वकै अग्रणी मानव विकास सूचकहरू र प्रतिव्यक्ति चिकित्सकहरूको उच्चतम अनुपात हासिल गरेको छ । यसले विश्वकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गरेको छ, जहाँ ६,००,००० भन्दा बढी क्युवाली स्वास्थ्यकर्मीहरूले १८० भन्दा बढी देशहरूमा मानिसको ज्यान बचाउने र स्वास्थ्य सुधार गर्ने कार्य गरेका छन् । यसले चिकित्सा विज्ञानमा विश्वव्यापी नवाचारहरूमा योगदान पु¥याएको छ, जसमा विश्वको पहिलो ‘मेनिन्जाइटिस बी’ खोप, फोक्सोको क्यान्सरको ‘इम्युनोथेरापी’, कोभिड–१९ का खोपहरू र मधुमेहका कारण हुने खुट्टाको अल्सर निको पार्ने उपचार विधि सामेल छन् । अहिले पनि उनीहरू अल्जाइमरका लागि एक आशाजनक नयाँ उपचारको परीक्षण गरिरहेका छन् । खेलकुद, सङ्गीत, संस्कृति र कलामा क्युवाको योगदानलाई विश्वभर प्रशंसा गरिन्छ ।
संयुक्त राज्य अमेरिकाका लागि क्युवाको एकमात्र ‘खतरा’ भनेको यो एउटा राम्रो उदाहरण हुनु हो । ‘बे अफ पिग्स’ आक्रमणअघि फिडेल क्यास्ट्रोले चेतावनी दिएझैँ, संयुक्त राज्य अमेरिकाको नाककै मुनि ‘समाजवादी क्रान्ति’ गरेकोमा क्युवालाई कहिल्यै माफ गरिने छैन ! अब हामीसामु एउटा प्रश्न बाँकी रहन्छ : यदि क्युवाका क्रान्तिकारी जनतालाई शान्तिसँग बस्न दिइएको भए, यदि उनीहरूलाई बाँच्न मात्र होइन, अन्ततः फस्टाउने मौका दिइएको भए उनीहरूले के–के हासिल गर्न सक्थे होलान् ?
(हेलेन याफे ग्लास्गो विश्वविद्यालयमा ल्याटिन अमेरिकी राजनीतिक अर्थतन्त्रकी प्राध्यापक र ‘क्युवा एनालाइसिस’ पोडकास्टकी सह–सञ्चालिका हुन् ।)
स्रोत : रेडपिपर
Leave a Reply