भर्खरै :

गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण

गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण

म कलेज जाने बाटोमा हनुमन्ते खोला पर्छ । यस खोलाको अवस्था देखेर चकित भएँ । खोला एकदमै कालो र फोहोर थियो, खोलाबाट सहन नसक्ने गरी गन्ध आएकोले हिँड्न नै मुश्किल रहेको थियो । हनुमन्ते खोलाको यस्तो अवस्था देखेर मलाई यस खोलाको माया पनि लाग्यो र सोचेँ यस खोलाको यस्तो गम्भीर अवस्था हुँदा पनि कसैलाई किन चासो नभएको होला ?
हनुमन्ते खोलाको यस्तो अवस्था हुनुमा मुख्यतया मानिसकै गल्ती छ । प्लास्टिकका विभिन्न सामानहरू खोलामा फाल्ने, उद्योग–कारखाना, विद्यालय तथा घरबाट निस्किएको फोहोर पानीलाई प्रशोधन नगरी सिधै खोलामा निकास गर्नु, कृषिबाट निस्किएको रसायनयुक्त पानीलाई सिधै खोलामा मिसाउने, खोलाको छेउमा पूजा गरी जथाभावी फोहोर फाल्नेजस्ता गतिविधिले हनुमन्ते खोला प्रदूषित भएको हो । हनुमन्तेको यस्तो फोहोर पानीलाई कृषकहरूले अन्न र तरकारीमा प्रयोग गरेको मैले मेरो दुई आँखाले देखेको छु । यस्तो फोहोर पानी प्रयोग गरेको तरकारी तथा अन्न खाँदा झाडापखाला, टाइफाइडजस्ता अन्य रोग लाग्ने निश्चित छ । पानीमा भएका माछा खासै देखिँदैनन् । त्यसैले खोला फोहोर गर्दा मानिस, वातावरण तथा पानीमा बस्ने सबै प्राणीलाई हानि गर्दछ । नगरपालिकाले घर घरमा गएर फोहोर सङ्कलन गर्ने कार्यले केही हदसम्म खोलालाई फोहोर हुनबाट जोगाएको छ ।
भक्तपुर, मध्यपुर–थिमि, नगरपालिका, सूर्यविनायक, चाँगुनारायण नगरपालिका मिलेर हनुमन्तेलाई सफा गर्ने योजना बनाएका थिए र केही हदसम्म खोला सफा पनि भएको सुनिन्छ । तर, यो कार्य समय समयमा हुन सकेको छैन । हनुमन्तेको अवस्था देख्दा सरकारले यसको अवस्थाबारे खासै ध्यान नदिएको देखिन्छ । खोलाको महत्वको बारेमा जनतामा चेतना फैलाउनु निकै आवश्यक छ । समय समयमा जनताको सहभागिताले खोला सफा गर्नु आवश्यक छ ।
जनतामाझ खोलाको महत्वबारे चेतना फैलाउने, जनताको सहभागितामा खोला समय समयमा सफा गर्ने, फोहोर खोलामा नफाली नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडीलाई बुझाउने, साथै सम्बन्धित निकायले खोलाको अवस्था समय–समयमा जाँच जर्ने जस्ता उपायले हनुमन्तेलगायत अरू सबै खोला सफा राख्न सकिन्छ ।
हनुमन्ते खोला निकै महत्वपूर्ण प्राकृतिक सम्पत्ति हो । यस खोलाको पानी उद्योग, कारखाना तथा कृषिमा प्रयोग गर्न सकिन्छ र पानीको समस्या तथा खर्च कम गर्न सकिन्छ, माछालगायत अन्य जीवको सुरक्षाको लागि खोला सफा राख्नु र जोगाउन आवश्यक छ । यस खोलाले आफ्नो प्राकृतिक सुन्दरता गुमाइसकेको छ । त्यसैले यसको सुन्दरता पूर्णरूपमा निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।
– सौजन्य रावत, बीएस्सी प्रथम वर्ष, ख्वप कलेज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *